भारतमा बीआइएस नलिइ दुई महिना सेनेटरी प्याड र बेबी डाइपर निर्यात गर्न पाइने

कार्तिक ९, २०८१

कान्तिपुर संवाददाता

Sanitary pads and baby diapers can be exported to India for two months without obtaining BIS

काठमाडौँ — भारतले आयातित सेनेटरी प्याड र बेबी डाइपरमा बीआईएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड) अनिवार्य गर्ने व्यवस्थालाई थप दुई महिना पछाडि सारेको छ । भारतले दुई महिनापछाडि सारेसँगै नेपाली उद्योगीहरुले आगामी दुई महिनासम्म बीआइएस नलिई भारतमा सेनेटरी प्याड र बेबी डाइपर निर्यात गर्न सकिने भएको हो ।

भारतले एक वर्षअघि नै सूचना जारी गरेर सेनेटरी प्याड र बेबी डाइपरमा १ अक्टोबर २०२४ देखि बीआईएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड)  अनिवार्य गरेको थियो । भारतको उक्त नीतिपछि नेपालका उद्योगीले पनि बीआईएसमा आवेदन दर्ता गराएका थिए ।

बीआईएसबाट निरीक्षण टोली उद्योग अनुगमनमा आउने, ‘फ्याक्ट्री अडिट’ गर्ने प्रक्रिया थियो । तर आवेदन लिइसकेपछि फ्याक्ट्री भिजिटमा आउने दिन तोकेको र उद्योगीहरूले भ्रमण शुल्कलगायत भुक्तानी गर्दा पनि भारतीय टोली भिजिटमा आएका थिएनन् । बीआईएस लागू हुनासाथ अक्टोबर १ देखि प्याड र बेबी डाइपर निर्यात रोकिएको थियो । 

आगामी जनवरी १ सम्म बीआइएस लिनका लागि समय थप गरेको जस्मिन हाइजिन प्रोडक्टका सीईओ पुनित शारडाले बताए । ‘बीआईएसका लिनका लागि दुई महिना समय थपिएको छ,’ शारडाले भने, ‘आगामी दुई महिनामा बीआईएस लिन सकेनौं भने फेरी प्याड र बेबी डाइपर निर्यात रोकिन्छ ।’

भारतको बीआईएसबाट निरीक्षण टोली उद्योग अनुगमनमा आउने, ‘फ्याक्ट्री अडिट’ गर्ने प्रक्रिया सकिएपछि मात्रै भारतको गुणस्तर चिहृन पाइन्छ । त्यसैले बीआईएस नपाएसम्म निर्यात खुल्ने र बन्द हुने क्रम जारी हुने देखिएको छ । 

कान्तिपुर

Link copied successfully