गाउँ-गाउँमा बनेका कोल्डस्टोर पनि बिजुली अभावमा चल्न सकेनन्, उद्यम व्यवसाय गर्न खोज्नेलाई पनि समस्या
बागलुङ — जिल्ला सदरमुकाममा बिजुली बलेको ४७ वर्षसम्म पश्चिम बागलुङका बस्तीमा भने अझै लाइन विस्तार हुन सकेको छैन । सडक छेउमा पुगे पनि अहिले जिल्लाका चार पालिकाका ग्रामीण बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन ।
बागलुङ बजार नजिकैको काठेखोलामा बनेको साना जलविद्युत् आयोजनाबाट ०३३ सालमा बिजुली बालेका सदरमुकामवासीले उज्यालोमा बस्न थालेको ४७ वर्ष भए पनि ग्रामीण बासिन्दाले भने बिजुली बाल्न नपाएका हुन् । ‘राष्ट्रिय प्रसारण लाइन ०४७ मा आएको हो,’ स्थानीय काजी गाउँले श्रेष्ठले भने, ‘साना जलविद्युत्बाट भने ०३३ मा बिजुली बलेको थियो ।’
सदरमुकाम बागलुङ बजारमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको ३४ वर्षपछि पश्चिम बागलुङवासीले बिजुली बाल्ने तरखर गर्दै छन् । अझै कतिपय बस्तीमा बिजुली लैजाने सपना पूरा भएकै छैन । उनीहरूले वर्षौं संघर्ष गरेर पनि गाउँमा बिजुली लैजान नसकेका हुन् ।
बिजुली नभएकै कारण ग्रामीण बस्तीमा अझै जनजीवन कष्टकर छ । तमानखोला गाउँपालिका–४ लामेलामा बनेको कोल्डस्टोर विद्युत् अभावमा अलपत्र छ । गाउँमा लघुविद्युत्बाट बिजुली बालिए पनि कोल्डस्टोर सञ्चालनका लागि क्षमता नपुग्ने भएपछि राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा गरिएको छ । गत आर्थिक वर्ष प्रदेश सरकारको ५० लाख, संघीय सरकारको सम्पूरक बजेटमा ४५ लाख र गाउँपालिकाको १५ लाखसमेत गरी १ करोड ५ लाख खर्च गरेर बनाइएको यो भवन विद्युत् नपुग्दासम्म उपयोगविहीन भएको हो ।
तमानखोला गाउँपालिकामा केन्द्रीय लाइनको विद्युत् छैन । स्थानीयले बनाएका साना लघुविद्युत्को भरमा यहाँ उज्यालो बनाइएको छ । साना विद्युत्ले नपुग्दा यहाँ चाहेर पनि उद्योग खोल्न नसकिएको स्थानीय बताउँछन् । ‘विद्यालयको सूचना केन्द्रका लागि लघुविद्युत्को भर परेका छौं, कहिलेकाहीँ त बिग्रेर हैरान परिन्छ,’ स्थानीय धनगौज्योति माविका शिक्षक वसन्त घर्ती मगरले भने, ‘केन्द्र्रीय विद्युत् नआएसम्म ठूलो क्षमताको उपयोग गर्नै सकिँदैन ।’ गाउँपालिकाको पहलमा यहाँ विद्युतीकरण अभियान चले पनि अझै एक/डेढ वर्ष कुर्नुपर्ने स्थानीयको अनुमान छ ।
निसीखोला गाउँपालिका–२ अर्नाकोटको बस्तीमा विद्युत् अभावमा पानी तान्न नपाएपछि स्थानीयले सास्ती खेपेको वर्षौं भयो । कहिले बिजुली पुग्ला र खोल्साको पानी तानेर बस्तीमा लैजान सकिएला भनेर वर्षैपिच्छे योजना बनाइरहेको वडाध्यक्ष कुविर विकको भनाइ छ । यहाँका बासिन्दाले दिनको दुई/तीन घण्टा हिँडेर पानी खेप्छन् । यहाँको मोबाइल फोनको टावरमा पनि
विद्युत् अभाव छ । ‘टावरमा बिजुली अभाव हुँदा हरेक दिन फोन काटिएको गुनासो आएपछि हामीले जेनेरेटर लगेर राखेका छौं,’ नेपाल टेलिकम बागलुङका प्रमुख इन्जिनियर सन्तोष बरालले भने, ‘केही समस्या समाधान त भएको छ, दिगो भएको छैन ।’
