वन कुकुर संरक्षणमा नेपालको ऐतिहासिक कदम

चीन,भारतसहित १२ वटा मुलुकमा पाइने वन कुकुरको संरक्षण कार्ययोजना बनाउने पहिलो मुलुक बन्यो नेपाल 

जेष्ठ १४, २०८२

गोविन्द पोखरेल

Nepal's historic step in forest dog conservation

संरक्षणको क्षेत्रमा नेपालले विश्वमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । केही साताअघि नेपालमा हिउँ चितुवा पाइने मुलुकका प्रतिनिधि सहभागी भएर अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्‍न भयो । बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय संकल्प पूरा गर्ने पहिलो राष्ट्र नेपाल बन्यो । यस्तै संरक्षणका काम गरेबापत विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि नेपालले पाएको अवस्था छ ।  

नेपाल अहिले संरक्षणको क्षेत्रमा नयाँ काम गरेको छ । त्यो हो पहिलो वन कुकुर संरक्षण कार्ययोजना निर्माण गरेर । संकटापन्‍न वन्यजन्तुको सूचीमा रहेको दुर्लभ जीव वन कुकुर दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकका १२ वटा मुलुकमा पाइन्छ । वन कुकुर पाइने मुलुकमध्ये नेपालले यो जीवको संरक्षणका लागि भनेर पहिलो पटक कार्ययोजना बनाएको हो । त्यसअघि नै नेपालले सन् २०२३ मा दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलन राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा चितवनमा गरेको थियो । 

वन कुकुरको संरक्षणका लागि भनेर नेपालले सबैभन्दा पहिला संरक्षण कार्ययोजना बनाएको छ । हालै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागले वन कुकुर संरक्षणका लागि संयुक्त कार्ययोजना सार्वजनिक गरेका छन् । 

अंग्रेजीमा एसियाटिक वाइल्ड डग (ढोल) भनेर समेत चिनिने वन कुकुर नेपालमा करिब ५ सय भन्दा कमको संख्यामा रहेको अनुमान छ । नेपालसहित भारत, चीन, भुटान, बंगलादेश, चीन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, म्यानमारमा र भियतनाम यो जीव पाइएको छ । यद्यपि भियतनाममा यसको संख्या अत्यन्तै न्यून रहेको अनुमान छ । अफगानस्तान, काजाकिस्तान, किर्गिस्तान र उज्बेकिस्तानबाट लोप भइसकेको अवस्था छ ।

Nepal's historic step in forest dog conservationआईयूसीएनको संकटापन्‍न सूचीमा रहेको यो जीवको वयस्क संख्या विश्वमा २ हजारदेखि २२ सय वटा मात्रै रहेको अनुमान छ ।   यो मांसाहारी जीवको विश्वमा के कस्ताो अवस्था छ भनेर विस्तृत विवरण अभिलेख अझै हुन सकेको छैन । भर्खरै यसको विचरण सम्बन्धमा आईयूसीएन ढोल विशेषज्ञ समूहले अध्ययन गरेको छ । जहाँ यसको फैलावट पश्चिम भारत, मध्य भारत र हिमालयको फेदी हुँदै दक्षिणपूर्वी एसियासम्म पाइने गरेको अनुमान छ । 

वन कुकुर ब्वाँसोभन्दा तल्लो उचाइ भएको भूगोलमा पाइन्छ । स्यालभन्दा केही ठूलो हुन्छ ।  झुप्प परेको कालो पुच्छर भएको यो जीवलाई पूर्वी पहाडमा मिल्के, ठाडाकानेसमेत भनेर चिन्ने गरिन्छ । यो प्रजातिको संख्या नेपालमा करिब ५ सय भन्दा कम रहेको अनुमान छ । 

 कन्चनजंघा संरक्षण क्षेत्रबाट संरक्षणकर्मी अम्बिकाप्रसाद खतिवडाले क्यामेरा ट्य्रापमार्फत वन कुकुरको वैज्ञानिक अभिलेख गरेका थिए । खतिवडाले अभिलेख गरेको ४ हजार मिटर उचाइ नै नेपालमा पाइएको वन कुकुरको अधिकतम् उच्च स्थान हो । भारतको लद्दाखमा भने यो जीव ५ हजार ३ सय मिटरको उचाइमा पनि कैद भएको छ । गर्मीदेखि चिसो ठाउँसम्म अभिलेख भएको वन कुकुरको कम अनुसन्धान भएकाले यसबारे विस्तृत नेपाली अनुसन्धानकर्ताहरूसँग छैन । यसको विचरण क्षेत्र, आनीबानीबारेमा थप बुझ्नु आजको आवश्यकता हो । यसको आहरा प्रजातिमा याक, घोरल, मलसाप्रो, निरबिरालो लगायतका जीवहरु पनि पर्छन् । यसले मुसादेखि खरायोसम्मका जीवहरूलाई खान्छ । 

सन् २०१० यता तराईका चितवन, पर्सा,बर्दिया,बाँकेका निकुञ्ज क्षेत्रमा यो जीव क्यामेरा ट्रायपमा कैद भएको थियो । पहाडी क्षेत्रको सावलमा कन्चनजंघा, तीनजुरे-मिल्के-जलजले, मकालु वरूण राष्ट्रिय निकुञ्ज, गौरीशंक संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्रलगायतका स्थानहरूमा भेटिएको अभिलेख छ । संरक्षण क्षेत्र बाहिर भने उदयपुरको त्रियुगा जंगल र दाङको जंगलमा पनि अभिलेख गरिएको भनेर दोस्रो अन्तर्राष्ट्रिय ढोल सम्मेलनमा प्रस्तुत गरिएको थियो । 

उसो त नेपालमा वन कुकुर देखिएको सन्दर्भमा भारतका प्रख्यात संरक्षणकर्मी तथा प्राध्यापक वाईबी झालाले सन् १९९७ मै बर्दिया क्षेत्रमा वन कुकुर देखिएको उल्लेख गरेका छन । त्यसबेला उनले भारतको राष्ट्रिय बाघ गणनाका क्रममा आफूले वन कुकुरको समेत अध्ययन गर्ने मौका पाएको पंक्तिकारलाई सन् २०२३मा चितवनमा भएको दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनलाई बताएका थिए । 

Nepal's historic step in forest dog conservationपर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्य्रापमा देखिएको वन कुकुर । तस्बिर : कोर्नेल विश्वविद्यालय

जंगलको कोर क्षेत्रभित्र बस्ने वन कुकुरको अवस्था बाघभन्दा बढी संकटमा रहेको अनुमान छ ।  समूहमा बसेर शिकार गर्ने यो जीव क्यानिड परिवारको सदस्य हो । यो परिवारमा ब्वाँसो, स्याल, घर कुकुरलगायतका जीव पर्छन् । यो जीव कम संख्यामा देखिनुमा पनि अन्य प्रजातिको जस्तै, बासस्थान विनाश र क्षयीकरण, आहार प्रजातिको कमी, मानव-वन्यजन्तु द्वन्द्व,रोगव्याधी तथा प्रजातिहरूबीचको द्वन्द्व र प्रतिस्पर्धा रहेको छ । पर्याप्त अध्ययन र अनुसन्धान नहुने र बजेटको कमीले गर्दा यो मांसाहारी जीवबारे थप बुझाइ नेपालको सन्दर्भमा हुन सकिरहेको छैन । यिनको तौल पनि १२ देखि २० केजी  हुने अनुमान छ । र, बासस्थान करिब ७५ प्रतिशत विनास भएको कार्ययोजनामा उल्लेख छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागले संयुक्त रूपमा ल्याएको वन कुकुर संरक्षण कार्ययोजनामा मुख्यतः नेपालका तीन वटा क्षेत्रलाई विशेष प्राथमिकता दिन खोजेको देखिन्छ । जसमा चितवन-पर्सा खण्ड, बाँके-बर्दिया खण्ड र कञ्चनजंघा भूपरिधि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । कार्ययोजनामा नेपालमा वन कुकुरको उपस्थिति सन्दर्भमा वैज्ञानिक अभिलेख गर्दै यसको फैलावट र संख्यागत हिसाबको उपस्थिति केकस्तो अवस्थामा छ भन्ने थाहा पाउने पनि उल्लेख छ । 

यस्तै, वन कुकुरको विचरण क्षेत्रको नक्सा विकास गर्ने, दीर्घकालीन रूपमा प्रजातिको निगरानीका मापदण्डहरू तयार गर्दै लागू गर्ने र संरक्षणका प्रयासलाई विद्यमान वन्यजन्तु व्यवस्थापन योजनाहरूमा एकीकृत गर्दै लैजानेमा जोड दिएको देखिन्छ । यस्तै, मानव वन कुकुर द्वन्द्व न्यूनीकरण, स्थानीयस्तरमा समुदाय र सांसदहरूबीच सचेतना फैलाउँदै अन्तरदेशीय सहकार्यमा जोड दिने विषय कार्ययोजनामा समावेश छन् । नेपालमा मानव-वन कुकुर द्वन्द्व सन्दर्भमा के कस्ता अभिलेख छन् तथा वन कुकुरका कारण भएको क्षति र  राहत वितरणसम्बन्धीका अभिलेख निकै नै कम छन् । 

संरक्षण कार्ययोजनामा पारस्थितकीय प्रणालीको सुधार गर्दै करिडोर कनेक्टिभिटीलाई सुधार्न पनि जोड दिइएको छ । यस्तै अन्तरदेशीय सहकार्य गर्दै वैज्ञानिक खोज र अनुसन्धानलाई कार्ययोजनाले समावेश गरेको छ । 

वन कुकुर संरक्षण कार्ययोजनामा स्रोत सुनिश्चितताको विषयमा केही पृथक् देखिन खोजेको छ । जस्तो कि नेपालले बनाउने अधिकांश वन्यजन्तु संरक्षण कार्ययोजनालाई पूर्ण रूपमा लागू गराउन दातृ संस्थाहरूको भर पर्नुपर्ने अवस्था छ । वन कुकुरको सन्दर्भमा चाहिँ बाघ र हिउँ चितुवा संरक्षण कार्ययोजनाहरूमा उल्लेख भएका विषयहरु कार्यान्वयन गर्दा ३६ प्रतिशत कार्य सम्पन्न हुने उल्लेख छ । 

कार्ययोजनामा उल्लेख गरिएका कार्यहरूमा कार्यान्वयन गराउन २६ करोड २८ लाख ५० हजार लाग्ने अनुमान छ । तीमध्ये ९ करोड ५९ लाख चाहिँ बाघ र हिउँ चितुवा संरक्षण कार्ययोजनाबाट खर्च गर्न सकिने भनिएको छ । १० वर्षे कार्ययोजना कार्यान्वयन चरणको पहिलो वर्ष ६.७९ प्रतिशत, दोस्रोमा १४.०६, तेस्रो वर्षमा ७.५३ चौथोमा १०.०४ प्रतिशत लगायतका बजेट विनियोजन गरेर संरक्षण गराउन सकिने उललेख छ । ५ वर्षमा एक पटक यो प्रजाति संरक्षणका लागि मूल्यांकन गर्ने भनिएको छ । 

कार्ययोजनामा भएका कार्यहरू सम्पन्न गराउन मुख्य भूमिका निकुञ्ज विभाग, वन विभाग र प्रदेश सरकारमातहतका वन कार्यालयहरू रहेका छन् । सबै समन्वयात्मक कार्यहरू निकुञ्ज विभागले गर्ने र प्रजातिको अनुसन्धान र निगरानीका कामहरू राष्ट्रिय प्रकृति संरक्षणजस्ता संस्थाहरूसँग सहकार्य गर्न सकिने उल्लेख छ । कार्ययोजनाको नियमित अनुगमन तथा मूल्यांकनका लागि सरवकारवालाहरूको भूमिका के कस्तो रहन्छ भन्ने पनि छ । 

प्रजातिहरूको संरक्षण तथा गणनामा राज्यलाई बेला-बेला दाताकै भर लाग्‍नुपर्ने बाध्यता रहेको भाष्य भइरहेको सन्दर्भमा यो कार्ययोजनाले स्थानीय स्तरमा प्राप्त स्रोत साधन तथा अन्य कार्ययोजना कार्यान्वयन गर्दा पनि केही हदसम्म संरक्षण गर्न सकिने देखिन्छ । यद्यपि यो कार्ययोजना दाताकै सहयोगमा निर्माण गरिए पनि नेपालले अवलम्बन गर्दै आएको संरक्षण कार्यलाई निरन्तरता दिने हो भने वन कुकुर संरक्षणमा योगदान पक्कै पुग्‍ने छ । विश्वकै पहिलो वन कुकुर संरक्षण कार्ययोजना भएकाले नेपालले महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा लिइएको छ ।

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully