एक लाख जनाले छाडे उपत्यका

चैत्र ७, २०७६

विमल खतिवडा, नुमा थाम्सुहाङ

काठमाडौँ — कोभिड–१९ को संक्रमण भित्रिने हो कि भन्ने डरले पछिल्लो समय काठमाडौं उपत्यकाबाट घरतर्फ जानेहरू बढेका छन् । काठमाडौंका नयाँ बसपार्क, कोटेश्वर, कलंकी र सुन्धारालगायत काउन्टरमा टिकट काट्ने यात्रुको भीड छ । पछिल्लो दुई दिनयता टिकट काट्ने यात्रुको संख्या ह्वात्तै बढेको यातायात व्यवसायी बताउँछन् । 

केही यात्रुले टिकट नपाएको गुनासोसमेत गरेका छन् । केहीले भने दुई–तीन दिनपछिको भए पनि टिकट लिइरहेका छन् । अर्घाखाँचीका विपिन केसी शुक्रबार घर जाने भनेर सुन्धारामा टिकट लिन आएका थिए । दुई दिनसम्म गाडी खाली नपाएपछि उनले आइतबारको टिकट लिए ।


‘सकेसम्म चाँडो घर जान मन थियो । भनेको समयमा टिकट पाइनँ,’ थापाथली, ब्रिटिस कलेजमा चार्टर्ड एकाउन्टेन्ट पढ्दै गरेका उनले भने, ‘कलेज बिदा छ । बानेश्वरस्थित होस्टलमा बस्छु । यहाँ संक्रमण आउने हो कि भन्ने डर हुन्छ, त्यसैले घर जाँदै छु ।’ एक महिना पढाइ नहुने भएपछि काठमाडौं बसाइभन्दा घर नै सुरक्षित भएको उनले सुनाए । 

बर्दिबासका रोक थापालाई पनि परिवारसहित घर जान हतार छ । सुन्धारामा एसके मोबाइल पसल चलाउँदै आएका उनी भन्छन्, ‘सरकारले भोलि हिँडडुल नै बन्द गरिदिए पसल नि के काम ? बच्चाको परीक्षा सकियो । तीन–चार दिनमा घर फर्किन्छौं ।’ 


सरकारले चैत मसान्तसम्म विद्यालय तथा विश्वविद्यालयका सबै पठनपाठन तथा परीक्षा स्थगन गर्ने निर्णय गरेपछि टिकट काट्न यात्रुको भीड बढेको व्यवसायी बताउँछन् । पश्चिमतर्फ जाने गाडी शुक्रबार र शनिबारसम्मलाई सबै भरिएको सुन्धारास्थित पश्चिमाञ्चल बस व्यवसायीकी सञ्चालक दीपा रोकाले जानकारी दिइन् । ‘हामीले ५/६ वटा माइक्रोका लागि टिकट काट्छौं । बिहीबार बिहान सबै प्याक भएर गए,’ उनले भनिन्, ‘दुई दिन अघिसम्म यात्रु थिएनन्, अहिले सिट छैन भन्नुपर्छ ।’ सुन्धाराकै रनवे ट्राभल्स एन्ड टुर्सका सञ्चालक मन्दीप श्रेष्ठ पनि बस तथा हवाई टिकट काट्ने यात्रुको संख्या ३० प्रतिशत बढेको बताउँछन् ।


आन्तरिक उडानका ६/७ वटा हवाई कम्पनीका टिकट बिक्री गरिरहेका उनले बुधबार १० जनाको टिकट बेचेको जानकारी दिए । ‘हिजोभन्दा आज आन्तरिक उडानको टिकट काट्ने यात्रु बढेका छन् । अन्तर्राष्ट्रिय उडान भने बन्द छ,’ उनले भने, ‘२/३ दिन अघिसम्म यात्रु नपाएर टिकटको मूल्यभन्दा आधा घटाएर बिक्री गर्‍यौं । अहिले भने यात्रुलाई टिकट दिन समस्या छ ।’ 


भेरी बागेश्वरी यातायातका सञ्चालक हेमराज पौडेलले पनि टिकट काट्नेको यात्रुको चहलपहल बढेको बताउँछन् । काठमाडौंमा उपत्यकाबाहिरका मानिसको बसोबास धेरै छ । त्यसैले दसैंतिहारका बेला घर जाने यात्रु धेरै हुन्थे । तर कोभिड–१९ संक्रमणयता पनि फैलिने हो कि भन्ने डरले सुरक्षाका लागि घर जानेहरू बढेका हुन् । 


छैनन् हेल्थ डेस्क


कोभिड–१९ को संक्रमण र यसबाट जोगाउन बसपार्क तथा टिकट काउन्टरमा कुनै हेल्थ/हेल्प डेस्क राखिएका छैनन् । मानिसको बढी जमघट हुने स्थल बसपार्क तथा टिकट काउन्टरमा भीड मात्र बढेको छ । त्यहाँ सुरक्षाका कुनै उपाय अपनाइएको छैन । टिकट काउन्टरमा टिकट काट्न आएका यात्रु तथा यातायात व्यवसायीले भाइरस र यसबाट बच्न आवश्यक सूचना बोर्डसमेत नराखिएको गुनासो गरेका छन् । बसपार्क, कलंकी र कोटेश्वरमा बिहीबार यात्रुको भीड बढी रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 


आफूहरूले पटकपटक हेल्थ डेस्क राख्न माग गरे पनि सुनुवाइ नभएको यातायात व्यवसायीको गुनासो छ । ‘सार्वजनिक यातायातमा सबैभन्दा बढी स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ, तर त्यसो भएको छैन,’ उनले भने । यात्रुलाई स्वास्थ्यसम्बन्धी उपाय अपनाएर गाडी चढ्न आग्रह गर्ने गरिएको उनको भनाइ छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकाल काठमाडौं भित्रिने र बाहिरिने यात्रुको संख्या बराबर जस्तै रहेको बताउँछन् । उनका अनुसार बुधबार काठमाडौंबाट बाहिरिने गाडीको संख्या १७ हजार ५ सय २४ र भित्रिनेको संख्या १६ हजार २ थियो । बिहीबार साँझसम्म १६ हजार ८ सय २४ यात्रुवाहक सवारी उपत्यकाबाट बाहिरिएका छन् ।


यही दिन उपत्यका भित्रिने सवारीको संख्या भने १३ हजार ४ सय ५२ रह्यो । बिहीबार मात्र ८९ हजार ८ सय ४ यात्रु बाहिरिएका छन् । ५६ हजार ९ सय २५ यात्रु भित्रिएको ढकालले जानकारी दिए । 


यता यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले उपत्यकाबाट कति यात्रु बाहिरिए भन्नेबारे आफूसँग तथ्यांक नभएको बताए । ‘एक महिनासम्म देशभरका लागि रुट परमिट खुला गरिसकेका छौं,’ उनले भने । स्वास्थ्य विभागले भने एक–दुई दिनभित्रमा यात्रु आउजाउ गर्ने नाकामा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully