पानीको खुद्रा मूल्य प्रति जार अधिकतम् ४७ रुपैयाँ

प्रति बोटल पानीको अधिकतम् खुद्रा मूल्य १७ रुपैयाँ

श्रावण २४, २०८१

कान्तिपुर संवाददाता

The retail price of water is Rs 47 per jar maximum

काठमाडौँ — काठमाडौं उपत्यकाभित्र बिक्री हुने जारको पानीको मूल्य ४७ रुपैयाँ र बोटलको प्रति गोटा १६ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले  २० लिटर जारको पानीको मूल्य र १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा बिक्री मूल्य तोकेको हो । 

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था छ । तर विभिन्न पानी उत्पादकहरूले होटल/रेष्टुरेण्ट /व्यवसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक–फरक ‘एमआरपी’ लगाई बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ ।

प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक–फरक ‘एमआरपी’ लगाई बजारमा पठाउनु उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) ग(१) बमोजिम निषेधित गरिएको भन्दै विभागले यस्ता काम नगर्न र नगराउन आग्रह गरेको छ ।

‘माथि भएको व्यवस्था पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही भई जाने व्यहोरा सम्बन्धित सबै पानी उत्पादकलाई समेत जानकारी गराइन्छ,’बुधबार विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully