अनि आइसोलेसनको गेट ढोगेर बाहिरिएँ- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनि आइसोलेसनको गेट ढोगेर बाहिरिएँ

औषधिका नाममा एउटा सिटामोलसमेत नखाईकन कोरोना जितेँ। बिहान उठ्नेबित्तिकै तातो पानी खाएर व्यायाम गर्थें । गुर्जो, अदुवा, लसुन, ल्वाङ, सुकमेल, बेसार र नुन मिलाएर पानी उमाल्थें । क्वारेन्टाइन र आइसोलेसनमा बस्दा मैले समाचार लेख्न पनि छाडिनँ ।
हामी कोरोना संक्रमित हौं, कोरोनाका बिरामी होइनौं । संक्रमितलाई समाजले बिरामी बनाइरहेको छ । कोरोना संक्रमणका बिरामी र परिवारलाई नानाथरी तनाव दिइएको छ ।
आश गुरुङ

ब्युझिँदा बिहानको सवा ७ बजिसकेछ । संक्रमित एक जनाले बाहिरबाट बोलाए, ‘दाइ, खाजा आयो ।’ खाजा सधैं उही । र्‍यापरमा बेरिएको चना र उसिनेको अण्डा । मुख राम्रोसँग पुछ्न नपाई मास्क लगाएर खाजा लिन गएँ । फर्केपछि एकछिन टोलाएछु । आफैंलाई सम्हालें । सम्झें, अझै पुसअप र सेटअप गर्नै बाँकी छ ।

व्यायाम सकेर तातोपानीको बाफ लिएँ । दुई टुक्रा कागती गिलासमा राखेर एक चम्चा मह हालें । खाजासँगै खाएँ । भाँडोमा २ टुक्रा गुर्जो, अदुवाको टुक्रा, ३–४ पोटी लसुन, केही ल्वाङ, सुकमेल, बेसार र नुन राखेर पानी उमालें । दिनभरि यही खाइरहें ।

बिहान सवा १० बज्यो । सशस्त्र प्रहरीका एक जवानले सिठी बजाए । खानाको प्याक गेट नजिकै बारमा लस्करै राखिएको थियो । एउटा प्याकमा मेरो नामसहित ‘गेट वेल सुन’ लेखिएको थियो । सम्झिएँ, ‘म त बिरामी होइन । कोरोना संक्रमित हुँ ।’ प्लास्टिकमा दाल थियो । चटनी भातसँगै थियो । तरकारी भने प्रायः तीतेकरेला हुन्थ्यो ।

आइसोलेसन आउनुभन्दा ५ दिनअघि म बेंसीसहरको शेरास्थित होटल टुकुचे पिकको क्वारेन्टाइनमा थिएँ । पीसीआर परीक्षणका लागि भदौ १२ गते स्वाब दिएयता होटल क्वारेन्टाइनमा बसेको थिएँ । बेलाबेला होटल सञ्चालक रामकुमार श्रेष्ठले फोन गरिरहन्थे । म बस्ने कोठा र उनी बस्ने घर आमनेसामने थियो । ‘के छ ? आज रिपोर्ट आउँछ त ?’ उनले सोधे । मनमनै गुनें, शुक्रबार, शनिबार, आइतबार, सोमबार । भनें, ‘आज त आउनुपर्ने हो ।’ उनले भने, ‘केयर गर्नुस् है, केही हुन्न ।’

म ल्यापटपमा समाचार लेख्ने तर्खर गर्दै थिएँ । भाइब्रेसनमा रहेको मोबाइल फोन टेबुल थर्किने गरी बज्यो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको फोन थियो । उनले ‘हल्ला नगरी बस्नुस् है, तपाईंलाई लिन एकछिनमा एम्बुलेन्स आउँछ’ भने । मैले लख काटिसकें, मलाई कोरोना संक्रमण भयो । भनें, ‘रिपोर्ट पोजिटिभ आयो ?’ उनले भने, ‘पोजिटिभ आयो । आत्तिनु पर्दैन । केही हुन्न ।’ अपराह्न पौने ४ बजे भएको थियो । कोरोना लागे पनि मलाई केही हुन्न भनी मनलाई ढुक्क बनाउने प्रयास गरें । ममा लक्षण थिएन ।

