काठमाडौँ — अब सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ । हालसम्म नेपाल राष्ट्र बैंकले उठाउदै आएको आन्तरिक ऋण सोमबार (फागुन १९) देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउन लागेको हो ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गरेर ०८० चैत १९ देखि सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन त्रिपुरेश्वरस्थित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने जानकारी दिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापनकै लागि सरकारले उक्त कार्यालयको स्थापना गरेको हो । हाल यो कार्यालयले बाह्य ऋण उठाउदै आएपनि आन्तरिक ऋण उठाउने काम गरेको थिएन । तर, भुक्तानीको काम भने गर्दै आएको थियो । अहिले आएर आन्तरिक ऋण संकलनको काम पनि कार्यालयले सुरु गर्न लागेको हो । यो सँगै अब सरकारको ऋण उठाउने प्रयोजनमा सहयोग र सहजिकरण बाहेक राष्ट्र बैंकको प्रत्यक्ष संलग्नता रहने छैन ।
चालु आर्थिक वर्षमा कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको थियो । सरकारको लक्ष्यअनुसार राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउदै तालिका सार्वजनिक गरेको थियो । गत आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकोमा त्यसको ९९.९९ प्रतिशत प्रगति हासिल गरेको थियो ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्ब विकास ऋणपत्र ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने तालिका थियो ।
चालु आवमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा २२.९ प्रतिशत, विकास ऋणपत्रको हिस्सा ७४.६ प्रतिशत, नागरिक बचतपत्रको हिस्सा २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.४ प्रतिशत रहेको तालिकामा उल्लेख छ । यही तालिका अनुसार राष्ट्र बैंकले हालसम्म १ खर्ब ७४ अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।
अब यस वर्षको बााकी ६६ अर्ब अर्ब र आउँदा दिनमा सबै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै उठाउनेछ ।
