काठमाडौंदेखि बर्लिनसम्म: विश्वप्रतिष्ठित फिल्म महोत्सव बर्लिनालेको त्यो अनुभव

यो वर्ष बर्लिनाले ट्यालेन्टमा नेपालबाट ४ प्रतिभा सहभागी थिए । नेपालबाट पहिलो पटक समीक्षकका रुपमा बर्लिनाले ट्यालेन्टमा सहभागी भइरहँदा थुप्रै नयाँ अनुभव, ज्ञान र सिकाइ बटुलेँ ।

चैत्र ९, २०८२

रीना मोक्तान

From Kathmandu to Berlin: The experience of the world-renowned Berlinale film festival

What you should know

काठमाडौँ — बररर तालीको आवाज । एक हुल मानिसलाई हेर्दा लाग्छ, उनीहरु ताली बजाउनकै लागि खटाइएका हुन् । क्यामेरा पर्सनको ठिक पछाडि यसरी उभिएका छन् कि रातो कार्पेटमा कसैले पाइला राख्नासाथ यो समूह चलमलाइहाल्छ, अनि विजयत्सवझैँ ताली बजाउँदै बुरुक्क उफ्रिन्छ । यो दृश्य देखेर सँगसँगै हिँड्दै गरेको ची(साउथ अफ्रिकाका समीक्षक)ले सोधे– 'के सबैलाई उनीहरु यसरी नै स्वागत गर्दैछन् ?'

बल्ल आँखा त्यता पुग्यो, अप्ठ्यारो पनि लाग्यो । चञ्चले स्वभावका ची जवाफ नसुनी रेड कार्पेट कुदिहाले, एक-दुई पोजमा फोटो खिचाए । चीलाई पछ्याउँदै बर्लिनाले ट्यालेन्ट लेखिएको ब्यानरअगाडि पुगेको मात्र के थिएँ, ताली बज्यो । मानौँ कि त्यो समूह विजयोल्लास मनाइरहेछ । म अकमकिँदै क्यामेरातर्फ फर्केर मुस्कुराइदिएँ । हाम्रै पछि रहेकी जानकी(कडायत)ले त खुसी हुँदै ज्याकेट खोलिन्, सुन्दर पहिरनमा तस्बिर खिचाइन् । कस्ट्युम डिजाइनरले आफूले डिजाइन गरेको पहिरन देखाउने यो भन्दा उत्तम मौका कहाँ पाउनु !

‘बर्लिनाले ट्यालेन्ट’को विशेष कार्यक्रम ‘डाइन एण्ड साइन’को यो स्वागत भव्य थियो । जीवनमा पहिलो पटक ‘सेलिब्रेटेड’ महसुस गरेँ, तर सेलिब्रिटीचाहिँ हैन है ! मेरो उपस्थितिमा जसरी हर्षोल्लाससहित स्वागत गरियो, लाग्यो– यो त साँच्चै मेरो ठाउँ हो । मनमनै ठानिरहेँ कि उनीहरुले बर्लिनालेसम्मको मेरो यात्रा, फिल्म पत्रकारितामा बिताएको समय र समीक्षाप्रतिको चासो र रुचिलाई बुझेँ । काठमाडौंको कुनै कुनामा काम गरिरहेकी मलाई देखे, मेरो कामको महत्त्व बुझे, त्यसैले त यसरी म हुनुको उत्सव मनाए । पत्रकारितामा कम प्रतिनिधित्व हुने क्षेत्र(फिल्म)लाई बिट बनाएर काम गरिरहेकी सीमान्तकृत महिलाका लागि कहिलेकाहीँ यस किसिमको मान्यता बेग्लै ऊर्जा बनिदिँदो रहेछ । 

‘डाइन एण्ड साइन’ मात्रै होइन, विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिनाले अन्तर्गतको ‘ट्यालेन्ट प्रेस’का रुपमा छनोट हुँदादेखि नै मैले आफ्नो उपस्थिति, फिल्म पत्रकारिताप्रतिको रुचि ‘भ्यालिडियट’ भएको अनुभव गरेकी थिएँ । जब पहिलो पटक मेन्टर लियो (गोइ)ले ह्वाटसापमा फोन गर्दै ‘यो फ्रेबुअरीमा रीना कत्तिको बिजी हो ?’ भनेर नोभेम्बेरको अन्तिम महिनातिर सोधे । त्यतिबेला उत्सुकता, अनि डरै-डरमा भनिदिएँ– खाली नै छु । ‘त्यसो भए तपाईंलाई म बर्लिनाले ट्यालेन्टका रुपमा सहभागी हुन यहीँबाट निमन्त्रणा दिन चाहन्छु,’ लियोले यसरी ट्यालेन्टका रुपमा छानिएको खबर दिएसँगै विश्व फिल्म समुदायसँग जोडिएको अनुभव सम्झँदा अहिले पनि गद्‌गद् हुन्छु । 

नेपालबाट पहिलो पटक समीक्षकका रुपमा बर्लिनाले ट्यालेन्टमा सहभागी भइरहँदा थुप्रै नयाँ अनुभव, ज्ञान र सिकाइ बटुलेँ । आउनुस्, सुरुबाटै सुरु गरौं ।

काठमाडौं टु बर्लिन

काठमाडौंबाट कतार इयरलाइन्सले दोहाको उडान भर्दा हामी निकै उत्साहित थियौँ । साथमा थिइन्, जानकी कडायत । कस्ट्युम डिजाइनमा नेपालबाट पहिलो पटक प्रतिनिधित्व गर्ने महिला । निर्देशनतर्फ छनोट भएका ङिमा गेलु शेर्पा अघिल्लो दिन नै उडिसकेका थिए । निर्माता रामकृष्ण पोख्रेल केही दिनपछि मात्रै आउने तय थियो । संसारबाट छानिएका २ सय ट्यालेन्ट्समा नेपालबाट हामी ४ छनोट भएका थियौं, त्यो पनि ३४ सय आवेदकबीच । बर्लिनाले ‘ट्यालेन्ट प्रेस’को कार्यक्रम एक दिन अगाडि नै हुने सूचना पाएपछि ११ फ्रेबुअरीमै जर्मनी पुग्यौँ । रातको ९/१० बजे पुगेकाले एक नेपालीको घरमा बास बस्यौँ ।

भोलिपल्ट बिहानै सिमकार्ड र मेट्रोको टिकट लिएर जानकीसँग छुट्टिएँ । छुट्टाछुट्टै ठाउँमा बस्ने भएपछि नछुट्टिनुको विकल्प थिएन । पहिलो दिन कक्षा लिन रेडियलसिस्टम पुग्नु थियो । रेडियलसिस्टम, ट्यालेन्टको मुख्य कार्यक्रम हुने  स्थल । होस्टलबाट हिँडेरै २० मिनेटमा पुगिने । तोकिएको समयभन्दा अघि पुगेँ । बर्लिनालेले छानेको २ सय जनाको ट्यालेन्टमध्यमा पनि संसारबाट छानिएका ५ जना समीक्षकलाई भेट्न आतुर थिएँ । मेन्टर लियोलाई साक्षात् देखेँ, अन्य मेन्टरलाई भेटेँ । ‘ए तपाईँचाहिँ रीना ?’ कसैले एकद चिनेजसरी 'ह्यान्डसेक' गर्न हात बढायो । म मुस्कुराएँ ।

पछि पो थाहा भयो उनी त फिप्रेसीका अध्यक्ष एहमद स्वाकी रहेछन् । फिप्रेसी अर्थात् फिल्म समीक्षकहरुको अन्तर्राष्ट्रिय संगठन–द इन्टरनेसनल फेडरेसन अफ फिल्म क्रिटिक्स (पछि यो संस्थामा नेपालबाट समीक्षक समाजलाई  कसरी जोड्न सकिन्छ भनेर लामै छलफल गरियो । एहमदले पनि फिप्रेसीमा नयाँ देशहरुलाई जोड्न उत्साहित रहेको भन्दै आफ्नो कार्ड र जोडिने प्रक्रिया सुनाएका थिए ।)

झनै रोचक भयो समीक्षकहरूसँगको भेट । संयोग पनि कस्तो, हामी छिमेकीचाहिँ योजना गरेरै छेउमै बसेजस्तो । वेदान्त(श्रीनिवास) भारतका फ्रिलान्सर समीक्षक र प्रोगामर पनि । ची त चञ्चले, धेरै बोलिरहने युवा समीक्षक भइहाले । झट्ट हेर्दा कम उमेरका भए पनि फिल्म समीक्षा, महोत्सवमाथि बलियो पकड बनाइसकेका । सिक्न र आफूलाई अभिव्यक्त गर्न सधैँ अगाडि राख्ने । उनीसँग जोडा मिल्ने अर्का समीक्षक थिए- एन्डी । रमाइलो त एन्डीलाई कार्यक्रम सुरु हुने अगाडि रेडियलसिस्टमको भुइँतल्लामै भेटिसकेकी थिएँ । उनी, बुल्गोरियाका समीक्षक । स्वतन्त्र तरिकाले काम गर्दै आएका । भुइँतल्लामा ल्यापटप चलाउँदै थिए, उनी एन्डी नै हो भनेर ठम्याउन गाह्रै परेन । ट्यालेन्टमा आउनुअघि अनलाइन कक्षाहरूबाट हामीले एकअर्कालाई चिनिसकेका थियौँ ।

अर्को समीक्षक थिइन्, भोगमा लेख्दै आएकी तारा । अमेरिका बसेर लेख्ने क्लारासँग त अनलाइन कक्षामा लामो कुरा भएको थियो, त्यसैले भौतिक रुपले कक्षामा भेट्दा एउटा अर्कै ‘कनेक्सन’ अनुभव भयो । कुनै मिडियामा आफ्नो समीक्षा छपाउन, फिल्मको महोत्सवमा प्रवेश पाउन उनले गर्ने दौडधुप साँच्चै उदाहरणीय छ । बाँच्नका लागि अरु काम गरे पनि उनी समय निकालेर समीक्षा लेख्छन्, अनि त्यसलाई छपाउन अर्को कसरत गर्छिन् । अर्की थिइन् घानाकी एजे–एलिस जोनसोन (इएफएम बजार हामी सँगै घुम्यौं, भिडियोको असाइनमेन्ट्स पनि सँगसँगै गर्‍यौँ ) ।

From Kathmandu to Berlin: The experience of the world-renowned Berlinale film festival

अबका ६ दिन के-के सिक्ने हो, आफ्ना कुरा कसरी सुनाउने हो ? पहिलो दिनको भेटले हामीमा थुप्रै उत्साह थपिदियो । ‘तपाईँहरु सबै फिल्मकर्मी हुनुहुन्छ है, तपाईँहरुबाट सुन्न अनि सँगै सिक्न हामी आतुर छौँ, ट्यालेन्टको प्रोजेक्ट म्यानेजर निकोलाले भनेकी थिइन् । ‘फिल्मकर्मी’ भन्ने शब्दमा कति समीक्षकले आफूलाई समाहित गर्नै सकेनन् । तर, मलाईचाहिँ भेटरान फिल्मकर्मी जाँ लुक गोडार्डले फिल्म समीक्षालाई फिल्म निर्माणकै पाटोका रुपमा हेर्ने गरेको प्रसंगले सहज बनाइदियो । पहिलो दिनको कक्षाले हामीलाई अबका ६ दिन भागदौड र व्यस्त तालिकामा बित्नेछ भन्ने पक्का गराइसकेको थियो । 

रेड कार्पेटमा मीन 

रेडियल्ससिस्टम, ट्यालेन्टका लागि विशेष तरिकाले डिजाइन गरिएको नयाँ भवन थियो । त्यहाँबाट महोत्सव हुने मुख्य स्थल पोस्टड्यामर प्लाज पुग्न मेट्रोमा करिब २० मिनेट लाग्थ्यो । पहिलो दिन ९ डिग्रीको जाडोले स्वागत गरिसकेकेको थियो । ६ दिनसम्म रेडियलसिस्टम कहिले हिउँले ढाकियो, कहिले पानीले । न्यानो घाम कहिलेकाहीँ चिहाउन आइपुग्थ्यो । पहिलो दिनको कार्यक्रम सकाएर, रेडियल्सिस्टमबाट पोस्टड्यामर प्लाज पुगियो । साँझमा हुने पलास्टको रेड कार्पेट हेर्नु थियो । फेरि जानकीसँग त्यहीँ भेट्ने योजना पनि बनिसकेको थियो । उनी ट्यालेन्टको कार्ड लिन त्यता पुगिसकेकी थिइन् । त्यहाँसम्म उनी कसरी पुगिन् ? मेट्रोको झमेलामाथि रोचक कथा छ, जानकी भेट्दा सोध्नुस् है !

‘कोही आज यहाँबाट पोस्टड्यामर जाँदै हो ?’ मेन्टर लियोले पहिलो दिनको कक्षा सकिनेबित्तिकै सोधे । ‘म जानेँ,’ मैले भनेँ । अरु केही साथी पनि थपिए । हामी उबर चढेर पोस्ड्यामर पुग्यौँ, एकअर्कासँग नजिकिन र नजिकबाट चिन्न पनि सायद यत्तिको यात्रा जरुरी थियो । मेन्टर लियो र अरु साथी फिल्म हेर्न पोस्टड्यामरको बर्लिनाले पालस्टतर्फ लम्किए । मचाहिँ पोस्ड्यामर प्लाज नजिकैको सर्भिस सेन्टरमा पुगेँ । जानकी त्यहीँ थिइन्, भारतबाट आएका एडिटर किस्लेसँग त्यही चिनाजान भयो । बर्लिनालेको कार्ड लिएँ । 'तिमी नेपालबाट रीना हो' ? कार्ड दिने काउन्टरको छेउमा उभिएकी लिराले सोधिन् । महिनौँदेखि बर्लिनालेका विभिन्न कार्यहरुले इमेलमा जोडिएका नामहरूलाई यसरी साक्षात् भेट्दाको अनुभव बेग्लै भयो । नजिककै कोही भेटेजस्तो । कार्ड लिएर तुफान पलास्ट पुगियो । टाढैबाट देखिने रेड कार्पेटको त्यो दृश्य मोहक थियो । प्रकाश, मानिसहरूको ठेलमठेल र चर्को आवाज । त्यसमाथि चिसो मौसम ! 

फोटो-भिडियो खिच्नेहरू पलास्टमा बिछ्याइएको रेड कार्पेटका छेउछेउ उभिएका थिए । प्रेस क्षेत्रमा अन्य ट्यालेन्ट जान नमिल्ने, जानकी दर्शकभएतिर उभिइन् । म भित्र गए । कस्तो संयोग- पुगेको २ मिनेटमै महोत्सवको आकर्षण रहेकी मिसेल यो सेतो पहिरनमा आइपुगिन् । क्यामेरा उनीतिरै तेर्सिए । सबैले आवाज दिए– मिसेल-मिसेल ! महोत्सव निर्देशक ट्रिसा टटलले सबै सहभागी स्टारलाई यही रेड कार्पेटमा उभिएर स्वागत गर्दै थिइन् । ट्रिसासँग आँखा जुध्यो  । अनि झल्याँस्स भएँ, उनलाई दिन भनेर नेपालबाट बोकी लगेको काठमाडौं पोस्टमा छापिएको उनकै अन्तर्वार्ता त होस्टलमै छुटेछ । अर्को भेटमा दिने प्रण गर्दै थिएँ, रेड कार्पेटमा हिँड्ने अर्को समूहले ध्यान तानिहाल्यो । कम्मर हल्लाउँदै, होचो-होचो कदका मानिस अन्तर्राष्ट्रिय जुरी विम विन्डरसँग त्यहीँ आइपुगे । नेपालीले चिन्ने अनुहार ! फ्यानहरुलाई अटोग्राफ दिँदै पलास्टको प्रमुख गेटतिर लम्किरहेका उनी थिए, मीनबहादुर भाम । गत वर्ष यही कार्पेटमा निर्देशक बोङ जून होदेखि रोबर्ट प्याटिन्सन अनि टिमोथी स्यालमेटलाई हिँड्दै गरेको देखेकीँ थिएँ । क्रिस्टन स्टुवार्ट, एन हाथवे, टिल्डा स्विन्टन, इथन हक, डुवा लिपा, काइली जेनर, रोज ब्रायनलगायत थुप्रै प्रसिद्ध सेलेब्रेटी हिँडेको यही कार्पेटमा नेपाली फिल्मकर्मी जो जुरीका रुपमा हिँड्दै थिए, उनको हिँडाइले विश्वका क्यामेरा मात्रै आकर्षित गराइरहेको थिएन । विश्व फिल्मको ध्यान पनि आफूतर्फ तानिरहेका थिए, मीन । यो भीडमा कोही विम भन्दै कराउँदै थिए, कोही के ? मैले पनि चिच्याइदिएँ- मीन दाइ ! बर्लिनालेको ७६ औं संस्करणको अन्तर्राष्ट्रिय विधातर्फको जुरीका रुपमा छनोट मीनको उपस्थिति, आफ्नो इतिहासभन्दा लामो महोत्सवमा नेपाली फिल्म क्षेत्रकै उपस्थिति पनि हो । 

From Kathmandu to Berlin: The experience of the world-renowned Berlinale film festival

बर्लिनाले ट्यालेन्टमा बटुलेको यस्तै अनुभव, त्यहाँ जोडिएका सम्बन्धहरूबारे बेलिबिस्तार लगाउन त थुप्रै शब्द सिञ्चिनुपर्छ । त्यहाँ एकअर्काको अनभुव र उपस्थितिबीच हुने कुराकानी नै नयाँ सिकाइ बनिदिन्थ्यो । अमेरिकामा बसेर क्लाराले भोगिरहेको संघर्ष, नेपालमा मैले सहेका समस्यासँग समानुभूत हुन्थ्यो । अब ती संघर्षलाई कसरी हटाउन सकिएला ? 'ट्यालेन्ट प्रेस' समूह छलफल गरिहाल्थ्यो । यसरी रेडियलसिस्टमका विभिन्न कोठामा हामीले ६ दिनसम्म कहिले समीक्षा लेखनमाथि घण्टौँ घोत्लियौं त कहिले भिडियो निबन्धमाथि भिडियो बनाइरह्यौँ । कहिले फिल्ममा हुने साउन्ड डिजाइनका कक्षामा अन्तर्क्रिया गर्‍यौँ । त कहिले हाम्रै लागि डिजाइन गरिएका विभिन्न 'नेटवर्किङ'मा सहभागी भयौँ । जे होस्, बर्लिनमा गुड्ने मेट्रोको गतिमै रेडियलसिस्टमको कार्यक्रम सूचीअनुसार दौडिरहन्थ्यौं । एउटा कोठा छिर्दा क्यामेराको कक्षामा सहभागी हुन पाइन्थ्यो, अर्कोतिर युद्धभूमिका कथा कसरी भन्ने छलफल चलिरहन्थ्यो । नेटवर्किङ कार्यक्रममा त कहिले को भेटिने कहिले को ? बायाँ फर्कियो भियतनाममा बसेर फिल्म बनाउँदै गरेको निर्देशक । दायाँ फर्कियो - क्यानाडाको कुनै चिसो सहरमा बसेर फिल्म सम्पादन गर्ने सम्पादक । कहिले ब्राजिलको साथी भेटिने त कहिले जर्मनीमै बसेर फिल्म बनाइरहेकाहरूसँग ठोकिइने । फिल्मले एकै ठाउँ ल्याइपुर्‍याएको यो सयौँ भीडबीच आफ्नो रुचि र कार्य मिल्नेहरू पहिल्याउनु, नयाँ सम्बन्ध स्थापना गर्दै उनीहरूसँग जोडिरहनुको पनि खास अनुभव बर्लिनालेले दिलायो । त्यही भीडमा पनि कसैले 'अविनाशको फिल्म कहाँ पुग्यो ?', 'फलानो फिल्मकर्मी पनि तिम्रै देशको है' भनेर सोध्दा त्यसले विश्व बजारमा नेपाली फिल्मकर्मीको उपस्थिति कता पुग्दैछ भन्ने संकेत दिइरहन्थ्यो । एउटै कोठामा सय जना भेला गराएर कसैले 'ल तपाईंहरू मस्तले कुरा गर्नुस्, खानेकुरा चाहिए छेउमै छ' भनिदिए । उक्त कोठाको आवाज कस्तो सुनिन्छ होला ?  नेटवर्किङ कार्यक्रम 'कन्फ्युजिङ' सुनिन्थ्यो । हाम्रो यसपालिको थिमजस्तै - क्रियटिङ कन्फ्युजन ! 

भावुक बनाउने क्षण पनि थिए । एक दिन अर्को ब्याच लिन काउन्टर पुगेँ । आश्चर्य हुँदै एक किशोरीले भनिन्, ‘ओह्हो तिमी त्यही रीना होइन ? निवेदन पठाउँदाको समयमा कान्तिपुरको युट्युबमा समस्या आएपछि तिम्रो भिडियो हराएको थियो नि ?’ त्यतिबेला आफूले नै ट्यालेन्ट समूहमा उक्त समस्याबारे सुनाइदिएको बताउँदै उनले भनिन्, ‘तिमी छानियोस् भन्ने मेरो ठूलो चाहना थियो, हेर त आज भेट्न पनि पाइयो ।’ जेन-जी उमेरकी ती किशोरीसँगको भेटले निकै भावुक बनायो । मेन्टर डानाले पनि एउटा कक्षामा भावुक बनाइन्, ‘तपाईंहरुलाई यसरी भेट्नु वास्तवमै भावुक बनाउने समय हो । कारण, हामी महिनौँसम्म हजारौँ निवेदन पढेर तपाईँहरूलाई छान्छौँ, निवेदनबाटै तपाईंहरुलाई चिनिसकेका हुन्छौँ । साक्षात् भेट्दा त आँखै रसाउने !'

ट्यालेन्ट प्रेसका असाइनमेन्ट्स, अनिवार्य उपस्थित हुनैपर्ने त्यस्ता केही कार्यक्रमले ६ दिनसम्म निकै व्यस्त बनायो । कहिले त एउटै भवनमा रहेका नेपालीहरूको अनुहार दख्न पनि हम्मेहम्मे पर्ने । ट्यालेन्ट हुँदा यो पटक पत्रकारका कति भूमिका पनि हातबाट छुट्यो । जस्तै, हायतभित्र हुने पत्रकार सम्मेलनमा आँखैसामु विश्व चर्चित कलाकारलाई भेट्ने, प्रश्न गर्ने अनि उनीहरूका कामबारे प्रत्यक्ष सुन्ने अवसर गुम्यो । साँघुरो समयबीच पनि फिल्म हेर्नै पर्‍यो । ‘जति सकिन्छ त्यति फिल्म हेर्नु,’ मेन्टर लियोले पहिलो कक्षामै भनेका थिए । फिल्म त हेर्नै पर्‍यो । ७ वटा फिल्म यही भागदौडबीच हेरेँ- पोस्टड्यामर प्लाज र सिनेम्याक्समा । नयाँ हल धाउने त न समय, न जाँगर । पोस्टड्यामरको छेवैमा रहेको सिनेम्याक्समा २ वटा प्रेस सो हेरेँ । पलास्टको हलमा यो पटक मैले विभिन्न तहको दर्शकदीर्घाबाट फिल्म हेरेँ ।'कुर्तुलुस' हेर्दा त सबैभन्दा माथि थिएँ, पर्दाभन्दा पनि माथि । फिल्म हेर्दा त तल झुकेर पर्दा हेरेझैँ हुन्थ्यो । ‘हामीकहाँ कहिले पो यस्तो डिजाइनको हल खुल्ने हो ?’ प्रश्न मनमा मडारिरह्यो । एउटा फिल्म त कलाकार कर्मासँग हेरे । सायद मीनले कर्मालाई फिल्म ‘याट द सी’ भन्ने फिल्मको टिकट दिएका थिए । सँगै फिल्म हेर्ने उनको निम्तो मानेर पलास्ट पुगेँ । फिल्म सकिँदा रातको ११ बज्यो । पोस्टड्यामरमा फिल्म सकिँदा कहिले १२ बज्थ्यो । रातको १२ बजेसम्म पनि सिनेम्याक्स र पलास्टमा अर्को फिल्म हेर्नेहरुको भीड देख्दा प्रश्न मनमा उठ्थ्यो, ‘नेपाली फिल्म महोत्सवले कहिलेबाट दर्शकलाई यसरी आकर्षित गर्ने हो ? यस्तै भव्य र व्यवस्थित महोत्सव सिर्जना गर्न नेपाली फिल्म महोत्सवहरुलाई केले रोकेको हो ? आर्थिक स्रोतले ?’

इएफएम बजार (युरोपियन फिल्म मार्केट) डुल्दा पनि यस्तै प्रश्न घुमिरह्यो । बर्लिनालेको अर्को आकर्षणको केन्द्र नै हो- इएफएम । इएफएम यस्तो ठाउँ हो, जहाँ विश्वभरबाट फिल्म किनबेच गर्नेहरू आउँछन् । यो फिल्मको यस्तो हाट बजार हो, जहाँ विश्वका कुनाकाप्चाबाट फिल्मकर्मीहरु स्टल थाप्न आइपुग्छन् । फिल्मको किनबेच यहीँ हुन्छ । संसारभरबाट आएका १० हजार बढी संख्याका निर्माता, वितरक, सेल्स एजेन्ट, लगानीकर्ता जम्मा भएर यहीँ आफ्ना फिल्मको किनबेच गर्छन् । यहीँबाट दुई देशबीच अन्तर्क्रिया, सहकार्य र सह-लगानी सुरु हुन्छ । खासमा यस किसिमको बजारमा नेपाली फिल्मको पनि एउटा छुट्टै स्टल हुनुपर्ने हो । जहाँ नेपाली फिल्म र विश्वसँगको सहकार्यका छलफल अगाडि बढाउन सकिन्थ्यो । छिमेकी राष्ट्र भारतले त यो वर्ष चलाखीपूर्ण ढंगले स्टल लिएको देखियो । इएफएमको ढोका छिर्नेबित्तिकै दायाँतिर देखिन्थ्यो 'इन्डियन प्याभिलियन' । ठ्याक्कै आँखा पर्ने ठाउँमा बसेर भारतीयहरु यो बजारमा सरिक थिए । नेपालको पनि कुनै स्टल भइदिएको भए, अस्ट्रेलियाबाट आएका निर्देशक कलनी ग्याकन र निर्माता सविन ज्ञवालीलाई इएफएमको बजारमा आफ्नो फिल्म बेच्न सहज हुने थियो । तर, यस किसिमको बजारमा नेपाली फिल्म क्षेत्र कहिले पुग्ने हो ? धन्न यो पालि चलचित्र विकास बोर्डले यस किसिमको बजारको महत्त्व बुझेर कान्समा यस्तै स्टल बुक गरेछन् - जुन सकारात्मक पाटो हो । 

पेरिस टु पोलिटिक्स ! 

बर्लिनालेको क्लोजिङ गालामा सबैलाई निम्तो हुँदैन । महोत्सव अवधिभर बर्लिनालेले २० हजार फिल्मकर्मीलाई आकर्षित गराउने थुप्रै कार्यक्रम आयोजना गर्छ । ती कार्यक्रममा जोडिने कति प्रमुख व्यक्तिलाई पनि त्यहाँ आमन्त्रण गरिन्न । फिल्म पत्रकार भएकै कारण क्लोजिङ गालाको महत्त्व बुझेकी थिएँ । त्यसैले यसपटक 'हाम्रै जुरी पनि स्टेज उक्लँदै' गरेको कारण देखाउँदै प्रेस अफिसलाई इमेल लेखेँ, ‘यो पटक त हाम्रो जुरी स्टेजमा हुनुहुन्छ, जसरी पनि क्लोजिङ गालाको टिकट मिलाइदिनु पर्‍यो ।’ पत्रकारका हिसाबले क्लोजिङ हेरेर समाचार संकलन गर्नु लोभकै विषय भइहाल्यो । टिकट पाउने झिनो आशा थियो । बर्लिनाले ट्यालेन्ट प्रेसको सबै कार्यक्रम, 'आफ्टरपार्टी' सकेपछि इमेल गरेकी थिएँ  । टिकट पाउने कुनै खबर आइपुगेन । त्यसबीच जानकीसँग पेरिस घुम्ने योजना बन्यो । फ्लिक्स बस चढेर हामी पेरिस पुग्यौँ । क्लोजिङ गालाको अघिल्लो दिनको कुरा हो यो । फ्रान्स पुगेर अर्को बस बदल्नुथियो । क्रोसन्ट र कफी पिउँदै अर्को बस पर्खिरहँदा, इमेल खोलेँ । 'तपाईंलाई हामी क्लोजिङ गालामा स्वागत गर्न चाहन्छौं । लुगाचाहिँ ककटेल ड्रेस,’ पेरिस पुग्न २ घण्टाको बाटो बाँकी हुँदा इमेल पाएँ । खङ्गरङ्ग भएँ । त्यही घडी भोलिपल्टको प्लेनको टिकट काटेँ । पेरिस पुगेको दिनै घुम्नैपर्ने विश्व प्रख्यास संग्राहलय लुभ्र अनि आइफेल टावर घुमियो । अनि भोलिपल्टै जर्मनी फर्किएँ । जर्मनी फर्कँदा, लुले समातिसकेछ । ज्वरोले लगलग काँप्दै क्लोजिङ गाला पुगियो ।

From Kathmandu to Berlin: The experience of the world-renowned Berlinale film festival

फिल्म महोत्सव यति राजनीतिक हुन्छ, मैले यसअघि साक्षात् अनुभव गर्नै पाएको थिइनँ । अन्तर्राष्ट्रिय जुरीहरूको प्रमुख विम विन्डर्सले दिएको अभिव्यक्तिले यो वर्ष बर्लिनाले विवाद बन्यो । कति फिल्मकर्मीले यो अभिव्यक्तिमाथि आपत्ति जनाए । आउने तय भइसकेका कति फिल्मकर्मी बर्लिनाले आइपुगेनन् । अन्तर्राष्ट्रिय मिडियामा पनि यो पटक बर्लिनाले भन्दा यो विवादले धेरै ठाउँ पायो । तर, क्लोजिङ कार्यक्रम यो विवादकै 'क्लोजिङ' पनि बन्यो । अधिकांश अवार्ड विजेताले विमको अभिव्यक्तिमाथि खण्डन गर्दै मन्तव्य दिए, फ्रि-प्यालेस्टाइनका नारा गुञ्जिरहे । कति फिल्मकर्मीले त अवार्ड जितिसकेपछि जुरीहरूसँग साक्षात्कार नगरी मुख मोडिदिए । कार्यक्रम प्रस्तोतालेसमेत विमलाई आफ्नो अभिव्यक्तिमा उनी चिप्लिएको भन्दै व्यंग्य गरिरहिन् । महोत्सवकी निर्देशक ट्रिसाले त आवाज उठाउनु र आलोचना गर्नु लोकतन्त्रको हिस्सा रहेको बताउँदै यो विवादमाथि बोल्नेहरूलाई सम्मान दिइन् । 'यस वर्ष हामीले सार्वजनिक रूपमै चुनौती भोगिरहेका छौँ, जुन राम्रो कुरा हो । सधैँ राम्रो महसुस नहुन सक्छ, तर यो राम्रो नै हो, किनकि यसले बर्लिनाले मानिसहरूका लागि महत्त्व राख्छ भन्ने देखाउँछ,' ट्रिसाले भनेकी थिइन्, 'हामी ध्रुवीकृत समयमै बाँचिरहेका छौँ र मलाई लाग्छ हामी सबैले यो यथार्थ स्वीकार गर्नुपर्छ । हामीले सँगै निर्माण गरेको समुदायलाई अँगाल्नुपर्छ । किनकि आलोचना गर्नु र आवाज उठाउनु लोकतन्त्रको हिस्सा हो । असहमति पनि त्यही हो । कहिलेकाहीँ बोल्नलाई पनि ठूलो साहस चाहिन्छ ।'

बर्लिनालेको यो विवादले यस किसिमको महोत्सव राजनीतिक किन हुन्छ ? बहस र विमर्शका लागि यस्तो प्लाटफर्म किन आवश्यक छ ? भन्ने विषयमाथि चर्चा छेडिदियो । बर्लिनालेबाट मनमा अद्‌भुत खुसीमिश्रित अनुभूति बोकेर नेपाल फर्किँदै गर्दा मनमा लागिरह्यो– यही बाटोमा नेपाली समीक्षकहरूको कदम परिरहे  नेपाली फिल्ममा पनि त्यसको परावर्तन देखिन्थ्यो कि !

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully