चीन,भारतसहित १२ वटा मुलुकमा पाइने वन कुकुरको संरक्षण कार्ययोजना बनाउने पहिलो मुलुक बन्यो नेपाल
संरक्षणको क्षेत्रमा नेपालले विश्वमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । केही साताअघि नेपालमा हिउँ चितुवा पाइने मुलुकका प्रतिनिधि सहभागी भएर अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय संकल्प पूरा गर्ने पहिलो राष्ट्र नेपाल बन्यो । यस्तै संरक्षणका काम गरेबापत विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि नेपालले पाएको अवस्था छ ।
नेपाल अहिले संरक्षणको क्षेत्रमा नयाँ काम गरेको छ । त्यो हो पहिलो वन कुकुर संरक्षण कार्ययोजना निर्माण गरेर । संकटापन्न वन्यजन्तुको सूचीमा रहेको दुर्लभ जीव वन कुकुर दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकका १२ वटा मुलुकमा पाइन्छ । वन कुकुर पाइने मुलुकमध्ये नेपालले यो जीवको संरक्षणका लागि भनेर पहिलो पटक कार्ययोजना बनाएको हो । त्यसअघि नै नेपालले सन् २०२३ मा दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलन राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा चितवनमा गरेको थियो ।
वन कुकुरको संरक्षणका लागि भनेर नेपालले सबैभन्दा पहिला संरक्षण कार्ययोजना बनाएको छ । हालै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागले वन कुकुर संरक्षणका लागि संयुक्त कार्ययोजना सार्वजनिक गरेका छन् ।
अंग्रेजीमा एसियाटिक वाइल्ड डग (ढोल) भनेर समेत चिनिने वन कुकुर नेपालमा करिब ५ सय भन्दा कमको संख्यामा रहेको अनुमान छ । नेपालसहित भारत, चीन, भुटान, बंगलादेश, चीन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, म्यानमारमा र भियतनाम यो जीव पाइएको छ । यद्यपि भियतनाममा यसको संख्या अत्यन्तै न्यून रहेको अनुमान छ । अफगानस्तान, काजाकिस्तान, किर्गिस्तान र उज्बेकिस्तानबाट लोप भइसकेको अवस्था छ ।
आईयूसीएनको संकटापन्न सूचीमा रहेको यो जीवको वयस्क संख्या विश्वमा २ हजारदेखि २२ सय वटा मात्रै रहेको अनुमान छ । यो मांसाहारी जीवको विश्वमा के कस्ताो अवस्था छ भनेर विस्तृत विवरण अभिलेख अझै हुन सकेको छैन । भर्खरै यसको विचरण सम्बन्धमा आईयूसीएन ढोल विशेषज्ञ समूहले अध्ययन गरेको छ । जहाँ यसको फैलावट पश्चिम भारत, मध्य भारत र हिमालयको फेदी हुँदै दक्षिणपूर्वी एसियासम्म पाइने गरेको अनुमान छ ।
वन कुकुर ब्वाँसोभन्दा तल्लो उचाइ भएको भूगोलमा पाइन्छ । स्यालभन्दा केही ठूलो हुन्छ । झुप्प परेको कालो पुच्छर भएको यो जीवलाई पूर्वी पहाडमा मिल्के, ठाडाकानेसमेत भनेर चिन्ने गरिन्छ । यो प्रजातिको संख्या नेपालमा करिब ५ सय भन्दा कम रहेको अनुमान छ ।
कन्चनजंघा संरक्षण क्षेत्रबाट संरक्षणकर्मी अम्बिकाप्रसाद खतिवडाले क्यामेरा ट्य्रापमार्फत वन कुकुरको वैज्ञानिक अभिलेख गरेका थिए । खतिवडाले अभिलेख गरेको ४ हजार मिटर उचाइ नै नेपालमा पाइएको वन कुकुरको अधिकतम् उच्च स्थान हो । भारतको लद्दाखमा भने यो जीव ५ हजार ३ सय मिटरको उचाइमा पनि कैद भएको छ । गर्मीदेखि चिसो ठाउँसम्म अभिलेख भएको वन कुकुरको कम अनुसन्धान भएकाले यसबारे विस्तृत नेपाली अनुसन्धानकर्ताहरूसँग छैन । यसको विचरण क्षेत्र, आनीबानीबारेमा थप बुझ्नु आजको आवश्यकता हो । यसको आहरा प्रजातिमा याक, घोरल, मलसाप्रो, निरबिरालो लगायतका जीवहरु पनि पर्छन् । यसले मुसादेखि खरायोसम्मका जीवहरूलाई खान्छ ।
सन् २०१० यता तराईका चितवन, पर्सा,बर्दिया,बाँकेका निकुञ्ज क्षेत्रमा यो जीव क्यामेरा ट्रायपमा कैद भएको थियो । पहाडी क्षेत्रको सावलमा कन्चनजंघा, तीनजुरे-मिल्के-जलजले, मकालु वरूण राष्ट्रिय निकुञ्ज, गौरीशंक संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्रलगायतका स्थानहरूमा भेटिएको अभिलेख छ । संरक्षण क्षेत्र बाहिर भने उदयपुरको त्रियुगा जंगल र दाङको जंगलमा पनि अभिलेख गरिएको भनेर दोस्रो अन्तर्राष्ट्रिय ढोल सम्मेलनमा प्रस्तुत गरिएको थियो ।
उसो त नेपालमा वन कुकुर देखिएको सन्दर्भमा भारतका प्रख्यात संरक्षणकर्मी तथा प्राध्यापक वाईबी झालाले सन् १९९७ मै बर्दिया क्षेत्रमा वन कुकुर देखिएको उल्लेख गरेका छन । त्यसबेला उनले भारतको राष्ट्रिय बाघ गणनाका क्रममा आफूले वन कुकुरको समेत अध्ययन गर्ने मौका पाएको पंक्तिकारलाई सन् २०२३मा चितवनमा भएको दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनलाई बताएका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्य्रापमा देखिएको वन कुकुर । तस्बिर : कोर्नेल विश्वविद्यालय
जंगलको कोर क्षेत्रभित्र बस्ने वन कुकुरको अवस्था बाघभन्दा बढी संकटमा रहेको अनुमान छ । समूहमा बसेर शिकार गर्ने यो जीव क्यानिड परिवारको सदस्य हो । यो परिवारमा ब्वाँसो, स्याल, घर कुकुरलगायतका जीव पर्छन् । यो जीव कम संख्यामा देखिनुमा पनि अन्य प्रजातिको जस्तै, बासस्थान विनाश र क्षयीकरण, आहार प्रजातिको कमी, मानव-वन्यजन्तु द्वन्द्व,रोगव्याधी तथा प्रजातिहरूबीचको द्वन्द्व र प्रतिस्पर्धा रहेको छ । पर्याप्त अध्ययन र अनुसन्धान नहुने र बजेटको कमीले गर्दा यो मांसाहारी जीवबारे थप बुझाइ नेपालको सन्दर्भमा हुन सकिरहेको छैन । यिनको तौल पनि १२ देखि २० केजी हुने अनुमान छ । र, बासस्थान करिब ७५ प्रतिशत विनास भएको कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागले संयुक्त रूपमा ल्याएको वन कुकुर संरक्षण कार्ययोजनामा मुख्यतः नेपालका तीन वटा क्षेत्रलाई विशेष प्राथमिकता दिन खोजेको देखिन्छ । जसमा चितवन-पर्सा खण्ड, बाँके-बर्दिया खण्ड र कञ्चनजंघा भूपरिधि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । कार्ययोजनामा नेपालमा वन कुकुरको उपस्थिति सन्दर्भमा वैज्ञानिक अभिलेख गर्दै यसको फैलावट र संख्यागत हिसाबको उपस्थिति केकस्तो अवस्थामा छ भन्ने थाहा पाउने पनि उल्लेख छ ।
यस्तै, वन कुकुरको विचरण क्षेत्रको नक्सा विकास गर्ने, दीर्घकालीन रूपमा प्रजातिको निगरानीका मापदण्डहरू तयार गर्दै लागू गर्ने र संरक्षणका प्रयासलाई विद्यमान वन्यजन्तु व्यवस्थापन योजनाहरूमा एकीकृत गर्दै लैजानेमा जोड दिएको देखिन्छ । यस्तै, मानव वन कुकुर द्वन्द्व न्यूनीकरण, स्थानीयस्तरमा समुदाय र सांसदहरूबीच सचेतना फैलाउँदै अन्तरदेशीय सहकार्यमा जोड दिने विषय कार्ययोजनामा समावेश छन् । नेपालमा मानव-वन कुकुर द्वन्द्व सन्दर्भमा के कस्ता अभिलेख छन् तथा वन कुकुरका कारण भएको क्षति र राहत वितरणसम्बन्धीका अभिलेख निकै नै कम छन् ।
संरक्षण कार्ययोजनामा पारस्थितकीय प्रणालीको सुधार गर्दै करिडोर कनेक्टिभिटीलाई सुधार्न पनि जोड दिइएको छ । यस्तै अन्तरदेशीय सहकार्य गर्दै वैज्ञानिक खोज र अनुसन्धानलाई कार्ययोजनाले समावेश गरेको छ ।
वन कुकुर संरक्षण कार्ययोजनामा स्रोत सुनिश्चितताको विषयमा केही पृथक् देखिन खोजेको छ । जस्तो कि नेपालले बनाउने अधिकांश वन्यजन्तु संरक्षण कार्ययोजनालाई पूर्ण रूपमा लागू गराउन दातृ संस्थाहरूको भर पर्नुपर्ने अवस्था छ । वन कुकुरको सन्दर्भमा चाहिँ बाघ र हिउँ चितुवा संरक्षण कार्ययोजनाहरूमा उल्लेख भएका विषयहरु कार्यान्वयन गर्दा ३६ प्रतिशत कार्य सम्पन्न हुने उल्लेख छ ।
कार्ययोजनामा उल्लेख गरिएका कार्यहरूमा कार्यान्वयन गराउन २६ करोड २८ लाख ५० हजार लाग्ने अनुमान छ । तीमध्ये ९ करोड ५९ लाख चाहिँ बाघ र हिउँ चितुवा संरक्षण कार्ययोजनाबाट खर्च गर्न सकिने भनिएको छ । १० वर्षे कार्ययोजना कार्यान्वयन चरणको पहिलो वर्ष ६.७९ प्रतिशत, दोस्रोमा १४.०६, तेस्रो वर्षमा ७.५३ चौथोमा १०.०४ प्रतिशत लगायतका बजेट विनियोजन गरेर संरक्षण गराउन सकिने उललेख छ । ५ वर्षमा एक पटक यो प्रजाति संरक्षणका लागि मूल्यांकन गर्ने भनिएको छ ।
कार्ययोजनामा भएका कार्यहरू सम्पन्न गराउन मुख्य भूमिका निकुञ्ज विभाग, वन विभाग र प्रदेश सरकारमातहतका वन कार्यालयहरू रहेका छन् । सबै समन्वयात्मक कार्यहरू निकुञ्ज विभागले गर्ने र प्रजातिको अनुसन्धान र निगरानीका कामहरू राष्ट्रिय प्रकृति संरक्षणजस्ता संस्थाहरूसँग सहकार्य गर्न सकिने उल्लेख छ । कार्ययोजनाको नियमित अनुगमन तथा मूल्यांकनका लागि सरवकारवालाहरूको भूमिका के कस्तो रहन्छ भन्ने पनि छ ।
प्रजातिहरूको संरक्षण तथा गणनामा राज्यलाई बेला-बेला दाताकै भर लाग्नुपर्ने बाध्यता रहेको भाष्य भइरहेको सन्दर्भमा यो कार्ययोजनाले स्थानीय स्तरमा प्राप्त स्रोत साधन तथा अन्य कार्ययोजना कार्यान्वयन गर्दा पनि केही हदसम्म संरक्षण गर्न सकिने देखिन्छ । यद्यपि यो कार्ययोजना दाताकै सहयोगमा निर्माण गरिए पनि नेपालले अवलम्बन गर्दै आएको संरक्षण कार्यलाई निरन्तरता दिने हो भने वन कुकुर संरक्षणमा योगदान पक्कै पुग्ने छ । विश्वकै पहिलो वन कुकुर संरक्षण कार्ययोजना भएकाले नेपालले महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा लिइएको छ ।
