रोपाइँको मुखमा मल हाहाकार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोपाइँको मुखमा मल हाहाकार

भारतबाट अवैध रुपमा दोधारा चाँदनीसम्म पुगेको मल प्रहरीले ल्याउन दिएन
मोहन बुढाऐर, भवानी भट्ट

कञ्चनपुर/धनगढी — सामाजिक सञ्जाल फेसबुकमा शनिबार एउटा तस्बिर निकै भाइरल बन्यो । कञ्चनपुरको दोधारा चाँदनीबाट महिलाहरूले टाउकोमा राखेर सानो परिमाणमा ल्याउँदै गरेको मल बरामद गरेपछि धेरैले प्रहरीको बहादुरी भन्दै उक्त तस्बिर पोस्ट गरे । कतिपयले स्वदेशमै मल आपूर्ति गर्न नसक्ने र भारतबाट अवैध रूपमा भित्रिएको मल पनि ल्याउन नदिने भन्दै आक्रोशसमेत पोखे ।

कञ्चनपुरको महाकालीपारि दोधारा चाँदनी क्षेत्रबाट मल ल्याउँदै गरेका महिला । तस्बिर : फेसबुकबाट साभार

मनसुनको सुरुवातसँंगै पश्चिम तराईका किसान रोपाइँको तयारीमा छन् । बीउदेखि खेत सबै तयार गरे पनि रासायनिक मल अभावले उनीहरू चिन्तित छन् । नेपालमै सहज तरिकाले मल नपाइने र निषेधाज्ञा र नाका बन्द भएका कारण भारतबाट पनि ल्याउन नसकेका कारण किसान चिन्तित बनेका हुन् । भारतबाट अवैध रूपमा दोधारा चाँदनीसम्म पुगेको मलसमेत प्रहरीले ल्याउन नदिएपछि झनै समस्या भएको छ ।

धान रोप्नुअघि प्रयोग गर्ने डीएपी मल भने किसानले पाउन सकेका छैनन् । यो वर्ष मनसुन छिटो भएकाले रोपाइँ पनि सुरु भइसकेको कैलालीको गदरियाका परशु चौधरीले बताए । ‘धान रोप्नुअघि डीएपी मल छर्न पाएनौं,’ उनले भने, ‘पानी पर्ने बेला धान रोप्नुपर्ने भएकाले मल बिना रोपाइँ भयो ।’ घोडाघोडी निम्दीका कमल बमले मलबिना धान रोप्नुपर्ने अवस्था आएको बताए । ‘स्थानीय सहकारीमा मलका लागि दिनदिनै धाउनुपरेको छ,’ उनले भने, ‘सहकारी सस्थामा थोरै मल आइपुग्छ हारालुछ भएर एकैछिनमा सकिन्छ ।’ मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडका प्रदेश कार्यालय प्रमुख नवलसिंह बोगटीले निषेधाज्ञामा बैंकहरू बन्द भएकाले गोदाममा भएको मल पनि सहकारी संस्थालाई दिन नसकिएको जानकारी दिए । ‘एक साता भयो, स्थानीय प्रशासनले दिनमा दुई घण्टा मात्र बैंक खोल्ने अनुमति दिएको छ,’ उनले भने, ‘बैंक खुलेपछि हामीले पनि सहकारीलाई मल लिन बोलाएका छौं, कसले पायो, कसले पाएन थाहा छैन । मल वितरण जारी छ ।’

मागअनुसारको मल एकैपटक नआउने भएकाले पनि किसानलाई मलको अभाव खट्किने गरेको उनले बताए । भारतबाट चोरीको अवैध मल पनि अहिले किसानले महँगोमा किन्नुपरेको हसुलियाका वीरभान चौधरीको भनाइ छ । सीमा सुरक्षामा रहेका नेपाली र भारतीय सुरक्षाकर्मीले तस्करबाट बढी पैसा असुल्दा किसानलाई त्यसको भार परेको उनी बताउँछन् ।

कञ्चनपुरमा रासायनिक मलको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी दुवैका गोदाम लगभग रित्ता छन् । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा अहिले सय टन डीएपी र २० टन युरिया मात्रै छ । ‘सहकारी मल खोज्दै आउँछन्, हामीले पर्याप्त मात्रामा दिन सकेका छैनौं,’ कृषि सामग्री लिमिटेडको महेन्द्रनगर कार्यालय प्रमुख बलबहादुर शाहले भने, ‘भैरहवामा प्रशस्त मल छ भन्छन्, तर यहाँ आउँदैन ।’ लिमिटेडसंँग मल बिक्रीका लागि ११४ सहकारी आबद्ध रहेको उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनीले १५ सय टन युरिया र २ हजार टन डीएपी बेचिसकेको छ । यतिले मात्रै पर्याप्त नहुने शाहले बताए । मल आपूर्तिका लागि गत वर्षदेखि जिल्लाका सबै स्थानीय तहलाई कोटा निर्धारण गरिएको छ । स्थानीय तहमा खेतीपाती हुने क्षेत्रफलका आधारमा यहाँ आएको मलमध्ये १० देखि १३ प्रतिशतसम्म आपूर्ति गर्नुपर्ने उनको भनाइ छ । कञ्चनपुरमा मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङको गोदाम पनि रित्तो छ । भएको अलिअलि मल बिक्री भएपछि गोदाम रित्तो भएको हो । ‘अब असार दोस्रो सातापछि मात्रै मल आउने भन्ने छ,’ साल्ट ट्रेडिङ महेन्द्रनगरका प्रमुख दीपक भट्टले भने ।

मल आपूर्ति गर्ने दुवै संस्थाका गोदाम रित्ता भए पनि महेन्द्रनगर बजार तथा ग्रामीण भेगमा समेत अवैध मल भने छ्यापछ्याप्ती भेटिएको छ । दुई साताअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको संयुक्त अनुगमनका क्रममा महेन्द्रनगरको तिरुपति बालाजीको गोदाममा ठूलो परिमाणमा अवैध मल भेटिएपछि गोदाम सिल गरिएको थियो ।

प्रकाशित : असार १, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

युरो कपकै लामो दूरीको गोल

एएफपी

ग्लास्गो — प्याट्रिक सिकले गरेको अविश्वसनीय गोलमा चेक गणतन्त्रले युरोपियन च्याम्पियनसिप फुटबलमा सोमबार स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ । २३ वर्षपछि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको स्कटल्यान्डले राम्रो अवसर बनाए पनि घरेलु मैदानको फाइदा उठाउन सकेन । 

तस्बिर : रोयटर्स

ग्लास्गोको ह्याम्पडेन पार्कमा ९ हजार दर्शकमाझ भ्लादिमिर कौफलको क्रसमा सिकले हेड गोल गरी चेकलाई ४२ औं मिनेटमा अग्रता दिलाए । मध्यान्तरपछि सातौं मिनेटमा युरोकै उत्कृष्टमध्येको एक गोल गरे । स्कटल्यान्डका गोलरक्षक डेविड मार्सल अगाडि बढेको मौकामा सिकले मध्यभागबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएका अनुसार युरोमा सिकको गोल सबैभन्दा लामो दूरीबाट सम्भव भएको गोल हो । सिकले गरेको गोलको दूरी ४९.७ मिटर मापन गरिएको थियो । जर्मन मिडफिल्डर टोर्स्टेन फ्रिंग्सले युरो २००४ मा सबैभन्दा लामो ३८.६ मिटर दूरीबाट गोल गरेका थिए । ‘यस्तो गोल गर्नु परीको कथाजस्तै हो,’ चेक मिडफिल्डर टोमस सुसेकले भने, ‘उनले जसरी प्रहार गरे त्यो दर्शनीय थियो ।’

सन् १९९८ को विश्वकपपछि पहिलो पटक प्रमुख प्रतियोगिता खेलिरहेका स्कटल्यान्डबाट कप्तान एन्डी रोबर्टसनले पहिलो हाफमा राम्रो प्रहार गरे, तर उनको प्रहार चेक गोलरक्षक टोमस भालिचले जोगाए । अन्य अवसरमा विपक्षी गोलपोस्टमा आक्रामक अवसर बनाए पनि स्कटल्यान्डले खासै गतिलो प्रहार गर्न सकेन । खेल सुरु हुनुअघि किइरन टिर्ने घाइते भएपछि स्कटल्यान्डले चोट बेहोरिइसकेको थियो ।

प्रकाशित : असार १, २०७८ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×