डार्बिन मोथदेखि तन्तु संवर्द्धनसम्म जानकारी दिने सुनाखरीको विज्ञान कथा

असार २८, २०८२

गोविन्द पोखरेल

From Darbin Moths to Tissue Culture Informative Science Fiction

प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्बिनलाई सन् १८६३ तिर एउटा फूलको नमुना पठाइयो ।  हात्तीको दाह्राजस्तो सेतो रंगको तारा आकारको यो फूलको लामो र साँघुरा नेक्टर ट्युब देखेपछि डार्बिनले अनुमान लगाउँछन् ।

फूलको रस चुस्न सक्ने कुनै लामो नली/जिब्रो (प्रोबोसिस) भएको किरा अवश्य हुनुपर्छ । त्यही किराले नै यो फूलको गहिरो भित्र रहेको रस चुस्‍न खोज्दा चिप्लो परागमा छोइन्छ अनि परागको एक फूलबाट अर्को फूलमा स्थानान्तरण हुन्छ । माडागास्करमा वा फूल पाइने स्थानमा त्यो किराबारे खोजी भयो तर भेटिएन । धेरै वैज्ञानिकहरूले डार्बिनको अनुमानलाई गलत भन्दै आलोचना गरिदिए । डार्बिन आफ्नो भनाइमा दृढ थिए, सुनाखरीले आफ्नो लामो नेक्टर ट्युब पराग प्रसारणलाई सुनिश्चित गर्नैका लागि विकास गरेको हो ।

अर्किडहरू(सुनाखरी)को पराग अन्य फूलहरू जस्तो छुट्टाछुट्टै नभएर एकै थुप्रोमा हुन्छन् जसले गर्दा तिनीहरूले विशिष्ट किरा वा ढुसीहरूको सहयोग बिना फैलन सक्दैनन् । उनको भविष्यवाणी करिब चार दशकपछि सत्य साबित हुन्छ । डार्बिनले भने जस्तै त्यस्तै लामो जिब्रो भएको किरा पत्ता लाग्यो जसको नाम ‘हक मोथ’ राखियो । वैज्ञानिक नाम चाहिँ ज्यान्थोप्यान मोर्गानी प्रेडिक्टा (Xanthopan morganii praedicta) राखियो । यसको अर्थ हुन्छ, ‘पूर्वानुमान गरिएको पुतली’ । यो किरालाई हक मोथ भनिए पनि धेरैले डार्बिन मोथ भनेर चिन्छन् ।

वरिष्ठ वनस्पतिविद् एवं प्रा.डा विजया पन्तले भर्खरै प्रकाशित गरेको पुस्तक ‘म अर्किड’ मा डार्बिन मोथको बारेमा केही चर्चा छ । सुनाखरी प्रजातिप्रति रुचि राख्‍ने जो कोहीलाई उपयोगी हुने यो पुस्तक वनस्पतिप्रति रुचि हुनेहरूका लागि लक्षित छ । अर्किड अर्थात् सुनाखरी प्रजातिबारे विगत ३ दशकभन्दा बढीदेखि सक्रिय प्रा.डा पन्तको यो पुस्तकमा लेखिकाले आफैँ सुनाखरी भएर प्रस्तुत भएकी छन् । पुस्तकका अनुसार सुनाखरीका ९७ प्रतिशत बिउँ जमिनमा खसेर नस्ट हुन्छ । नस्ट भएकामध्ये ३ प्रतिशत प्रजाति मुस्किलले उम्रन्छन् जसले संसारका धेरै क्षेत्र ढाकेका छन् ।

From Darbin Moths to Tissue Culture Informative Science Fictionडार्बिन मोथ

सुनाखरी प्रजातिको भाले प्रजनन अंग पुंकेशर अन्य वनस्पतिको जस्तो अलग्गै हुँदैन । सुनाखरी प्रजातिहरूको एक विशेषता यो छ कि अन्य वनस्पतिहरूमा जस्तो यसको ‘इन्डोस्पर्म’ हुँदैन । इन्डोसर्मले जमिनमा बिउ उम्रनुअघि भ्रूणलाई खुवाउने(पोषक तत्त्व)दिने काम गर्छ । त्यही इन्डोस्पर्म नभएका कारणले गर्दा सुनाखरीका बिउ(भ्रूण)ले खानेकुरा नपाएर मर्छन् । यसको अर्को विशेषता के छ भने बिउले विशेष प्रकारको ढुसी प्राप्त गर्‍यो भने उम्रिने मौका पाउँछ । ढुसीले नै बिउलाई खानेकुरा उपलब्ध गराउँछ जसका कारण बिउ अंकुरण हुने मौका पाउँछ ।

पुस्तकका सुरुका पाठहरूमा लेखक पन्तले सुनाखरीको परिचयबाट सुरु गर्दै नेपालमा चिनिने नामहरूको बारेमा उल्लेख गरेकी छन् । सुनाखरीलाई नेपालमा सुनगाभा र चाँदीगाभाको नामले पनि चिनिन्छ । पहेँलो फूल फुल्ने प्रजातिलाई सुनगाभा वा सुनाखरी भन्ने गर्छन् । सेता फूल फुल्ने प्रजातिलाई चाँदीगाभा भनिने गरिएको उनले पुस्तकमार्फत प्रस्ट्याएकी छन् । कतिपयले सुनाखरीको वासस्थान र प्रजाति अनुसार फरक फरक नामहरूले पनि चिन्ने गरेको पुस्तकमा उल्लेख छ । पाँचऔंले, शक्तिगुम्बा, गामडोलजस्ता वनस्पति सुनाखरी प्रजातिभित्रै पर्दछन् ।

पुस्तकमा उनले सुनाखरीका आकारको चर्चा गर्दै बाँदर, जुत्ता, पुतली,चरा तथा मान्छेका जस्तै आकार देखिने फूलहरूको बारेमा चर्चा गरेकी छन् । पाठकलाई यस्ता विषय र चर्चाले तान्‍दै पुस्तकभित्र घोत्लिन मद्दत पुग्‍ने लेखको ध्येय हुन सक्छ । व्यावसायिक रूपमा फुल्ने, सजावटमा प्रयोग हुने, जमिनदेखि,अप्ठ्यारामा ठाउँमा फुल्ने विषय उल्लेख गर्दै पुस्तकमा यो प्रजाति संरक्षणको चुनौतीका बारेमा पनि उल्लेख गरेकी छन् । 

From Darbin Moths to Tissue Culture Informative Science Fictionमंकी अर्किड

सुनाखरीको अधिक रूपमा उपभोग हुने क्रम बढ्दा संरक्षणमा पनि चुनौती देखिएकोप्रति लेखक गम्भीर देखिन्छन् । सभा सम्मेलनहरूमा यस विषयका बारेमा मानिसहरूले बहस गर्ने तर वासस्थान माथिको अतिक्रमण झन् झन् बढेकोमा उनी चिन्तित छिन् । यही विषयमा पृष्ठ ५१ मा उल्लेख गर्दै प्राध्यापक पन्तले सुनाखरीको विनाश कतै बढी प्रचार भएर पो बढ्न थालेको हो कि भनेर शंका गरेकी छन् । उनी लेख्छिन् , 'सभा सम्मेलन र हल्लाखल्लाले मात्र म कहाँ बाँच्छु र ? मेरो वासस्थानमाथिको अतिक्रमण झन् झन् बढेको छ- जति प्रचार उति विनाश जस्तो भयो ।’

धेरै प्रचारबाजीले यो प्रजातिको बारेमा थाहा पाउँदा अर्किड प्रेमी भन्दै सुनाखरीका राम्रा राम्रा प्रजातिको खोज्ने क्रम र सङ्कलन गर्ने कार्य बढ्न थालेको उनले उल्लेख गरेकी छन् । मानिसहरूले निरन्तर खोजी गर्ने र चासो देखाउने त गर्छन् तर यस प्रजातिहरू लोप हुन सक्ने खतरा पनि बढेको प्रति पुस्तकले यसतर्फ पनि सोच्न जोड दिएको छ । कतिपय अवस्थामा सुनाखरी प्रजातिहरूबारे मानिसहरूमा ज्ञान नहुँदा दोहन पनि भएको छ । घाँस र दाउरा गर्दा झारपात ठानेर उखाल्ने, काटकुट गर्दै फालिदिने परिपाटी पनि रहेको पुस्तकमा उल्लेख गरिएको छ । केही प्रजातिहरूको गाईवस्तुको सोतर बनाउने पनि देखिएको पुस्तकमा उल्लेख गरिएको छ ।

पछिल्ला समय सुनाखरी प्रजातिलाई तन्तु संवर्द्धन(टिस्यु कल्चर) प्रविधिले संरक्षण गर्न मद्दत पुर्‍याएको छ ।  साथै, ठिमाहा प्रजाति उत्पादन गर्न पनि उपयोगी भएको पुस्तकमा उल्लेख छ । तन्तु संवर्द्धन प्रविधिबाट उत्पादित प्रजातिहरूले व्यावसायिक रूपमा सफल भएका मात्रै छैनन् यसका अलावा मानिसहरूको सोख पूरा गर्न पनि सघाउ पुर्‍याएको छ । यसका कृत्रिम बिउहरू समेत निर्माण हुने गर्छ ।

पुस्तकले अर्किड सम्बन्धी आधारभूत जानकारी दिन्छ । यद्यपि यसबारे जान्न खोज्ने जो कोहीलाई पनि उपयोगी हुन्छ । पुस्तकमा छापिएका धेरै तस्बिरहरूको व्याख्या गरिदिँदा पाठकलाई झन् सजिलो हुन्छ । जस्तो कि बाँदर जस्तो देखिने अर्किडको छोटो विवरण र कहाँ पाइन्छ भन्ने सन्दर्भमा भए पाठकहरूले अझ बढी रुचिका साथ हेर्ने सक्छन् । अर्को अद्यावधिक पुस्तकमा यसमा उल्लेख गरिएका सामान्य विषयहरूलाई विवेचना गर्दै कम तस्बिर राख्न सकिने स्थान छ । जस्तो कि परागसेचनमा सहयोगी हुने किरासहितको प्रजातिको विवरण र सानो जानकारी राखिदिने ठाउँहरू पुस्तकमा छन् ।

From Darbin Moths to Tissue Culture Informative Science Fiction

वरिष्ठ वनस्पतिविद् एवं विज्ञान लेखक डा. तीर्थबहादुर श्रेष्ठले आफ्नो भूमिकामा उल्लेख गरेझैँ अर्किड वनस्पतिका फूलहरू विश्व सुन्दरीको कोटीमा प्रख्यात छन् । यो वनस्पति प्रजातिको चर्चा बाग, बगैँचा, वन र वाटिका सबैतिर चर्चा हुने गर्छ । समग्रमा वनस्पतिविद् श्रेष्ठले भने झैँ बालबालिका, विद्यार्थी र आम मानिसका लागि यो पुस्तक निकै नै उपयोगी छ ।  ३८ वटा पाठ रहेका यो पुस्तकमा हरेक पाठमा विशेष कथा छन् । लेखकले आफैँ अर्किड भएर यसका विज्ञान, ज्ञान र प्रविधिका विषयलाई उनेर हरेक पाटालाई समावेश गर्न खोजेको देखिन्छ । पुस्तकमा प्रजातिको संरक्षण र दोहनको विषयलाई पनि उजागर गर्दै संरक्षण सम्बन्धीका प्रयासहरूलाई देखाउन खोजिएको छ । प्राध्यापनमा दशकौँदेखिको लगावले पनि प्रा.डा पन्तको यो पुस्तक सुनाखरीप्रति रुचि हुनेहरू जो कोहीले सरल भाषामा बुझ्ने भएकाले उपयोगी छ  ।

सुनाखरी संरक्षण समूहकी अध्यक्ष एवं प्रमुख कार्यकारी निर्देशक प्राध्यापक मेरी ई गार्टिसेनले पन्तलाई बधाई दिँदै पुस्तकमा अर्किडको विशिष्ठतालाई समावेश गर्दै जीवनसँग जोडेर यो प्रजातिहरूले भोगिरहेको चुनौतीको बारेमा चर्चा गर्न खोजेको उल्लेख गर्दै संरक्षणमा जोड दिँदै सचेतनामूलक सन्देश पुस्तकले दिएको निष्कर्ष निकालेकी छन् ।

प्रा.डा पन्तले पुस्तक मार्फत भनेकी छन्,'हजार माइलको यात्रा गरे पनि धरतीका मानिसलाई भूगोलले मात्रै बाँडेको रहेछ भन्ने विश्व भ्रातृत्वको सन्देश अर्किडले दिएको' उल्लेख गरेकी छिन् । यो भाइचाराको सन्देश अध्ययन र अनुसन्धानमा मात्रै नभएर जनमानसमा पनि पुर्‍याउन पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह पक्कै नै गर्छ । यो प्रजातिप्रति मानिसहरूमा पक्कै पनि भावनात्मक सन्देश ल्याउने विश्वास व्यक्त गर्न सकिन्छ ।

वनस्पति जगत्मा नेपालमा पाइने फूल फुल्ने वनस्पति भन्दा धेरै प्रजातिहरूको रहेको बिरुवामा सुनाखरी प्रजाति धेरै नै रहेको पाइन्छ । वनस्पति जगत्मा भएका फूल फुल्ने बिरुवाहरूमध्ये सबैभन्दा विकसित, सर्वगुण सम्पन्न परिष्कृत प्रजातिभित्र सुनाखरीलाई लिइन्छ । वनस्पति जगत्को सुनाखरी परिवारमा ७ सय ७ जाति छन् । ती जातिअन्तर्गत २८ हजार प्रजाति छन् । नेपालमा यो परिवारका करिब सय जाति र ५ सय प्रजातिहरूभन्दा बढी छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै नेपालबाट अभिलेख भएका सुनाखरी प्रजातिमध्ये ४४.५ प्रतिशत पाइने राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रकाशित गरेको अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरी पुस्तकमा उल्लेख छ ।  ्

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ मा नेपालमा पाइने सुनाखरीमध्ये २ वटा अनुसूची १ मा र ४ सय ६६ वटा अनुसूची २ मा संरक्षित वनस्पतिको रूपमा समावेश छ । नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साईटिस) को पक्ष राष्ट्र हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७१ मा निकालेको अनुसन्धानात्मक प्रकाशनमा नेपालमा ४ सय ६८ वटा प्रजातिका सुनाखरीलाई साईटिसमा सूचीकृत गरिएको उल्लेख छ । अर्कोतर्फ साईटिसको अनुसूचीमा सूचीकृत भएका वनस्पतिका सबैभन्दा धेरै जाति सुनाखरीको हो । विस्तृत अध्ययन नै हुन बाँकी भएकाले नेपालमा यो प्रजातिको संख्या ठ्याक्कै यति नै हो भनेर किटान गर्न सकिने अवस्था अझै छैन ।

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully