कडिपत्ता बेचेर खर्च जुटाउँछन् बालबालिका

प्रतिकिलो ४० भारुमा बिक्री हुने टनकपुरमा कडिपत्ताको माग धेरै

कार्तिक १०, २०८१

भवानी भट्ट

Children earn expenses by selling kadipatta

कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाकी शारदा राना साथीभाइसँगै बिहानै नजिकै रहेको भारतीय जंगलमा जान्छिन् । त्यहाँबाट कडिपत्ता काटेर ल्याउँछिन् । त्यसपछि घरको आँगनमा र खाली भएका बेला खेतका गह्रामा सुकाउँछिन् ।

एक/दुई दिन सुकाएर त्यसका पात झार्छिन् । त्यसपछि पात बोरीमा भरेर सीमावर्ती भारतीजार टनकपुर पुर्‍याएर बिक्री गर्छिन् । त्यसैबाट आफ्नो खर्च चलाउँछिन् । राना सातामा दुई दिन कडिपत्ता बिक्री गर्न टनकपुर पुग्छिन् । एक पटकमा ६/७ सय भारुसम्म आम्दानी हुन्छ । 

संकलन गरेर टनकपुर पुर्‍याएको कडिपत्ता प्रतिकिलो ४० भारुमा बिक्री हुन्छ । टनकपुरमा कडिपत्ताको माग बढी छ । त्यहीअनुसार मूल्य पनि बढ्दै गएको छ । विगतका वर्षमा प्रतिकिलो २०/२५ भारुमा बिक्री हुन्थ्यो भने अहिले त्यसको मूल्य झन्डै दोब्बर भएको छ । ‘त्यहाँ त जति लगे पनि बिक्री हुन्छ तर जंगलबाट ल्याएर सुकाएर लैजान धेरै मिहिनेत लाग्छ,’ रानाले भनिन् । 

चार/पाँच वर्षदेखि नियमित रूपमा उनले कडिपत्ता बिक्री गर्दै आएकी छन् । उनको टोलका अन्यले पनि कडिपत्तालाई आम्दानीको स्रोत बनाएका छन् । 

हिउँद र बर्खामा गरी दुई सिजनमा कडिपत्ता संकलन गर्न सकिन्छ । ग्रामीण भेगमा सोत्तरका रूपमा प्रयोग हुने यसबाट पछिल्लो समय भने स्थानीयले आम्दानी गर्न थालेका हुन् । ‘कडिपत्ताबाटै घर खर्च चलाएका छौं,’ भीमदत्त नगरपालिका–९ मुसेट्टीकी निर्मला दमाईले भनिन्, ‘संकलन गरेर टनकपुर पुर्‍याउन गाह्रो हुन्छ, त्यहाँ पुर्‍याउन सके त जति पनि बिक्री हुन्छ ।’ पाँच वर्षअघि उनले पहिलो पटक कडिपत्ता टनकपुर लैजाँदा प्रतिकिलो १५ देखि २० रुपैयाँमा बिक्री गरेकी थिइन् । तर अहिले त्यसकै मूल्य दोब्बर पुगेको छ । 

निर्मला मुसेट्टीबाट एक/डेढ घण्टा पैदल हिँडेर ब्रह्मदेव हुदै सीमावर्ती बजार टनकपुर पुग्छिन् । टनकपुरमा कडिपत्ता बिक्री गरेर त्यसैबाट घरका लागि चाहिने नुन–तेलदेखि आवश्यक सामान किनेर ल्याउँछिन् । सीमावर्ती बजारमा माग र मूल्य बढ्दै गए पनि नियमित संकलनका कारण घट्दै गएको स्थानीय बताउँछन् । विगतको तुलनामा अहिले जंगलमा नपाइने उनीहरूको भनाइ छ । बिहान घाँस–दाउरा संकलन गरेझैं महिलाहरू जंगलबाट संकलन गरेर ल्याउँछन् । त्यसपछि आँगनभरि सुकाउँछन् । 

यति बेला मटेना, खल्ला र मुसेट्टीका अधिकांशका घरआँगनमा कडिपत्ता सुकाएको देखिन्छ । कतिपयले घरअगाडिको सडकमै पनि सुकाएको देखिन्छ । यति बेला धानबाली भित्र्याउने चटारो पनि छ । यसका बाबजुद पनि फुर्सद निकालेर महिलाहरू कडिपत्ता संकलन र बिक्रीमा लागेका छन् । यसैबाट उनीहरूले घरको नुन–तेलको खर्चसमेत जुटाएका छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully