दोलखा — खराब मौसमका कारण मन्थली-लुक्ला उडान हुन नसकेपछि मन्थलीमा अलपत्र परेका विदेशी पर्यटकहरू हेलिकप्टर चार्टर गरेर फाप्लु र सुर्के जान थालेका छन् ।
बिहीबार पनि मन्थली विमानस्थलबाट खुम्बुका लागि उडान हुन सकेको छैन । सोमबारदेखि उडान नहुँदा यहाँ अड्किएका पर्यटकहरू हेलिकप्टर चार्टर गरेर फाप्लु र सुर्केतर्फ जान थालेका हुन् ।
मन्थलीबाट ५ वटा निजी कम्पनीका हेलिकप्टरले पर्यटकलाई फाप्लु र सुर्के लैजाने र ल्याउने गरिरहेको मन्थली विमानस्थलका उपप्रबन्धक हिरन साहले जानकारी दिए । खुम्बुको खराब मौसमका कारण मन्थली विमानस्थलबाट चौथो दिन पनि उडान हुन नसकेको उनले बताए ।
‘विमानस्थलमा रहेका विदेशी पर्यटकलाई हेलिकप्टरले फाप्लु र सुर्के लगिरहेको छ,’ उनले भने, ‘हालसम्म ६० भन्दाबढी पर्यटक लुक्ला उडेका छन्, अन्य उड्ने तयारीमा छन् ।’ मन्थली विमानस्थलबाट नेपाली सेनाको विमानले लुक्ला उडान गरेर पर्यटक ल्याउने भनेपनि अझैसम्म कुनै औपचारिक जानकारी नआएको उनले बताए ।
‘अहिलेसम्म कुनै औपचारिक जानकारी आएको छैन,’ उनले भने, ‘मैले पनि मिडियाबाट मात्रै थाहा पाएको हो, अन्य केही जानकारीमा छैन।’ बुधबार नेपाली सेनाको विमानले लुक्लामा रहेका पर्यटकको उद्धार गर्ने रक्षामन्त्री मानविर राईले बताएका थिए ।
बुधबार बिहान मौसम खुलेपछि लुक्लाका लागि १६ वटा उडान भएको थियो । विमानस्थलमा अझै १ हजार बढी पर्यटक लुक्ला जान बसेका छन् । मौसम खुलेको समयमा बिहानदेखि साँझसम्म दैनिक ३ वटा निजी क्षेत्रका विमानले ५५ भन्दा बढी उडान भर्दै आएका छन् ।
असोज २० गतेबाट हिमाली क्षेत्रको मौसममा बदली भैरहेको छ । शरद ऋतुमा खुल्ने हिमालहरु धुम्म भएर देखिन छाडेका छन् । नागरिक उड्डयन प्राधिकरणले सगरमाथा घुम्न जाने पर्यटकलाई लक्षित गरेर मन्थलीबाट–लुक्ला उडान संचालन गर्दै आएको छ ।
मन्थली विमानस्थलबाट निजी क्षेत्रका समिट, तारा र सिता एयरका विमानले सगरमाथा जाने पर्यटकका लागि उडान भर्दै आएका छन् । सगरमाथा क्षेत्र घुम्नका लागि उपयुक्त वसन्त ऋतुको चैत्रदेखि जेठसम्म र शरद ऋतुको असोजदेखि मंसिरसम्म मन्थली विमानस्थलबाट लुक्ला उडान हुँदै आएको छ ।
