कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

वैदेशिक रोजगारीः अवसर व्यवस्थापनमा चुक्दा चुनौतीका चङ्गुल 

काठमाडौँ — नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका खेलेपनि यस क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा समस्या र चुनौतीहरु बढ्दै गएको सरोकावालाहरुले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर आइएमई माइग्रेसन एन्ड रेमिट समिट २०२१’ का वक्ताहरुले वैदेशिक रोजगारीले अर्थतन्त्रमा राम्रो योगदान गरेपनि यसका खराब पक्षको मिहीन विश्लेषण गरिनुपर्ने धारणा राखेका हुन् ।

वैदेशिक रोजगारीः अवसर व्यवस्थापनमा चुक्दा चुनौतीका चङ्गुल 

अहिले देखिएका समस्या समाधानका लागि पहल नगरे यसले गम्भीर संकटको बाटो तय गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । बिचौलिया म्यानपावरहरुको ठगीधन्दा, न्यून ज्यालादर, श्रम शोषण, अवैध र असुरक्षित रोजगारीजस्ता समस्या बढ्दै गएकोले सरकार तथा सम्बन्धित पक्षले तत्काल कुनै कदम नचाले यसले गम्भीर समस्या निम्ताउने उनीहरुको भनाइ छ ।

समिटको उद्घाटन सत्रमा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको अवस्था कहालीलाग्दो रहेको बताए । विभिन्न देशहरुले आप्रबासी कामदारले पठाएको रकमले आर्थिक समृद्धि हासिल गरेको दृष्टान्त दिँदै मन्त्री खड्काले नेपाल भने त्यसमा चुकेको बताए । ‘वैदेशिक रोजगारीमा गएका कामदारहरुको अवस्था बुझ्दा रोदनको अवस्था सिर्जना हुन्छ । समस्यामा परेका कामदारहरुले दूतावास र नियोगहरु भरिएका छन् । विदेशमा समस्यामा परेको भनेर दैनिक मन्त्रालयमा निवेदन आउँछन्,’ उनले भने ।

यद्यपि, यी समस्या समाधानका लागि सरकारले केही पहल गरिरहेको पनि उनले बताए । ‘रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन सरकारले पहल गरेको छ । दक्ष र सीपयुक्त कामदारलाई मात्रै विदेश पठाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको छ । सँगै, विदेशमा समस्यामा परेका कामदार उद्दारको कामलाई पनि हामीले बढी जोड दिएका छौं ।’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वैदेशिक रोजगारी र रेमिट्यान्सका कारण अनौपचारिक क्षेत्र बढी फस्टाएको बताए । त्यस्तै, अवैध र अनौपचारिक क्षेत्रबाट आउने रेमिट्यान्सका कारण कर प्रणालीमा खल्बलिन सक्ने बताए । ‘अनौपचारिक तरिकाले पठाइने रेमिट्यान्सबाट क्षणिक लाभ त होला । तर यसले हानी धेरै हुन्छ । यसबारे हामी धेरैले सोचेका छैनौं,’ गभर्नर अधिकारीले भने । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अनौपचारिक तरिकाले रेमिट्यान्स भित्रिँदा अर्थतन्त्रमा त्यसको वास्तविक प्रतिनिधित्व हुन नसक्ने बताए ।

श्रमविज्ञ गणेश गुरुङले नेपालले वैदेशिक कामदार पठाउनका लागि नयाँ श्रम गन्तब्यहरु खोज्नुपर्ने बेला आएको बताए । न्युन ज्याला भएका मुलुकमा रोजगारीका लागि जाँदा थोरै रकममा निकै असुरक्षित तरिकाले काम गर्नु परेको उनको भनाइ छ ।

‘हाम्रा श्रमिकको ब्रान्ड राम्रो छ । तर हामीले त्यसको उचित प्रयोग गर्न सकेनौं । अहिले सबैभन्दा कम तलब भएका भारत, मलेसियालगायतका देशमा हामीले श्रमशक्ति पठाउनु परेको छ,’ गुरुङले भने ।

प्रकाशित : पुस १४, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्व अनुमतिबिना प्रहरीलाई राजनीतिकलगायत विभिन्न शक्तिकेन्द्रसँग व्यक्तिगत भेटघाट गर्न रोक लगाइएकोबारे तपाईंको धारणा के छ ?

x
×