पर्सा — अर्थतन्त्रमा सुधारको संकेतसँगै फलामजन्य वस्तु आयात हुने मुलुककै मुख्य नाका सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट यस्ता वस्तुको आयात पनि बढ्दो छ । भवन तथा अन्य निर्माण कार्यमा प्रयोग हुने डण्डीका कच्चा पदार्थको रुपमा प्रयोग हुने एमएस बिलेट, वायर बन्डल, एचआर क्वायल आदिको आयात बढेको हो ।
बन्दरगाह सन्चालक कम्पनी प्रिष्टिन भ्यालीको तथ्यांक अनुसार, यो नाका हुँदै पछिल्लो सात महिनामा भारतबाट डण्डी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु बोकेर आउने रेल्वे र्याकको संख्या क्रमशः उकालो लागेको छ ।
माघ, फागुन र चैत महिनामा ५/५ वटा रेल्वे र्याकमा यस्ता कच्चा पदार्थ भित्रिएकोमा बैशाख र जेठ महिनामा क्रमशः ८ र ५ वटा र्याकमा यी कच्चा पदार्थ भित्रिएका थिए । असारमा ९, साउनमा १० र भदौ महिनामा ९ वटा र्याकमा कच्चा पदार्थ भित्रिएका छन् । असोजको पहिलो सातामा मात्र ३ वटा र्याकमा कच्चा पदार्थ भित्रिसकेको छ ।
प्रिष्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्मा पछिल्लो तीन महिनामा डण्डी बनाउने उद्योगले उत्साहजनक रुपमा कच्चा पदार्थ भित्र्याउन थालेको बताउँछन् । ‘यो विस्तारै अर्थतन्त्र लयमा आउन थालेको संकेत पनि हो,’ उनले भने, ‘मागनै नभए उद्योगले पक्कैपनि कच्चा पदार्थ आयात गरेर डण्डी तयारनै पार्दैनन् ।’
यो नाकाबाट सर्वाधिक फलामजन्य वस्तु आयात गर्नेमा जगदम्बा स्टिल अग्रपंक्तिमा आउँछ । त्यसपछि जगदम्बा इन्टरप्राइजेज, हुलास स्टिल, ग्याबियल स्टिल आदि छन् । पर्सा बारा औद्योगिक करिडोरमा सन्चालित यी उद्योगले प्रायः भारतको उडिसा राज्यको झारसुगोडास्थित जिन्दल स्टिलबाट कच्चा पदार्थ आयात गर्ने गरेको शर्माले जानकारी दिए ।
जिन्दल स्टिलले आफ्नै रेल्वे र्याकबाट वीरगन्जसम्मै कच्चा पदार्थ ढुवानी गरी दिने भएकाले पनि आयातकर्ताहरुलाई जिन्दलबाटै कच्चा पदार्थ खरिद गर्न सहज भएको हुन सक्ने उनले बताए । बन्दरगाहस्थित भन्सार कार्यालयमा सर्वाधिक राजश्वमा योगदान गर्ने वस्तुमा फलामजन्य वस्तुनै रहेका छन् ।
यी वस्तुको आयात घट्दा भन्सारको राजश्व असूलीमा पनि नकारात्मक प्रभाव पर्न जान्छ । बन्दरगाह भन्सार प्रमुख धनबहादुर बरुवाल पनि फलामजन्य वस्तुको आयात क्रमशः बढ्दै जानु सकारात्मक रहेको बताउँछन् । ‘यसले एकातिर देशमा निर्माणकार्यल पुनः गति लिन थालेको संकेत गर्छ,’ उनले भने, ‘भन्सार राजश्वमा पनि यस्ता वस्तुको महत्वपूर्ण योगदान रहने गरेको छ ।’
आर्थिक मन्दी अघि यो नाका हुदै मासिक १२ देखि १६ वटा सम्म रेल्वे र्याकमा फलामजन्य वस्तु आयात हुने गरेका थिए । सामान्यतया एक रेल्वे र्याकले ४ हजार टन सम्म फलामजन्य वस्तु बोक्ने गर्छ ।
