सरकारले छुट दिएपछि १.५ प्रतिशत भन्सार महसुलमा सेनिटरी प्याड भित्रिएका छन् तर आयातित प्याडको मूल्य घट्नुको साटो बढेको बढ्यै छ
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमार्फत तयारी सेनिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट दिए । सरकारले दिएको छुटपछि अहिले १.५ प्रतिशत भन्सार महसुल तिरेर यस्ता प्याड भित्रिएका छन् । तर, आयातित प्याडको मूल्य भने घट्नुको साटो बढेको बढ्यै छ ।
विभिन्न ब्रान्डका ह्वीस्पर, स्टेफ्री र सोफी नेपालमा धेरै बिक्री हुने सेनिटरी प्याड हुन् । नाइन, कम्फी, केयरफ्रीलगायत ब्रान्डका सेनिटरी प्याड पनि नेपालमा पाइन्छन् । यीमध्ये सोफीको मात्रै मूल्य घटेको छ । खुद्रा पसलमा भने अझै यसको मूल्य घटेको छैन ।
चालु आर्थिक वर्ष सुरु भएपछि हरेक ब्रान्डका प्याडमा ५ रुपैयाँ मूल्य बढेर आएको थोक बिक्रेताहरू बताउँछन् । सोफी ब्रान्डको मात्रै मूल्य घटेको काठमाडौं क्षेत्रपाटीको बी वेल सप्लायर्सका प्रकाश व्यञ्जनकारको भनाइ छ । ‘बाहिरबाट आयात हुने सबै ब्रान्डका प्याडमा ५ रुपैयाँ मूल्य बढ्यो,’ उनले भने, ‘थोक बजारमै ५ रुपैयाँ बढेपछि खुद्रामा समेत बढ्ने भइहाल्यो ।’
रगतै नथेग्ने सेनिटरी प्याड
होलसेल पसलमा ५ रुपैयाँसम्म बढे पनि खुद्रा बजारमा ५ देखि १२ रुपैयाँसम्म मूल्य बढेको सर्वसाधारणको गुनासो छ । ह्वीस्पर अरेन्जको मूल्य बजेटअघि ७० रुपैयाँ थियो । अहिले कतै ७५ त कतै ८० रुपैयाँमा खरिदबिक्री हुन्छ । जब कि एमआरपी मूल्य ७८ रुपैयाँ पर्ने थोक बिक्रेता व्यञ्जनकारले सुनाए ।
भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकीलगायत मुलुकबाट पनि नेपालमा सेनिटरी प्याड आयात हुन्छ । संसद्मा बजेट प्रस्तुत हुनुअघिसम्म तयारी प्याड र यसको कच्चापदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको थियो । अहिले १.५ प्रतिशत मात्रै भन्सार महसुल र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्छ ।
स्वास्थ्यसँग जोडिएको अत्यावश्यक सामग्री भएकाले विलासिताका सामग्री मानेर लगाइएको कर खारेज गर्न माग गर्दै गत असोजमा महिलाले आन्दोलन गरेका थिए । ‘रातो कर माफ गर’ भन्ने ब्यानरमा भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले भन्सार महसुलको ९० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । बजेटपछि पनि नयाँ सामान भित्रिसक्दा पनि प्याडको मूल्य घट्नुको साटो बढेर आएको काठमाडौं सर्जिकल सप्लायर्सकी सञ्चालक सीता केसीले बताइन् । ‘होलसेल १०५ रुपैयाँ पर्ने ह्विस्पर ग्रिनको मूल्य अहिले ११० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘तयारी आउने लगभग सबै ब्रान्डको मूल्य बढेर आएको छ ।’
भन्सार छुटले सेनिटरी प्याड आयात ५९ प्रतिशतले बढ्यो
थोकमा ५ रुपैयाँ बढ्दा खुद्रामा ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म बढेर आएको छ । केही ब्रान्डका प्याडमा त अधिकतम खुद्रा मूल्य (एमआरपी) समेत नलेखी आउने शंखमूलस्थित डायमन्ड फार्मेसीकी रोजिना सुवालले बताइन् । ‘७० रुपैयाँमा पाइने ह्वीस्पर (नर्मल) को मूल्य ७८ रुपैयाँ पुग्यो । तर ७५ मै बेचिरहेका छौं,’ उनले भनिन्, ‘एकै पटक १० रुपैयाँ बनाउन गाह्रो छ, ७८ मा बेच्न गाह्रो हुन्छ ।’ प्रतिप्याकेट १४० रुपैयाँ पर्ने स्टेफ्री १५२ पुगेको उनको भनाइ छ ।
सेनिटरी प्याडको भन्सारमा छुट दिएको सरकार मूल्य वृद्धि हुँदा भने बेखबर छ । यस विषयमा विभागमा गुनासो नआएकाले आफूहरूलाई थाहा नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । ‘बजेटमा छुट दिएपछि घट्नैपर्ने हो । तर विभागमा गुनासो आएको छैन,’ उनले भने, ‘प्याडको मूल्यबारे बुझ्नेछु ।’
सरकारले तयारी सेनिटरी प्याड आयातमा दिएको छुटले मूल्य घटेको छैन । तर, तयारी प्याड आयात बढेको छ । तर सरकारले उठाउने राजस्व पनि घटेको छ । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा सेनिटरी प्याड आयात बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउन र भदौमा २४ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको प्याड आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा २० करोड ३९ लाख ७३ हजार रुपैयाँको प्याड आयात भएको थियो ।
सेनिटरी प्याडमा भन्सार ९०% छुट, मूल्य उल्टै वृद्धि
सरकारले पहिलो दुई महिनामा ३ करोड १७ लाख २ हजार ७२२ पिस (गोटा) प्याड आयात भएबापत ३ करोड ६५ लाख ९१ हजार रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्ष २ करोड ५४ लाख ८० हजार ५३९ पिस (गोटा) प्याड आयात गरेबापत ५ करोड ९६ लाख ६८ हजार रुपैयाँ राजस्व उठाएको थियो । नेपालमा सबैभन्दा बढी भारतबाट सेनिटरी प्याड आयात हुने विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको साउन–भदौमा भारतबाट २१ करोड २१ लाख ८ हजार रुपैयाँको २ करोड ६४ लाख ६० हजार ९७५ वटा सेनिटरी प्याड आयात भएको छ । चीनबाट २ करोड २८ लाख ४० हजार रुपैयाँको प्याड आयात भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षमा ताइवानबाट ४३ लाख १५ हजार रुपैयाँको ८ लाख वटा प्याड भित्रिएको छ । गत आर्थिक वर्षमा २१ लाख ८३ हजार रुपैयाँको १३ हजार ८ सय ६० वटा सेनिटरी प्याड आयात गरिएको देखिन्छ ।
नेपालको सेनिटरी प्याड उत्पादन वार्षिक ३० करोड थान छ । स्वदेशी उद्योगको उत्पादन क्षमता नै ९० करोड थान छ । नेपाल प्याडमा आत्मनिर्भर हुन सक्ने अवस्थामा भएकाले आयातितलाई निरुत्साहित गर्दै स्वदेशी उद्योगलाई प्रोत्साहनको आवश्यकता रहेको उद्यमीहरूको भनाइ छ । नेपालमा ६ अर्ब रुपैयाँ लगानीका सानाठूला गरी ४० वटा उद्योग छन् ।
