दसैंमा बढेको खाद्यान्नको मूल्य तिहारमा पनि उस्तै

तीन महिनाको तुलनामा प्रायः खाद्यवस्तुको मूल्य बढ्यो, तर सरकार मूकदर्शक

कार्तिक १०, २०८१

राजु चौधरी

Food prices increased during Dasain and the same during Tihar

काठमाडौँ — दसैं अगाडिदेखि बढ्न थालेको बजारभाउ तिहार नजिकिँदै गर्दा घट्ला कि भन्ने आशा उपभोक्तामा थियो । तर त्यसको उल्टो परिणाम आइदियो— खाद्यान्नको मूल्य एकपछि अर्को गर्दै उकालो लागिरह्यो । गोलभेंडाको मूल्य दिनहुँजसो बढ्यो । 

खाने तेलको मूल्य पनि १५ दिन पुग्दानपुग्दै अकासियो । 

खाद्यान्न र गोलभेंडा मात्र होइन, अन्य खाद्यवस्तुको मूल्य पनि उस्तै छ । सरकारले एक सय दिनको उत्सव मनाइरहँदा सर्वसाधारणलाई भने उपहारमा महँगी परेको छ । नयाँ सरकार गठनपछिको बजार अवस्था सुधार छैन । तरकारी, फलफूल खाद्यान्नको मूल्य बढेकै छ । मूल्यवृद्धिको खास कारण नभए पनि केही व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिलाई बहाना बनाएका छन् । केहीले चालु आर्थिक वर्षको अग्रिम कर र बाढीपहिरोको बहाना बनाएर मूल्य बढाएका छन् । अग्रिम आयकर लागू भएको खाद्यवस्तुको मूल्य कम्तीमा १० प्रतिशतसम्म बढ्छ । 

कर नलागेका वस्तुमा पनि अस्वाभाविक मूल्य बढेको छ । बजारभाउ उकालो लाग्दै गर्दा नियामक निकाय भने उद्योगी व्यवसायीकै पक्षमा देखिएको छ । ‘बजारको अवस्था भद्रगोल छ । बिहान–बेलुका उपभोग हुने खाने तेल, गोलभेंडा, तरकारी, आलुलगायत खाद्यवस्तुको अवस्था छोइनसक्नु छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यीबाहेक फलफूलको मूल्य पनि बढेको छ । बाढीपहिरो र अन्तर्राष्ट्रिय बजारलाई कारण देखाएर मूल्य बढाउँदा सरकार व्यवसायीकै पक्षमा ‘लबिइङ’ गर्दै आएको छ । बिनाकारण खाने तेलको मूल्यवृद्धि हुँदा नियामक निकाय उल्टै अन्तर्राष्ट्रिय बजारलाई कारण बनाउँदै आएको छ । यसले सरकार र व्यवसायीको मिलेमतोको संकेत गर्ने तिमिल्सिनाको भनाइ छ ।

व्यवसायीहरूले विपद्को मौकामा समेत तरकारी र फलफूलमा मनोमानी मूल्य असुलेका छन् । बाढीपहिरोले राजमार्ग बन्द भई आयात नभएको बहाना बनाउँदै उनीहरूले पुरानै सामानमा चर्को मूल्य लिएका हुन् । अहिले बाटो सहज भइसकेको छ । आपूर्तिमा समस्या छैन । तर कालीमाटी फलफूल तथा तरकारी बजार र बाहिरी बजार मूल्य हेर्दा तरकारीको भाउ घटेको छैन । गोलभेंडाको भाउ त झन् दिनहुँ बढ्दो क्रममा छ, छोइनसक्नुभएको छ ।

तीन महिनाको तुलना गर्दा गोलभेंडाको भाउ २८७ प्रतिशतसम्मले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरणअनुसार ०८१ भदौ ९ मा गोलभेंडा सानो (लोकल) को मूल्य प्रतिकिलो ३१ रुपैयाँ थियो । शुक्रबार मूल्य बढेर प्रतिकिलो १२० रुपैयाँमा कारोबार भएको छ । बिहीबार गोलभेंडा सानोको प्रतिकिलो १०५ रुपैयाँ थियो, शुक्रबार बढेर १२० रुपैयाँ पुगेको छ ।

