२ हजार रोपनी भन्दाबढी खेतको धान रातै
पाल्पा — अधिकांश खोला खेत, फाँट र टारहरूमा धान बाली पसाउने र फूल खेल्ने बेला भएको छ । तर रामपुर फाँटका साथै निस्दी, माडी, तिनाउका केही भागमा भने न धान पसाएको छ, न त धानको बालामा फूल नै खेलेको छ । ह्वाइट फ्लाई अर्थात् सेतो पुतली र गभारो रोगले सयौं रोपनी खेतको धानबाली रातै भएको हो । जसले गर्दा मानो रोपेर मुरी उब्जाउने तयारी गरेका किसान यतिबेला चिन्तित भएका छन् ।
रामपुर नगरपालिका–६, माझटोलका युवराज अधिकारीको १० रोपनी क्षेत्रफलमा लगाएको धान हरियै हुनुपर्नेमा रातै भएपछि उनी चिन्तित बने । धान पसाउने र बाला लगाएर फूल खेल्नुपर्ने बेलामा ठाडै भएको उनले बताए ।
‘३० मुरी धान स्याहार्ने योजना मेरो थियो,’ उनले भने, ‘५ मुरी पनि भित्र्याउन पाउने हो कि होइन भनेर अहिले चिन्ता लागेको छ ।’ धानको ८० प्रतिशत भागमा पसाउनै सकेको छैन । ठाडै सुकेको छ ।
अधिकारी मात्र होइन, सोही गाउँकै शान्ति डोटेलको अवस्था पनि उस्तै छ । फाँटमा लगाएको धानको पात पहेँलै भएको छ । सेतो पुतली बसेर खेतको धान सबै नोक्सानी हुने अवस्था आएको छ । ‘साना साना सेतो पुतली बसेपछि पूरै धान रातै भएको छ,’ उनले भने, ‘न पसाउन सकेको छ न त फूल खेलेकाको भरिलो भएको छ ।’
अन्न भण्डारका रूपमा चिनिने रामपुर फाँटको झन्डै २ हजार रोपनी क्षेत्रफलमा धान रातै भएको छ । जिल्लाकै माडी फाँट र तिनाउका केही स्थानमा समेत सेतो पुतलीको प्रकोप देखिएको कृषि शाखाले जनाएको छ । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले केही भागमा पसाउन र फूल खेल्ने समयमा धान रातो भएको किसानको गुनासो आएको बताए । मुख्य खाद्यान्न बाली धानमा प्रकोप देखिएपछि किसान चिन्तित छन् । प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्ता बढेको रामपुर नगरपालिका–६ का किसान मणिराम अधिकारीले बताए ।
धान पसाउने समयमा पंहेलो हुँदै रातो हुने र ठाडै सुक्ने समस्या देखिएको उनले बताए । जसले गर्दा उत्पादन घट्ने उनले बताए । विजयपुर कृषि सहकारी संस्थाका अनुसार बीउ उत्पादनका लागि लगाइएको धानमध्ये सावित्री जातको धानमा समस्या देखिएको छ । सहकारीले विजयपुर र प्याकलुक क्षेत्रको ८ हेक्टरमा सावित्री र सातबिसे क्षेत्रको ७ हेक्टरमा हर्दिनाथ–६ बीउका लागि लगाएको छ । हर्दिनाथभन्दा साबित्री जातको धानमा समस्या देखिएको किसानको गुनासो छ ।
रामपुर क्षेत्रमा तीन वर्षयता केही स्थानमा समस्या देखिन थालेको हो । भदौको सुरुवातदेखि रामपुर नगरपालिका–४, ५, ६ र ७ मा सेतो पुतली र गभारेको प्रकोप बढी देखिएको थियो । प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि विषादी छर्ने अभियान नै चलाएको हो । रामपुर नगरपालिका–६ की शान्ति डोटेलका अनुसार धेरै अन्न फलाउने उद्देश्यले उन्नत जात लगाएको हो । तर अहिले सेतो पुतलीले नोक्सान गर्दा टाउको समाउन बाध्य भएको उनले बताइन् ।
‘स–साना मसिना पुतली प्रजातीका किराहरूले पात खाएर रातै बनाएको छ,’ उनले भनिन्, ‘पसाएको धान बाली ओइलाउँदै गएर पराल पनि काम लाग्ने अवस्था नहुने भयो ।’ स्थानीय रैथानेमा भन्दा गोरखनाथ, सावित्री र हाइब्रिड जातका धानमा सेतो पुतली र गवारोले धेरै क्षति पुर्याएको उनले बताइन् । विगतका वर्षमा पनि देखिने यो रोग यस वर्ष ठूलो क्षेत्रमा समस्या देखिएको रामपुर–५ का किसान नारायण भण्डारीले बताए ।
सावित्री र हाइब्रिड जातका धानमा धेरै प्रकोप देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताए । उनका अनुसार कृषि शाखाले किसानको खेतमा मसिनो पुतली जातको किराले नोक्सानी गरेको देखेपछि कृषि प्राविधिक खटिएर स्थलगत अवलोकनपछि नियन्त्रणको प्रयास गरेको छ ।
‘धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधिसँगै उपचारका लागि औषधि पनि प्रदान गरिएको छ,’ उनले भने, ‘तर सोचे जति नियन्त्रण भने भएको छैन । समस्या देखिनासाथ उपचार गरिएको धानमा प्रकोपको समस्या समाधान भएको छ । धेरै समस्या देखिएका स्थानमा पनि क्रमिक सुधार हुँदै हरियो भएको छ ।’
तर किसानले भने धान पसाएर फूल खेलेका स्थानमासमेत रोगले गर्दा दाना भरिएको छैन । यस्ता जातका पुतली प्रायजसो पातको पछाडिपट्टिको सतहमा बस्छ । यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसमभन्दा गर्मी मौसममा बढी देखिन्छ । सेतो पुतलीको वयस्कले एकै पटक एक सय ५० वटासम्म सेतो रंगका फुल पार्छ । यसको बच्चा अण्डाबाट निस्केपछि एकदेखि तीन हप्तासम्म पातमा टाँसिएर बस्ने गर्दछ ।
पाल्पामा आठ हजार २१० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ । किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । उन्नत र हाइब्रिड अन्तर्गत किसानले साँवा मनसुली, राधा, खुमल, बासमती, युएस ३१२, सावित्री, हर्दिनाथ जातको धान लगाउँदै आएका छन् ।
