नागढुंगा सुरुङ निर्माण थालेको चार वर्षमा ८० प्रतिशत काम

सुरुङभित्र लाइनिङको काम सकियो, अन्य फिनिसिङको काम जारी 

कार्तिक ११, २०८१

कान्तिपुर संवाददाता

80 percent work in four years since construction of Nagadhunga tunnel started

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको चार वर्षमा भौतिक प्रगति ८०.५ प्रतिशत पुगेको छ । अहिले काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माणको काम धमाधम छ । 

सुरुङभित्र लाइनिङको काम सकिएको र अन्य फिनिसिङको काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले बताए । उनका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, तीनवटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माणको काम सकिएको छ ।

गत वैशाख ३ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अन्य निर्माणको काम अघि बढाइएको थियो । आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यमा उक्त सुरुङ निर्माणका सबै काम सकेर यातायात सञ्चालनमा ल्याइने उल्लेख थियो । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रको काम भएको छ ।

आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने ०८० साउन २२ मा भएको थियो । यसको दूरी २५५७ मिटर छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्म म्याद थपिएको हो । तर उक्त समयमा पनि काम नसकिँदा फेरि डेढ वर्ष म्याद थपिएको छ । जसअनुसार ०८२ असोजभित्र सुरुङबाट सवारीसाधन सञ्चालनमा ल्याइने प्रमुख झाले बताए ।

यसको निर्माण ०७६ कात्तिक ४ बाट सुरु भएको हो । तर कोभिड महामारी र पटक–पटक स्थानीयको अवरोधले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समस्या भएको आयोजना प्रमुख झाले बताए । ‘सुरुङ सञ्चालनमा आएपछि १ अर्ब ७२ करोड रुपैयाँ बराबरको टायर, इन्धनको बचत हुनेछ,’ उनले भने, ‘दुईपांग्रे र इन्धन बोकेका गाडी सुरुङमा चलाउन पाइनेछैन ।’

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । मुख्य सुरुङको दूरी २.६८८ किमि रहेको छ ।

कान्तिपुर

Link copied successfully