कोरोना संक्रमण भएको खबर बाहिरिएपछि फोन आउन थाल्यो । फोन निरन्तर आइरह्यो, उठाइरहें । धेरैको भनाइ थियो, ‘कोरोना केही होइन, आत्तिन हुँदैन । मनोबल उच्च राख्नुस् । निको हुन्छ ।’ कतिको फोन मिसकलमा बस्यो । साढे ९ बजे जब एम्बुलेन्सले सहजी आइसोलेसनमा पुर्‍यायो अनि मैले फोन उठाउन छाडें ।

रेडियो चौतारीका समाचार र कार्यक्रम प्रमुख अनुज अधिकारी आइसोलेसनमै थिए । उनी गेटमै मलाई पर्खेर बसेछन् । मलाई कोठामा लगे । गेटमा मलाई भनेर प्लास्टिकमा केही स्वास्थ्य सुरक्षा सामग्री, एउटा हरियो तन्ना र पातलो कम्मल राखिएको थियो । एउटा पानी तताउने भाँडो थियो । कोठा फोहर रहेछ । तरकारी र दाल पोखिएर टाटो देखिएका २ वटा म्याट थिए । काठको सानो बेन्चजस्तो खाट । वरपर सिसाका २ झ्याल थिए तर पर्दा छैन । भुइँमा रातो कार्पेट बिछ्याइएको थियो । ‘केही दिनअघि भक्तिनमुनाको क्वारेन्टाइन हटाएर ल्याइएको बेडहरू छन् दाइ । तपाईं त्यसमा अट्नुहुन्छ,’ अनुजले भने । दुवैले ठूलो भवनको तल्लो तलाबाट खाट बोकेर ल्यायौं । उनले कोठा सफा गरिदिए । उनले हौसला बढाउँदै भने, ‘नआत्तिनु दाइ, केही हुन्न । यहाँ कसैलाई केही समस्या छैन ।’

बेसार, अदुवा, नुन, ल्वाङ, गुर्जोको टुक्रा टुकुचेबाटै ल्याएको थिएँ । पानी तताउने भाँडोमा राखेर उमालें । चिसो ओछ्यानमाथि पल्टिएँ । तौलिया झिकेर छातीमाथि राखें । त्यसमाथि पातलो ब्ल्यांकेट र त्यसमाथि जिनको पाइन्ट छातीमा राखेर सुतें । मलाई छाती जोगाउनु छ । छाती चिसो भए दुख्छ । म छातीको बिरामी हुँ । सानैमा निमोनिया बिग्रिएकाले विगत ४ वर्षदेखि म औषधि सेवन गरिरहेको छु ।

छातीको समस्या भइरहने र लमजुङमा भेन्टिलेटर नभएकाले मेरो उपचार पोखरामा गर्ने पक्कापक्की भयो । कान्तिपुर टिम, पोखराका अग्रज पत्रकार सबै यसमा लागिपरे । मात्र मेरो निर्णय बाँकी रह्यो । ‘पत्रकार महासंघको जिल्ला अध्यक्ष, कान्तिपुरको रिपोर्टर भन्दैमा सुविधासम्पन्न ठाउँमा गयो’ भनेर कुरा काटिन सक्छ भनेर लमजुङमै बसेर कोरोनालाई जित्ने साहस बटुलें । कोठामा एक्लै थिएँ । खुट्टामा चिसो सिरेटो आउँथ्यो । झ्याल थुनिदिउँ भने अक्सिजन नपुग्ला भन्ने डर लाग्यो । मोबाइलमा न राम्रोसँग नेटवर्क टिप्छ, न इन्टरनेट चल्छ । सधैं मोबाइलमा हेरूँ । बोलूँ कोही छैन । सोचें, ‘न म बिरामी छु, न ममा कुनै लक्षण छ । मलाई केही हुँदैन ।’ पहिलो रात कट्यो ।

बिहान उठ्दा ज्यान चिसो छ । छाती फुलिएको छ । ज्यान दुखेको छ । राति ओढेको जिनको पाइन्ट र तौलिया भुइँमा खसेको छ । तन्ना पोको परेको छ । छाती दुख्लाझैं गर्‍यो । आइसोलेसनमा आएर बिरामी परिने पो हो कि झैं पनि लाग्न थाल्यो । पोखरा जानुपर्ने पो हो कि ? मनमनै सोंचे, ‘हैन, म जान्नँ ।’ तातोपानी खाएँ । उफ्रिन थालें । कागतीपानी खाएँ । अदुवा, बेसार र नुन राखेर पानी बनाएँ ।

लमजुङ बेंसीसहरको सहजीस्थित सहरी विकास कार्यालयको भवनस्थित आइसोलेसनका कोरोना संक्रमित बाहिरबाट फालेको खाना लिँदै।

म कोरोना संक्रमित भएपछि ट्रेसिङमा परिवार पर्‍यो । भदौ १५ गते मध्याह्नतिर प्रमुख जिल्ला अधिकारी शर्मासँग फोनमा कुराकानी भयो । उनले भने, ‘तपाईंको त परिवार नै संक्रमित भएजस्तो छ । बुवा, आमा, श्रीमती, छोरी ।’ बुवा ७५ वर्ष । आमा ६५ वर्ष । दम, खोकी, मृगौला, मुटुका बिरामी । छोराको रिपोर्ट आइसकेको रहेनछ । अर्को तनाव । छोरा साढे ५ वर्षको मात्रै । वृद्ध बाबाआमालाई धेरै सम्झिएँ । फोन गरें, ‘आमा, हामी बिरामी होइनौं । हामी कोरोना संक्रमित हौं । नआत्तिनु । अहिले कोरोना लाग्यो भनेर हामीलाई छुट्टै ठाउँमा लान खोजिएको हो । खानापानी सबै दिन्छ । औषधि दिन्छ । केही हुँदैन ।’

बुवालाई पनि नआत्तिन भनें । परिवार नै संक्रमित भएको खबरले चिन्तित बनायो । अपराह्नतिर छोराको रिपोर्ट नेगेटिभ आयो । अब उसलाई कहाँ लाने ? आइसोलेसनमा लाने कुरा भएन । ससुरालीमा घरबेटीले आउन दिएनन् । पछि उनैकी सानीमाले लगिन् । बुवाआमालाई छुट्टै र आमाछोरीलाई छुट्टै लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा राखियो । त्यो साँझ मलाई खाना रुचि भएन । १३ दिनको आइसोलेसन बसाइमा त्यही एक छाक मैले पूरै खान सकिनँ ।

मेरो छेवैमा ग्लोबल आईएमई बैंकका दुई कर्मचारी थिए । उनीमध्ये एक जनामा खोकी थयो । हाम्रो शौचालय एउटै थियो । म मास्क लगाएर शौचालय जान्थें । कम्मोडवाला शौचालयमा शौच बस्नुअघि ट्वाइलेट पेपर बिछ्याउँथें । हात धुनुको सट्टा सेनिटाइजर प्रयोग गर्थें । बिहान बाफ लिएपछि मुख सफा गर्थें । तीन दिनसम्म दात माझिनँ । सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले क्लोरिन झोल ल्याइदिए । शौचालयमा क्लोरिन छर्किएको ६ घण्टापछि नुहाएँ । बानी बस्दै गयो ।

भदौ २५ गते दसौं दिनमा पीसीआर परीक्षण भयो । सोचें, ‘पोजिटिभ आए पनि केही छैन । बरु बुवाआमालाई ढाटुँला ।’ वृद्धवृद्धा बुवाआमा आत्तिन्छन् । २७ गते अपराह्नतिर रिपोर्ट आयो । एक घण्टापछि मैले आमाबुवालाई सुनाएँ । दुवै जना निकै खुसी हुनुभयो । भिडियो कलमा आमाको मुहार हँसिलो देखें । आफू पीडामा रहेर पनि छोराछोरीको सफलतामा आमा कति खुसी हुनुहुँदो रहेछ भन्ने अनुभव गरें ।

बुवाआमा आइसोलेसन जानुभएको पर्सिपल्ट भदौ २२ मा आयुर्वेदिक औषधि लिन लगाएर ज्वाइँ पूर्णचन्द्र घिमिरेलाई पठाएँ । औषधिबारे बुवाआमा अलमल पर्नुभयो । कापीको पन्नामा लेखेर राखिएको छ । पढ्न सक्नुहुन्न । आँखाले त्यतिधेरै भेउ पाउनुहुन्न । श्रीमती र उनका साथीलाई पनि आमाबुवानेर जानबाट रोक थियो । करिब डेढ घण्टा भिडियो कलबाट आमालाई खाने तरिकाबारे जानकारी गराएँ । आमाले बुझ्न नसक्दा मैले आँसुमात्रै झार्न सकिनँ ।

एउटा सिटामोलसमेत नखाईकन मैले कोरोना जितें । बिहान उठ्नेबित्तिकै तातोपानी खाएर व्यायाम गर्थें । गुर्जो, अदुवा, लसुन, ल्वाङ, सुकमेल, बेसार र नुन मिलाएर पानी उमाल्थें । च्यवनप्रास, हर्लिक्स र काजु साथमा थियो । क्वारेन्टाइनमा हुँदा चिया खाएँ । तर, आइसोलेसनमा एक कप पनि चिया नखाई बसें । क्वारेन्टाइन र आइसोलेसनमा बस्दा मैले समाचार लेख्न छाडिनँ । आइसोलेसनमा गण्डकी प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, कान्तिपुरको काठमाडौं अफिसबाट टेलिफोन आयो । पत्रकार महासंघका केन्द्रीय टोली भेट्न आए । धेरै शुभचिन्तक आए । लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट स्वास्थ्यकर्मी आएर सल्लाह सुझाव दिइरहन्थे ।

१३ दिने आइसोलेसन बसाइपछि मेरो निष्कर्ष रह्यो– हामी कोरोना संक्रमित हौं, कोरोनाका बिरामी होइनौं ।’ १३ दिन कसरी कट्यो, आफैंलाई थाहा भएन । संक्रमितलाई समाजले बिरामी बनाइरहेको छ । कोरोना संक्रमणका बिरामी र परिवारलाई नानाथरी तनाव दिइएको छ । मैले सहजै कोरोनालाई जित्न सकें । भदौ २७ गते साँझ आइसोलेसनबाट बाहिरिँदै गर्दा मलाई मेरो सुत्ने खाट र बस्ने कोठाको धेरै माया लाग्यो । ३ पटकसम्म हेरेर फर्किएँ । अन्तिममा कोठाबाट फर्किंदा अनायसै आँसु बग्यो । आइसोलेसनको मूल गेटलाई एक पटक ढोगेर बाहिरिएँ । जसले मलाई १३ दिनमा कोरोनाबाट मुक्त बनाएको थियो ।

प्रकाशित : भाद्र ३०, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

रित्तिए रौतहटका क्वारेन्टाइन

शिव पुरी

रौतहट — भारतमा कोरोना संक्रमण बढेसँगै रोजगारीका अवसर पनि गुमे । त्यसमाथि स्वास्थ्यमै जोखिम बढेपछि भारत गएकाहरू वैशाख पहिलो सातादेखि धमाधम घर फर्किन थाले । नाकामा स्वदेश भित्रिनेको लर्को लागेपछि उनीहरूलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई हम्मेहम्मे पर्‍यो ।

जिल्लाका १८ वटै पालिकाले धमाधम १ सय ३० वटा क्वारेन्टाइन सञ्चालनमा ल्याए । चैत ११ देखि हालसम्म १३ हजार ३ सय ७ जना क्वारेन्टाइनमा बसे । उनीहरूको स्वाब परीक्षण गरियो । तीमध्ये १ हजार ३ सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखियो । रिपोर्ट नेगेटिभ आएकाहरू घर फर्किए । महिना दिनअघिसम्म खचाखच भरिएका क्वारेन्टाइन अहिले रित्तिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर क्वारेन्टाइनमा अहिले एक जना पनि छैनन् । बस्ने व्यक्ति नै नभएपछि अधिकांश बन्दसमेत गरिएका छन् । हाल एक सय बेडको क्वारेन्टाइन मात्रै सञ्चालनमा छ तर त्यहाँ पनि कोही छैनन् । त्यसबाहेक संक्रमितको उपचारका लागि जिल्लाभर ४ सय १९ बेड क्षमताका आइसोलेसन सञ्चालनमा छन् । ‘अहिले सक्रिय संक्रमितहरू मात्र आइसोलेसनमा छन्,’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘भारत र बाहिरी देशबाट आएकाहरू घर फर्केपछि क्वारेन्टाइन रित्तो भएका हुन् ।’

प्रशासनका अनुसार जिल्लाका क्वारेन्टाइनमध्ये सबैभन्दा धेरै राजपुरस्थित मदरसहा क्वारेन्टाइनमा बसेका थिए । सुरुमा भारतबाट घर फर्केर क्वारेन्टाइन बसेकामा मात्र संक्रमण देखिएको थियो । अहिले समुदायमै रहेकामा पनि संक्रमण पुष्टि भएको छ । हाल स्थानीय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायत गरी १ सय ९३ जना आइसोलेसनमा छन् ।

जिल्लामा अहिलेसम्म १ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । १ हजार ५ सय ६२ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×