गोलभेंडा सानो (टनेल) को मूल्य पनि अत्यधिक बढेको छ । भदौ ९ मा प्रतिकिलो ३६ रुपैयाँ पर्ने गोलभेंडा बढेर १३० रुपैयाँ पुगेको समितिको तथ्यांक छ । बिहीबारको तुलनामा पनि टनेलको गोलभेंडाको भाउ प्रतिकिलो ५ रुपैयाँ बढेको छ । बिहीबार प्रतिकिलो सानो (टनेल) को गोलभेंडा १२५ रुपैयाँमा कारोबार भएको थियो । 

तीन महिनाअघि गोलभेंडा ठूलो (भारतीय) को मूल्य ८५ रुपैयाँ थियो । शुक्रबारसम्म बढेर १ सय २५ रुपैयाँ पुगेको छ । उल्लिखित सबै होलसेल मूल्य हुन् । खुद्रामा आइपुग्दा गोलभेंडाको मूल्य झनै मनलाग्दी छ । साना व्यापारीले आफूखुसी मूल्य तोकेर बिक्री गर्दै आएका छन् ।

असोजमा आएको बाढीपहिरोले मूल्यमा असर गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । त्यही कारणले पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । समितिले उपत्यकाको करिब ७० प्रतिशत माग धान्छ । तर आयात परिमाण हेर्दा सुधार छैन । ‘अहिले तरकारीको मूल्य घट्नुपर्ने हो । तर तयार हुन लागेको तरकारी नष्ट भयो । गोलभेंडा पनि दैनिक करिब ६० टन आउँथ्यो, अहिले घटेर करिब २२ टन मात्रै भित्रिएको छ,’ उनले भने, ‘अहिले काठमाडौं वरपरबाट मात्रै आएको छ । अबको एक सातापछि तराईबाट पनि आउँछ, त्यसपछि मूल्य घट्न सक्छ ।’ 

तीन महिनामा गोलभेंडा जसरी आलु, प्याज, गाजर, काउली, मुला, भन्टा, बोडी, सिमी, तिते करेला, घिरौंला, फर्सी, भिन्डी, कुरिलो, ब्रोकाउली, खुर्सानीलगायत तरकारीको मूल्य बढेको छ । हरियो तरकारीबाहेक केरा, अनार, तरबुजा, मौसम, जुनार, भुइँकटहर, मेवालगायत फलफूलको भाउ पनि बढेको छ । यस अवधिमा त्रिशूलीको पोखरेली चामलको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ११५ रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य भने अचाक्ली छ । भारतले पाम, सोयाबिन र सनफ्लावरको कच्चा तेलमा २० प्रतिशत भन्सार दर बढाएपछि नेपाली तेल उद्योगीले मूल्य बढाएका छन् । भारत निर्यात गर्दा बढी मूल्य पाउने भएपछि उनीहरूले स्वदेशमा बिक्रीभन्दा निर्यातमा ध्यान दिएका छन् । 

गत भदौमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ३ सय ७० रुपैयाँ थियो, अहिले ३ सय ८० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ । काँचो तोरीको तेलको मूल्य ३१० रुपैयाँबाट बढेर ३१५ रुपैयाँ पुगेको छ । भटमासको तेल २ सय १० रुपैयाँबाट बढेर २ सय ३० रुपैयाँ पुगेको छ । प्रतिलिटर २ सय १० रुपैयाँको सनफ्लावर तेलको मूल्य २ सय ३० रुपैयाँ पुगेको छ । बजारमूल्य थप बढ्ने क्रममा रहेको होलसेल व्यवसायीको दाबी छ । तर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको जनाएको छ । 

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । त्यही कारण पनि मूल्य बढेको देखिन्छ,’ विभागका महानिर्देशक राजन पौडेलले भने, ‘मूल्य नियन्त्रणको प्रयास गरिराखेका छौं ।’ विभागले अन्तर्राष्ट्रिय कारण औंल्याए पनि व्यापारी भने भारत निर्यात भएकै कारण यहाँ मूल्य बढेको दाबी गर्छन् ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully