एनआरएनएको वार्षिक साधारणसभालाई एकताको महाधिवेशन बनाउन अध्यक्ष केसीको आग्रह

कार्तिक ९, २०८१

कान्तिपुर संवाददाता

Chairman KC's request to make NRNA's annual general meeting a convention of unity

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बद्री केसीले काठमाडौंमा हुन गइरहेको वार्षिक साधारणसभालाई एकताको महाधिवेशन बनाउन विपक्षी समूहलाई आग्रह गरेका छन् । 

एनआरएनए (बद्री केसी समूह)ले कात्तिक ११-१२ गते एनआरएन ग्लोबल कन्क्लेभ-२०२४ र वार्षिक साधारणसभा आयोजना गर्नेबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले उक्त धारणा राखेका हुन् । कन्क्लेभ र वार्षिक साधारणसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्दैछन् । 

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औं बैठकले गठन गरेको उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एनआरएनको एकता महाधिवेशनसहित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन पत्र पठाएको छ । यो सन्दर्भमा एनआरएनए केसी समूहले आफूहरू ११ औं महाधिवेशनबाट चुनिएको बताउँदै आएको छ । ११ औं महाधिवेशनको विद्युतीय मतदानको नतिजा त्रुटिपूर्ण भएको भन्दै अध्यक्षका दाबेदार आरके शर्मा र महेश श्रेष्ठको समूहले शर्माको नेतृत्वमा अर्को संघ बनाएको छ । 

उनले सर्वोच्च अदालतको फैसला ११ औं महाधिवेशनसँग सम्बन्धित नभई १० औं महाधिवेशनसँग सम्बन्धित भएको बताए । 'सडकबाट वैधानिक निकास हुँदैन । छलफलबाट हुन्छ । संस्था संचालन गर्ने विधान हो । यसमा समस्या छ भने छलफल गरेर अगाडि जान सकिन्छ', उनले भने । 

अध्यक्ष केसीले आफूहरू वैधानिक हैसियतमा एनआरएनएको अभियानलाई अगाडि बढाएको बताए । यो साधारणसभाबाट बाटो बिराएर हिँडेका साथीहरूलाई मूलधारमा आउन आह्वान गर्ने उपाध्यक्ष रामशरण सिम्खडाले बताए ।

कान्तिपुर

Link copied successfully