उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत, दाल तथा गेडागुडीको मूल्यवृद्धि धेरै

आश्विन २९, २०८१

कान्तिपुर संवाददाता

Consumer prices increased by 3.85 percent, pulses and pulses increased more

काठमाडौँ — गत भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो ।

सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य वृद्धिदर ५.०३ र गैरखाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत रहेको थियो ।

गत भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८०, तरकारीको ९.८४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविधवस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१, मदिराजन्य पेय पदार्थको ६.७६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ । तर, बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully