अर्घाखाँचीको उत्पादनलाई सन्धिखर्कमा ब्राण्डिङ 

फाल्गुन २८, २०८०

वीरेन्द्र केसी

Branding of Arghakhanchi products in Sandhikhark

अर्घाखाँची — गाउँमा किसानले उत्पादन गरेको खाद्यवस्तुलाई ब्राण्डिङ गरेर बजारसम्म पुर्‍याउन थालिएको छ । पाणिनिको ध्यू, धातीवाङको आलु, खिल्जीको महसहित गेडागुडी, मकैको च्याख्ला, गहुँको पिठो, अदुवा, बेसार, कोदो, अचारका परिकार, तरकारी लगायतका खाद्यवस्तु संकलन गरी बजारमा पठाइएको हो ।

चुत्रावेशीमा रहेको साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सन्धिखर्कमा खोलिएको साथी बहुउद्देश्यीय सहकारी उद्योेग बिक्री केन्द्र मार्फत् दुई महिनाअघि देखि खाद्यवस्तु गाउँबाट संकलन गरी बिक्री गर्न थालिएको हो। गाउँ र तराइबाट तोरी खरिद गरी ल्याएर तेल फिल्टर गरेर बिक्री गर्न थालिएको छ । 

‘गाउँको उत्पादनलाई खरिद गरेर प्याकेजिङ, ब्राण्डिङ, ग्रेडिङ, लेवलिङ र थ्रेडिङ गर्छौ,’ साथी बहुउद्देश्यीयका सचिव धर्मराज भुसालले भने, ‘धातीवाङको बीस क्युन्टल आलु खरिद गरेर बिक्री गर्‍यौँ । २५ क्वीन्टल कोदोको पिठो र दुई सय पचास मुरी धान खरिद गरी कुटेर चामल ब्राडिङ गरेका छौं, गाउँगाउँका किसानलाई उत्पादन गर्न भनेका छौं ।’ 

९७ लाख रुपैयाँको लगानीमा सञ्चालित बिक्री केन्द्रमा दैनिक एक लाख बराबरको कारोबार हुन्छ । पहिलो चरणमा गाउँको उत्पादन खरिद गरी ब्राण्डिङ गर्ने र सदरमुकाम बजारमा बिक्री गर्ने त्यसपछि बुटवल बजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए । 

‘गाउँमा पुगेर कोदो, गहुँ, फापर, जौं, ध्यू, दुधबाट बन्ने परिकार, टिमुर, जडिबुटी सहित रैथाने बालीका उत्पादन खरिद गरेर बजार पुर्‍याउँछौँ,’ साथी सहकारीका सल्लाहकार एवं योजनाकार प्रकाश भुसालले भने, ‘गाउँमा पुगेर किसानलाई उत्पादन गर्नुस्, हामी खरिद गरिदिन्छौं भनेर अभियान चलाउँछौं । गाउँमा बाँझिएका खेतबारीमा अन्न, फलफुल र तरकारी उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्दै गाउँमै उत्पादनबाट युवालाई स्वरोजगार पनि बनाउने एवं बजारमा बस्ने मान्छेलाई अर्गानिक खाद्यवस्तु पुर्‍याउँछौँ ।’

ताजा, स्वस्थ्यकर र रैथाने बालीबाट उत्पादन भएका वस्तु बजारमा पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए । 

तोरी पेल्ने, धानसहित अन्नबाली पिस्ने मेसिन राखिएको बिक्री केन्द्रमा हाल आठ जना कर्मचारीले काम गरिरहेका छन् । गाउँमा मकै, कोदो, गहुँ, आलु, पीडालु सहित जे–जे उत्पादन हुन्छ खोजेरै खरिद गरिदिने उनले बताए । उत्पादन खरिदसँगै मार्केटिङका लागि अध्ययन पनि गरिहेको उनले बताए । ‘बजारमा के माग बढी हुन्छ, त्यसै अनुसार उत्पादन खरिद गरेर ब्राण्डिङ गर्छौ,’ जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका भुसालले भने । 

दुई महिना अघिदेखि खाद्यवस्तु बजारमा पुर्‍याएको साथी सहकारीको बिक्री केन्द्र सोमबारदेखि औपचारिकरुपमै सञ्चालनमा आएको छ । केन्द्रको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बजारमा पाइने अखाद्य वस्तुले मान्छेको स्वस्थ्य बिग्रँदै गएको बेला गाउँमा उत्पादित ताजा वस्तु ग्राहकले छानीछानी किन्न पाउँदा किनेर खाने मात्रै नभएर उत्पादन गर्ने किसानले पनि राम्रो भाउ पाउने बताए । 

‘उत्पादनले बजार भाउ पाएन भन्ने चिन्ता हट्यो,’ उनले भने, ‘यसले युवालाई कृषि उद्यममा प्रतिष्प्रर्धा ल्याएर सयौंलाई स्वरोजगार बनाउनुपर्छ । अहिले रैथानेबालीका उत्पादित खाद्यवस्तुको बजारमा माग बढ्दो छ ।’

जंगलमा टिमुर, दालचिनी, खेतबारीमा मकै, गहुँ, कोदो, दालका परिकारका गेडागुडी लगायतका खाद्यवस्तु विषादी र रासायनिक मलको प्रयोग बिनाको उत्पादन गर्नमा नगरपालिकाले सहयोग गर्ने उनले बताए ।

वीरेन्द्र

Link copied successfully