विद्युत् अभावमा टावर सञ्चालन नहुँदा निसीखोला–५ निसेलढोरमा अझै फोन नटिप्ने समस्या छ । यहाँ गत वर्ष राखिएको टूजी सेवा पनि सञ्चालन भएको छैन । घाम लाग्दा फोन टिप्ने, नलाग्दा बन्द हुने समस्या रहेको स्थानीय बताउँछन् । झरी, बादल र दैनिक कुहिरो लाग्न थालेपछि निसेलढोर फोन सम्पर्कविहीन हुने गरेको छ ।विद्युत् अभावकै कारण बागलुङको निसेलढोर, ढोरपाटन र बुर्तिवाङमा समेत फोनको समस्या हुन्छ । बुकी जाने पर्यटकले पनि फोन नहुँदा सूचना दिन नपाएको गुनासो गर्छन् । ढोरपाटनमा रहेका सैनिकले पनि घरमा सम्पर्क गर्न कठिन हुने बताए ।
सदरमुकामपछिको दोस्रो बजार बुर्तिवाङमा समेत पूर्ण विद्युतीकरण भएको छैन । तीन वर्षअघि बिजुलीको लाइन पुगे पनि ढोरपाटन नगरपालिका १ र २ मा मात्रै विस्तार भएको छ । असार मसान्तसम्म वडा ५ मा विद्युतीकरण गर्ने गरी काम भइरहेको स्थानीय विमला महतको भनाइ छ । बडिगाड गाउँपालिका–८ रणसिंकिटेनीमा विद्युत् अभावले स्वास्थ्य संस्थामा समेत समस्या परेको अध्यक्ष गण्डकी थापा अधिकारीले जनाइन् । ‘गाउँमा बिजुली पुर्याउन पहल गरिरहेका छौं, सबस्टेसन बनिनसक्दा ढिला भएको छ,’ उनले भनिन्, ‘बुर्तिवाङ लगेको विद्युत् लाइन यतैबाट गएको छ, तर शाखा विस्तार भएको छैन ।’ विद्युत् अभावमा वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा समेत समस्या पर्ने गरेको उनले बताइन् । गाउँपालिकाको बजेटमा विद्युत् सेवा विस्तारका लागि बजेटको खोजी गर्नुपर्ने बाध्यता अधिकारीले सुनाइन् ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमान र निसीखोलामा समेत विद्युत् नहुँदा दैनिकीमा असर परेको छ । ‘ग्रामीण क्षेत्रमा फर्निचर उद्योग, ढुंगा उद्योग र मोटर ग्यारेज राख्न खोज्नेलाई पनि समस्या भएको छ,’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘छिट्टै विद्युतीकरण गर्नुपर्ने बाध्यता छ ।’
मुडबरी एन्ड जोशी गौरा संयुक्त निर्माण कम्पनीले सबस्टेसन निर्माण गरिरहेको छ । ३३ करोड लागतमा निर्माण भइरहेको सबस्टेसन असार मसान्तमा सक्ने लक्ष्य भए पनि सामान आयातमा ढिला हुँदा केही समय लाग्ने इन्जिनियर प्रकाश यादवले जनाए । रिनाममा १३२ केभी प्रसारण लाइन जोडेपछि आसपासमा विद्युतीकरण हुनेछ । हाल गलकोट–५ हरिचौरमा रहेको ११ केभी प्रसारण लाइनबाट लगिएको बिजुलीले बुर्तिवाङमा पावर नपुगेपछि विस्तार हुन सकेको थिएन । हरिचौरदेखि बुर्तिवाङ ५० किमि पश्चिम पर्छ ।
सबस्टेसन बनेपछि पनि निसीखोला र ढोरपाटन क्षेत्रमा भने अझै विद्युत् विस्तारमा कठिनाइ हुने यादवले बताए । ‘यहाँबाट पनि ५० देखि ६० किमि परसम्मका बस्ती छन्, ती स्थानमा सिधै विद्युत् लैजाँदा पावर पुग्दैन,’ यादवले भने, ‘कनेक्सनको सिस्टम भने राखेका छौं ।’
