गुणस्तरहीन पानी उद्योगलाई सधैं उन्मुक्ति

पानी उद्योगमा अनेक कैफियत भेटिए पनि उद्योगलाई निर्देशिका पालना गर्न मात्रै निर्देशन दिएर छुटकारा दिइँदै

आश्विन १९, २०८१

राजु चौधरी

Immunity to substandard water industry forever

काठमाडौँ — सर्वसाधारणको स्वास्थ्यमा लगातार खेलबाड गरिरहे पनि पानी उद्योगीका कर्तुतमा सरकार मूक बनिरहेको पाइएको छ । प्रशोधित पिउने पानीको उत्पादन र बिक्रीवितरणलाई व्यवस्थित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–०७४’ ल्याए पनि उद्योगीहरूले त्यसको कार्यान्वयन गरेका छैनन् ।

तर नियामक निकाय लाचारजस्तै छ । यसको पछिल्लो उदाहरण हो, विभागको बजार अनुगमन । 

विभागले बजार अनुगमन गर्दा हरेक पटक केही न केही कैफियत भेटाउने गरेको छ । खाद्यको टोली बुधबार पाटन औद्योगिक क्षेत्रमा रहेको अन्नपूर्ण इन्डस्ट्रिजमा पुग्दा त्यस्तै कफियत भेटियो । पानी प्रशोधन गर्ने उक्त इन्डस्ट्रिजमा भण्डारण कक्षमा राखेको प्रशोधित पिउने पानीमध्ये २५ कार्टुनमा लेबल उत्पादन, मिति र ब्याच नम्बर थिएन । उपभोक्ता संरक्षण ऐनले यस्ता कार्यलाई निषेध गरेको छ र तत्काल आर्थिक जरिवाना गर्न सक्छ । तर खाद्यको टोलीले बिक्री मूल्य उल्लेख नगरेको पानी नष्ट गरेर मात्रै उन्मुक्ति दियो ।  

खाद्यको टोलीले असोज १४ मा टोखास्थित शरण मिनरल वाटर एन्ड बेभरेज प्रालि, रियल माउन्ट एभरेस्ट बेभेरज प्रालि, ग्रिनल्यान्ड मिनरल वाटर एन्ड बेभरेज प्रालि र सिटी वाटर एन्ड बेभरेज प्रालिमा अनुगमन गरेको थियो । त्यस क्रममा शरणले अनुमतिपत्र नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएको र प्रशोधन कक्ष पनि अव्यवस्थित राखेको थियो । तर, टोलीले कमजोरी सुधार्न र निर्देशिका अवलम्बन गर्न मात्रै निर्देशन दियो । रियल र ग्रिनल्यान्डको अवस्था पनि उस्तै थियो । पानी उत्पादन गर्ने उद्योगमा कैफियत भेटिए पनि दुई उद्योगका कुच्चिएको जार नष्ट मात्रै गरियो र सोहीअनुसार निर्देशन मात्रै दिएर उन्मुक्ति दियो । 

खाद्यको टोलीले असोज ९ (बुधबार) मा पनि पानी उद्योगमा अनुगमन गरेको थियो । ललितपुरमा रहेको पचली भैरव पानी प्रशोधन उद्योगमा निरीक्षण गर्दा बोटलमा उत्पादन मिति र ब्याच नम्बर थिएन । पानीको गुणस्तर परीक्षण प्रतिवेदन गरेको थिएन । फोहोर पानी बग्ने ढल अव्यवस्थित र खुला राखे पनि कारबाही भएन । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–०७४’ पालना गर्न निर्देशन दिएर उन्मुक्ति दिइयो । धापासीको सनराइज बेभरेज नेपाल प्रालिले अर्को नामको कम्पनीको जारमा पानी फिलिङ गरी बिक्री गरेको भेटिएको थियो । विभागको अनुमतिपत्र नवीकरण नगरी कारोबार गरेको पाइएको थियो । तर पनि कारबाही भएन । यसरी पानी उद्योगले लापरबाही गरे पनि सरकारी निकाय निर्देशन मात्रै दिएर उम्किएको छ । सोही प्रकारको कैफियतमा काठमाडौं महानगरपालिकाले भने कारबाही गर्दै आएको छ । 

महानगरले २१ ब्रान्डका नमुना परीक्षण गर्दा ११ ब्रान्डमा कैफियत फेला पारेको थियो । महानगरपालिकाले परीक्षणका क्रममा पानीमा फिकल कोलिफर्मसमेत भेटिएको थियो । कोलिफर्मको मात्रा शून्य हुनुपर्नेमा ३ सयसम्म भेटिएको थियो । प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सीएफयू) मापदण्डविपरीत देखिएको थियो । यसमा ११ कम्पनीको पानी बिक्रीवितरणमा रोक लगाई महानगरले दुई–दुई लाख जरिवाना गरिसकेको छ । ०७४ मा जारी भएको निर्देशिका नेपाल बोटल वाटर उद्योग संघ कार्यान्वयन गर्न नसकिने बताइरहँदा विभागले निर्देशन दिएर मात्रै उन्मुक्ति दिँदै आएको छ । 

‘पानी शतप्रतिशत स्वच्छ बनाउन सकिँदैन, यसमा केही न केही कैफियत हुन्छ नै । मानवीय त्रुटिले पनि हुन सक्छ । अत्याधुनिक प्रशोधन गर्ने पानीमा पनि समस्या छ,’ संघका वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङले भने, ‘खाद्यले जारी गरेको मापदण्ड पूर्ण लागू भए नेपालमा रहेका ७ सय पानी उद्योगमध्ये ५ सय बन्द हुन्छन् ।’ 

केही पानी उद्योगले एउटै कोठामा प्रशोधन, स्टोरेज र फिल्टरसमेत गरेका छन् । त्यसैले निर्देशन भए पनि लागू गर्न कठिन पर्ने चेम्जोङको भनाइ छ । ‘उपत्यकाकै कुरा गर्दा २ सय पानी उद्योगमध्ये १ सय ५० उद्योग मनलागी पारामा चलिरहेका छन् । ती उद्योगले उत्पादन गर्ने पानी कस्तो होला ?’ उनले भने । 

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक महानिर्देशक सञ्जीवकुमार कर्णले निर्देशिका अनिवार्य पालना गर्नुपर्ने बताए । ‘उद्योगले मापदण्ड पालना गर्न नसके वैकल्पिक उपाय अपनाएर मर्जमा जान सक्छन् । त्यो पनि गर्न नसके बन्द हुन्छन् । तर क्षमता छैन भन्दैमा सर्वसाधारणलाई दूषित र न्यून गुणस्तरको पानी बेच्न पाइन्न,’ 

उनले भने, ‘मापदण्डको पालना नगर्नेलाई कारबाही हुन्छ ।’ नयाँ खाद्य ऐन जारी भए पनि त्यसको निर्देशिका बन्ने क्रममा रहेकाले आर्थिक जरिवाना गर्न नसकिएको विभागले जनाएको छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully