३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

'नेपालमै केही गर्छु भनेर फर्किएँ, फेरि ऋण लागेपछि विदेसिनुको विकल्प भएन'

अरुणा लामा मगर

काठमाडौँ — म वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएकी हुँ । ऋण लागेपछि विदेश जानुपर्ने बाध्यता आइलाग्यो । मैले वैधानिक रुपमा कागजात बनाएरै गएकी थिएँ । मलाई यहाँबाट जे काम भनेर लगिएको थियो, त्यहाँ गएपछि त्यसो भएन । हामीलाई स्कुल, अपार्टमेन्ट, सपिङ मलका बिल्डिङहरूमा सफाइको काम गर्ने भनेर लगिएको थियो ।

'नेपालमै केही गर्छु भनेर फर्किएँ, फेरि ऋण लागेपछि विदेसिनुको विकल्प भएन'

तर हामीलाई घर–घरमा गएर काम गर्न भनियो । उनीहरुका फ्ल्याट सफा गर्नुपर्दथ्यो । सुरुवाती दिनमा भाषाको निकै समस्या भयो । काममा पनि भनेजति तलब दिएनन् । के–के वहानामा पैसा काटेर आउँथ्यो । उनीहरुले गाली गरेको बुझ्दाबुझ्दै पनि चुप लागेर बस्नुको विकल्प थिएन ।

यहाँ हुँदा जाबो क्लिनिङको काम त हो नि, आइहाल्छ भन्ने लागेको थियो । मैले मात्र होइन धेरै दिदीबहिनीहरूले काम सजिलै हुन्छ भन्ने सोचेर गएका थिए । तर क्लिनिङ पनि सजिलो हुँदैन रैछ । नेपालमा चार हातखुट्टा टेक्दै पोछा लगाएर सफा गरेजस्तो हुँदैन रहेछ । त्यहाँ सफा गर्नका लागि छुट्टाछुट्टै केमिकल, उपकरण हुने रहेछ । कुन केमिकलले के सामान सफा गर्ने भन्ने नै थाहा नहुने, कसरी सुरक्षित भएर, सेफ्टी लगाएर काम गर्ने भन्ने पनि थाहा नहुने । टायल सफा गर्ने केमिकललाई चलाउँदा–चलाउँदै हातमा प्वाल पथ्र्यो । तर ती पीडा त्यहाँ कसले हेर्ने, कसले सुन्ने ?

विदेश आइसकेपछि जति गाह्रो भएपनि काम गर्ने भनेर बसियो । निकै दु:ख गरेर काम गर्दा पनि सुपरभाइजर/घर मालिकले गाली गर्थे । उतैका मान्छेले नेपालमा आएर हामीसँग अन्तरवार्ता पनि गरेका थिए । अन्तरवार्ताका बेला काम गर्ने स्थल एअरपोर्ट, स्कुल हो, सजिलो हुन्छ भनियो । तर त्यहाँ गएपछि थाहा भयो कि अर्कैको घर पो रहेछ । हामीले आवाज पनि उठायौं, सुनिएन । काम गर्ने भए गर्, नत्र निकाल्छौं भन्थे, टर्चर दिन्थे । अर्काको देशमा भएपछि डर त हुने नै भयो । हामी धेरै दिदीबहिनीहरु एकजुट पनि भयौं तर केही पार लागेन ।

नेपाल आएपछि यहीं केही गर्छु भन्ने सोचेकी थिएँ । बैंकले विदेशबाट फर्किएकालाई बिनाधितो पैसा दिन्छ भन्ने सुनेकी थिएँ । तर त्यस्तो भएन । ऋण दिएनन्, कोटा सकियो भने । यस्तो मलाई मात्रै होइन विदेशबाट फर्किएका सबै दिदीबहिनी, दाजुभाइहरूले समस्या भोगेका छन् । नेपाल आएपछि विदेशमा कमाएको पैसा सकियो, फेरि ऋण लाग्यो । त्यही ऋण तिर्न भए पनि फेरि विदेश जानैपर्ने भयो । नेपालमा केही गर्न पाए पो, केही गर्न दिए पो गर्ने ? नपाएपछि फेरि विदेश जानुको विकल्प भएन ।

तोकिएभन्दा ४/५ घण्टासम्म थप काम गर्नुपर्थ्यो । यद्यपी विदेशमा केही जानेर, सीप सिकेर नेपाल फर्किएँ । तर मैले लिएको ट्रेनिङ नेपालमा काम लागेन । मैले यहाँ नै काम गर्छु भन्दा जागिर पाइनँ । मैले यहाँ गुजारा गर्नकै लागि आफैं काम सुरु पनि गरेँ । तर मेरो अहिलेको आर्थिक अवस्थाले अझै पनि विदेश नै जानुपर्छ भन्ने बनाइदिएको छ । कतै नेपाल फर्किएर गल्ती पो गरेँ कि भन्ने पनि लाग्छ ।

(आप्रबासी श्रमिक लामाले 'कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१' मा राखेको विचारको सम्पादित अंश)


प्रकाशित : पुस १८, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?