यस्तो छ आगामी बजेटको लक्ष्य र प्राथमिकता [पूर्ण पाठ]- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ आगामी बजेटको लक्ष्य र प्राथमिकता [पूर्ण पाठ]

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले  २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्ने लक्ष्य लिइएको बताएका हुन् ।

त्यस्तै वित्तीय अनुशासन कायम गरी मुद्रास्फीतिलाज्ञ वाञ्छित सीमाभित्र राख्ने लक्ष्य पनि सरकारको रहेको छ । सरकारले आगामी बजेटमा कृषि क्षेत्र, नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास, पूर्वाधार विकास र पुँजी निर्माण तथा वैज्ञानिक अनुसन्धान र विकासलाई प्राथमिकतामा राखेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।

यस्तो छ बजेटको पूर्ण पाठ

प्रकाशित : जेष्ठ १५, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्

वृद्धभत्ताको उमेरहद घटाउन आवश्यक थिएन : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वर्षको बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको बताएका छन् । उनले वृद्धभत्ताका लागि उमेरहद घटाएकोमा पनि असहमति जनाएका छन् ।

संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गरेपछि त्यसमाथि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले सुधारको कार्यक्रम नआएको बताएका हुन् ।

'कृषिमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने भूमि सम्बन्धमा वैज्ञानिक भूमिसुधार गर्ने भनेका थियौं त्यो आउनु पर्दथ्यो । भुईँमा रहेका जनतामा पहुँच नपुगेसम्म ठूलो परिवर्तन आउँदैन,' भट्टराईले भने, 'यसले उद्योगलाई वृद्धि गर्ने, व्यापार घाटा घटाउने भनेका छौं । त्यसमा लगानी आकर्षित गर्ने प्रकारको योजनाहरु आउनु पर्दथ्यो । त्यस्तो केही पनि आएन। सामान्य सुधारात्मक कुरा छन् । यति मात्रै कुराले ठूलो मात्रामा वैदेशिक लगानी आउँछन्, उद्योगधन्धा खुल्छन् र व्यापार घाटा कम हुन्छ भन्ने लाग्दैन ।'

यद्यपि प्रशासनिक सुधारको सामान्य विषय आएको उनले बताएका थिए । 'हाम्रो कर्मचारीतन्त्र र न्यायालय विकासमैत्री छैन । यसलाई परिवर्तन गर्ने रुपान्तरणकारी योजना आउनु पर्दथ्यो । त्यो आएको छैन,' भट्टराईले भने ।

यस्तै सामाजिक सुरक्षाको विषयमा पूर्ववत निरन्तरता भएको उनको टिप्पणी थियो । 'म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,' उनले भने ।

आइतबार संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जसमा वृद्धभत्ता लिनेको दायरा वृद्धि गर्दै ७० वर्षबाट घटाएर ६८ वर्षलाई वृद्धभत्ताका लागि पर्याप्त उमेर तय गरिएको छ।

प्रकाशित : जेष्ठ १५, २०७९ १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×