काठमाडौँ — ५७ वर्ष सञ्चालनमा आएर कोभिडपछि बन्द भएको दरबारमार्गस्थित होटल अन्नपूर्णको स्थानमा पुनर्निर्माण हुन लागेको नयाँ अत्याधुनिक पाँचतारे होटलमा भारतीय ब्रान्ड आईटीसी वेलकम होटल समूह व्यवस्थापकका रूपमा भित्रिएको छ ।
काठमाडौंमा बिहीबार आईटीसी वेलकम होटल समूहसँग होटल अन्नपूर्ण स्क्वायर प्रालिले सात वर्षको व्यवस्थापकीय सम्झौतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ‘कोभिडपछि हामीले सबै कर्मचारीलाई बिदाइ गर्यौं । त्यो महामारी थियो । तर हामीले झन्डै ६ दशक सञ्चालनमा आइसकेको एउटा स्थापित ब्रान्डलाई पुनर्विकास गर्ने कठोर निर्णय लियौं,’ होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणाले भनिन्, ‘समयानकूल परिवर्तनलाई आत्मसात् गर्दै हामी नेपालको आतिथ्य उद्योगमा नेतृत्वदायी भूमिकामा स्थापित अन्नपूर्णलाई नयाँ पुस्तामा रूपान्तरण गर्दै छौं ।’
५० रोपनी क्षेत्रफल ३ हजार हाराहारी अतिथि अटाउने क्षमताको नेपालकै सबैभन्दा ठूलो कन्फ्रेन्स हल (सम्मेलन केन्द्र), ३ सय १८ कोठा, ३० वटा सर्भिस अर्पाटमेन्टसहित निर्माण हुने पाँचतारे होटल सञ्चालनमा आएपछि यसको नाम होटल अन्नपूर्ण वेलकम हुने कार्यकारी निर्देशक राणाले जनाइन् । यसको लागत करिब १ अर्ब रुपैयाँ रहेको उनको भनाइ छ ।
नयाँ होटलको पुनर्विकासमा लिटिल एन्जल्स र भाटभटेनी समूह पनि छन् । यसका मुख्य लगानीकर्तामा लिटल एन्जल्सका उमेश श्रेष्ठ, भाटभेटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक राणा छन् ।
