खडेरीले फेरिँदै खेतीको ‘क्यालेन्डर’

समयमै पानी नपरेपछि अघिल्ला वर्ष मकै खेती हुने खेतबारी बाँझै

जेष्ठ २०, २०८१

गगनशिला खड्का

Drought changes farming 'calendar'

गुल्मी — सत्यवती गाउँपालिका–१ अस्लेवाका फाँटमा यतिबेला मकैका घोगा लाग्न सुरु भइसक्थे । चैतमा छरेको मकै असारमा भित्र्याएर त्यहाँ धान रोपिन्थ्यो । तर यसपालि जेठ तेस्रो सातासम्म पनि फाँटका अधिकांश खेत बाँझो छन् । समयमा पानी नपरेपछि खेतमात्र बाँझो रहेन, किसानलाई चिन्ता पनि थपिएको छ ।

‘अस्लेवामा २ सयभन्दा धेरै घर छन्, हरेक घरमा १५/२० मुरी मकै हुन्थ्यो,’ स्थानीय ७६ वर्षीय प्रेमलाल पाण्डे भन्छन्, ‘अहिले मकैले धानझुपुलो गर्ने बेला खेतबारी बाँझै छन् ।’ 

वर्षा नभएपछि चैते मकै छर्ने ठाउँमा मात्रै खेतबारी बाँझै रहेको छैन, बर्खे मकैसमेत समयमा छर्न नपाएर किसानलाई समस्या भएको छ । प्रायः जेठको १५/२० गते मकै दोस्रो पटक गोड्ने बेला हो । तर धुर्कोटका अधिकांशका बारीमा भर्खरैमात्र मकै छरेका छन् । ‘पहिला जेठको २०/२२ मा दोहोरो मकै खनिन्थ्यो, अहिले भर्खर छरेर सकियो,’ धुर्कोट गाउँपालिका–६ धुरका झुपबहादुर बस्नेत भन्छन्, ‘त्यही पनि वैशाखमा बाँझो बारी भिज्ने पानी नपरेपछि कसैले कसैकसैले त आजभोलि बल्ल छर्दै छन् ।’ 

मकैसँगै बारीमा यतिबेला सागसब्जी, सिमी, फर्सीलगायत तरकारीका बोट हुर्किसक्थे । यो वर्ष भर्खर कतै रोपिँदै छ भने कतै बल्ल उम्रिएको छ । हिउँदमा समेत वर्षा नभएका कारण गत माघमा लगाएको आलुको उत्पादन घटेको मदाने–६ का किसान लोकहरी कुँवरले बताए । ‘आकाशे पानी पर्दा मेरो खेतमा प्रतिरोपनी १० क्विन्टल आलु फल्थ्यो,’ उनले भने, ‘अहिले ह्वात्तै घट्यो, यो वर्ष त गाउँमा हरियो साग तरकारी पनि हाहाकार छ ।’ 

वर्षाको समय बदलिँदा यो वर्ष गुल्मीमा अन्न, तरकारी, फलफूल लगायत बालीनालीलाई असर परेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी बताउँछन् । गतवर्ष ३ सय ४१ हेक्टर क्षेत्रफलमा खेती भएको चैते धान यो वर्ष ३ सय १९ हेक्टरमा मात्र खेती भएको छ । ‘पानी नपरेपछि बर्खे मकै छर्नका लागि ढिला भएको छ भने चैतेधान लगाउने क्षेत्रफल घटको छ,’ उनले भने, ‘बर्खे आलुको उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने देखिएको छ र लिची फुल्ने समयमा पानी नपरेकाले एकदम कम फलेको छ ।’ उनले समयमा पानी नपर्दा खेतीपाती लगाउने क्यालेन्डर नै फेरिन थालेको बताए ।

Drought changes farming 'calendar'भण्डारीका अनुसार गुल्मीमा २४ हजार ४ सय ६५ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । यो वर्ष बल्ल मकै छरिरहेका कारण तथ्यांक आइनसकेको उनले बताए । जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार पानी पर्ने तालिका र तापक्रममा भइरहेको परिवर्तनले खेतीपाती लगाउने तिथिमिति नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । ‘यो जलवायु परिवर्तनको असर हो । नेपाललगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र छ,’ उनले भने । समुद्रको तापक्रम औसतभन्दा बढी हुँदा एसिया प्रशान्त क्षेत्रमा खडेरीको अवस्था आउने उनको भनाइ छ । 

एकपटक छरेको मकै नउम्रिएपछि इश्मा गाउँपालिकाका विभिन्न स्थानमा किसानले दोस्रो पटक छरेका छन् । यसले किसानलाई मल, बीउ, ज्यालालगायतमा दोहोरो खर्च भएको इश्मा–४ की तारा कार्की बताउँछिन् । उनका अनुसार मौसम परिवर्तनले महिलालाई धेरै सास्ती भएको छ । ‘अरूबेला चैतको १०/१२ मा मकै छरिन्थ्यो, यो वर्ष पानी नपरेर यसै ढिला भयो, त्यसमाथि एक पटक छरेको मकै नउम्रेर दुई पटक छर्दा दोहोरो खर्च भयो,’ उनले भनिन्, ‘पुरुषहरू विदेश छन्, गाउँका महिलालाई यही बेला पानीको अभाव हुन्छ, यहीबेला बच्चाबच्ची बिरामी पर्छन्, यहीबेला खेतीपातीको चटारो ।’ जलवायुविज्ञ उप्रेतीका अनुसार हिउँदे वर्षा कम हुँदा प्रिमनसुनमा पानी बढी पर्ने, गर्मी बढी हुने र वर्खामा औसतभन्दा बढी पानी पर्ने अनुमान गर्न सकिन्छ । यसले खेतीपातीलाई असर गरिरहेको पनि उनले बताए । 

जलवायु परिवर्तनले ग्रामीण क्षेत्रका महिला र किसानलाई बढी असर परेपछि केही स्थानीय तहले अनुकूलन र न्यूनीकरणबारे सचेतना सम्बन्धी गतिविधि गर्न थालेका छन् । सत्यवती गाउँपालिकाकी उपाध्यक्ष नीरमाया तरामुले पालिकाबाट किसानलाई जलवायु अनुकूलन खेतीपाती कसरी गर्न सक्छौं भनेर बुझाउने प्रयास गराइरहेको बताइन् ।

मालिका र धुर्कोट गाउँपालिकाले पनि किसान तथा महिलाहरूका लागि जलवायु परिवर्तन अनुकूलनसम्बन्धी तालिमहरू सञ्चालन गरेका छन् । समयमा वर्षा नभएर किसानलाई असर परेपछि खेतीपातीमा सहज बनाउन सिँचाइ कुलो, रिचार्ज पोखरीलगायत संरचना निर्माण गरिरहेको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए । ‘यसबाट किसानलाई केही भए पनि राहत हुनेछ भन्ने विश्वास छ,’ उनले भने । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully