दलितलाई उठीबास लगाउने धर्म किन चाहियो ?

के प्रहरी, प्रशासन, महान्यायाधिवक्ताको कार्यालय, दलित आयोग, मानवअधिकार आयोग र न्यायालय यी विभेदकारीलाई जेल पठाउन तयार छन् ? उनीहरूसँग छ त्यो हिम्मत ?

चैत्र ८, २०८१

सुशील विके

Why do Dalits need a religion to uplift them?

एकाबिहानै कान्तिपुर दैनिकको पाना पल्टाउँदै गर्दा आङ सिरिङ्ग पार्ने मुख्य समाचारको शीर्षक थियो, 'महायज्ञ गर्न भन्दै दलितको घरमा डोजर लगाएर उठीबास' । बिहानै यस्तो खबर पढेपछि मानिसको मनस्थिति कस्तो हुन्छ होला ?

मैले पनि सामाजिक सञ्जालमा समाचारसहित पोस्ट गरेँ, 'बिहानै यस्तो अति दुखद समाचार पढ्न विवश हामी । यो पढेपछि तपाईँलाई कस्तो लाग्यो ? मनस्थिति कस्तो भयो ? कस्तो समाज, कस्तो देशको नागरिक रहेछु भन्ने लाग्यो ? यदि यो घर तपाईँ मेरो भएको भए के गर्थ्यौं ? के यस्तो चरम अत्याचार गर्ने पनि धर्म हुन सक्छ ? के यस्ता अत्याचार, दमन, शोषण गर्ने मानिसको जीवन तहसनहस पार्ने धर्मलाई मानेर बस्ने ? आउनुहोस् चिन्तन मनन गरौँ ।' 

आम दलित समुदायले उत्साहका साथ मनाउने अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस ‘२१ मार्च’ का लागि एक कार्यपत्र तयार गर्दै थिएँ । तर, यो खबर पढेदेखि नै मन मस्तिष्कमा निकै उकुसमुकुस भयो । अनेकौं प्रश्न उब्जिए । संविधान र कानुनले छुवाछुत निषेध गरेको छ । नेपाल छुवाछुतमुक्त घोषणा भएको दुई दशक पुग्न लाग्यो ।

हामी ६० औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाइरहेका छौँ, तर छुवाछुत ज्युँका त्युँ छ । बरु नयाँ स्वरुपमा झन् गम्भीर भएर बढ्दो छ, त्यो पनि राज्यका अधिकारीकै संलग्नतामा । यो घर भत्काउने कदम पनि त्यसकै उत्कर्ष थियो । जीवनको सुख-दु:ख, उकाली-ओरालीमा मन बहलाउने, बिसौनी, चौतारी हो घर । मानिसको सर्वस्व भनेकै उसको घर हो । त्यही घर भत्काइदिएपछि त्यो दलित परिवारमा कस्तो असर परेको होला ?

यदि कसैले शिवजी यादव र वजरंगी बाबाको घर भत्काइदिएमा के हुन्छ ? आफूलाई सधैं हिन्दु धर्मावलम्बी भन्दै आएका दलित समुदायमाथि किन धर्मकै नाममा सधैं विभेद गरिन्छ ? किन उनीहरूलाई स्वीकार गरिँदैन ? के यो कदम हिन्दु वर्ण, जात व्यवस्थामा आधारित उच्च जातीय अहंकार होइन ? मनमा उब्जेका यस्ता कयौं प्रश्नले यो आलेख तयार नगरी बस्नै नसक्ने अवस्थामा पुर्‍यायो । यो लेखले हिन्दु धर्म र जनप्रतिनिधिको भूमिकाबारे क्रिटिकल बहस गर्नेछ ।

दलित समुदायको सघन बसोबास रहेको र दलितमाथि सबैभन्दा बढी विभेदका घटना हुने जिल्ला सिरहा हो । यो घटना पनि यही जिल्लाको औरही गाउँपालिका–५ मा भएको हो । यस स्थानमा विष्णु महायज्ञ गर्नका लागि बजरंगी बाबाको आदेशमा गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर स्थानीय दीपक मलिक डोमको घर भत्काइएका छन् ।

दलितलाई महायज्ञ हुने स्थानमा राख्न नहुने भन्दै उनीहरूको घर मात्र भत्काइएको छैन, दलितले छोएर अशुद्ध भएको भन्दै दुई फिट खनेर त्यहाँको माटो पनि फालिएको छ । धर्मकर्म गरेर पुण्य कमाउन भन्दै महायज्ञ लगाउन खोज्ने अनि एउटा गरिब, निर्दोष र निमुखा दलित परिवारको उठीबास लगाउने ? यो कस्तो धर्म हो ? यो धर्म कसका लागि हो ? यसरी आफ्नो उठीबास लाउने धर्म दलित समुदायलाई किन चाहियो ?

दलितले हिन्दु धर्म त्याग्नुको विकल्प छ त ?

धर्म के हो ? धर्म किन मान्ने ? धर्म नमाने के हुन्छ ? नेपालमा केलाई धर्म भनिँदै आएको छ र मानिसको धर्मप्रतिको आस्था कस्तो छ ? आफू अनुकूल धर्म मान्ने वा नमान्ने छुट मान्छेलाई छ कि छैन ? संसारमा मानिसहरूले धर्मलाई कसरी हेर्ने गरेका छन् ? यस्ता गम्भीर र स‌ंवेदनशील प्रश्नको उत्तरका लागि घोत्लिने हो भने एउटा विषय मनमा आउँछ मानिसको जीवनलाई नै नरक बनाउने धर्मका बारेमा गम्भीर बहस जरुरी छ । 

भन्न त मानिसले धर्म मानिसलाई अनुशासित बनाई सुमार्गमा हिँडाउन, मानिसको उन्नति र प्रगति गर्न, पाप कर्म गर्नबाट जोगाउन बनाइएको भन्छन् । भगवान्‌सँग जोडेर मानिसको संरक्षणका लागि धर्म बनेको भनिन्छ । यदि धर्मको यस्तो पवित्र उद्देश्य छ भने किन हिन्दु धर्मले सधैं दलितको मात्र उठीबास लाउँछ ? किन हिन्दु धर्मले दलितको जीवनलाई नारकीय बनाउँदै आएको छ ? हिन्दु धर्म मान्ने अधिकांशले दलित समुदायमाथि धर्मकै नाममा बारम्बार गर्ने विभेद, अन्याय र अत्याचारको समग्र प्रवृति विश्लेषण गर्दा हिन्दु धर्म दलितका लागि बनेको होइन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । 

दलित समुदायले मठ मन्दिरमै सबैभन्दा बढी विभेद भोग्दै आएका छन् । अधिकांश मन्दिरमा अहिले पनि प्रवेश निषेध छ । त्यसो त हिन्दु धर्मको उत्पत्ति र विकास नै विभेद, बहिष्करण र असमानतासँग जोडिएको छ । ऋग्वेदको दसौं मण्डलबाट सुरु भएको ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रजस्ता चार वर्ण रहेको वर्ण व्यवस्था नै आजको विभेदको जरो हो । उपनिषद्, पुराण र स्मृति हुँदै जात व्यवस्थामा रुपान्तरण भएको यसलाई जंगबहादुर राणाले विसं १९१० को मुलुकी ऐनमार्फत कानुनी रूपमै संस्थागत गरे ।

यसले नेपाली समाजलाई अनन्तकालसम्म अन्धकार र पछौटेपनमा धकेल्ने काम गर्‍यो । आजको दुनियाँ सूचना, प्रविधि र विज्ञानमा फड्को मारेर कहाँ पुगिसक्यो, नेपाली समाज भने यही वर्ण र जात व्यवस्थालाई काखी च्यापेर बसिरहेको छ । नेपाली समाज ज्ञान, विज्ञान र चेतनामा आधारित भएको हुन्थ्यो भने दलितहरूले यसरी विभेद भोग्न पर्ने थिएन ।  

महिला र दलितमाथि हुने विभेदको मूल स्रोत हिन्दु वर्ण र जात व्यवस्था नै हो । ऋग्वेदको दसौं मण्डलमा चार वर्णको कल्पना नगरेको भए समाजमा यसरी श्रेणीगत विभाजन र विभेद हुने थिएन । अहिले महिलाले ४८ दिन मन्दिरमा पूजापाठ गर्न पाउँदैनन् । उनीहरूमाथि छुवाछुत हुन्छ । दलितहरूले ३ सय ६५ दिननै पूजापाठ गर्न पाउँदैनन् । उनीहरूले वर्षभरि नै हरेक कदम, श्रण पलमा विभेद भोग्दै आएका छन् ।

मठ मन्दिर, धारा, भोजभतेर, जन्म, विवाह र मृत्यु संस्कार सबैमा धर्मकै आडमा विभेद हुँदै आएको छ । यसरी मानिसको जीवन नै नारकीय बनाउने धर्मलाई मान्नैपर्छ, अँगाल्नैपर्छ भन्ने केही छ ? के हिन्दु धर्मलाई बहिष्कार गर्ने वा त्यागेर सधैंका लागि भौतिकवादी बन्न सकिँदैन र ?

धर्मका नाममा एकथरीले महास्वर्गको उपभोग गरिरहने र एकथरीले चरम विभेद, अत्याचार, दमन शोषण भोगिरहने हो भने त्यो धर्म असान्दर्भिक हुन्छ, त्याज्य हुन्छ । दलितहरूले हजारौं वर्षदेखि भोग्दै आएको धर्मले थोपरेको विभेद, शोषण र दमनको भारी कहिलेसम्म बोकिरहने ? नारकीय जीवन कहिलेसम्म बाँचिरहने ? सबै कुराको एउटा सीमा हुन्छ । जब धैर्यको बाँध टुट्छ, जब चेतनाको ढोका खुल्छ र मानव मर्यादाप्रतिको मोह बढ्छ, तब क्रान्ति हुन्छ, संघर्ष हुन्छ । अहिले दलितहरू यही चरणमा छन् । यसैले अब हिन्दु धर्म त्यागेर सांस्कृतिक क्रान्ति गर्ने दिशामा दलित समुदाय अग्रसर हुन आवश्यक छ । 

अम्बेडकरले आफ्नो जीवन हिन्दु धर्मशास्त्रको अध्ययन र विश्लेषणमा समर्पित गरे । जातव्यस्थाको जरो हिन्दु वर्ण व्यवस्था भएको पत्ता लगाए । हिन्दु धर्मभित्रको विभेद अन्त्यका लागि जीवनभर संघर्ष गरे । तर कट्टर हिन्दुवादी, विभेदकारी, रुढीवादीहरूसँग उनको केही जोर चलेन । हिन्दुवादीहरू सच्चिन तयार भएनन् । विभेद अन्त्य गर्न तयार भएनन् ।

यसपछि अम्बेडकरले निष्कर्ष निकाले कि हिन्दुधर्ममा बसेर दलित मुक्ति सम्भव छैन । र उनले हिन्दु धर्मलाई सधैंका लागि परित्याग गरी बुद्ध धर्म अँगाले । आजभन्दा करिब सय वर्षअगाडि अम्बेडकरले निकालेका निष्कर्षहरूबाट नेपालका दलितहरूले किन शिक्षा लिन सक्दैनन् ?  

पशुपति कोटीहोममा ठूलै तामझामका साथ दलितलाई व्यासासन गराउनेहरू अहिले कहाँ छन् ? धर्ममा कुनै विभेद छैन भन्ने गैरदलितको भाषा बोल्दै स्वर्ग पुगेको अभिव्यक्ति दिने कृष्ण दमाईले यो घटनामा के भन्छन् ? हिन्दु धर्मलाई सुधार गर्न कस्सिएका मित्र परियार र कर्ण विश्वकर्माहरू के भन्छन् ? के धार्मिक समुदायमा दलितमाथि भएको यस्तो अत्याचार हेर्ने आँखा छ ? दलितलाई न्याय दिने चेतना छ ? कि दलितलाई जे गरे पनि हुन्छ भन्दै दमन गरिरहने प्रवृत्ति मात्र छ ? यदि विभेद र दमन गरिरहने हो भने दलितहरूलाई हिन्दु धर्ममा केहीले पनि रोक्न सक्दैन । 

विभेदकारी जनप्रतिनिधिलाई बहिष्कार किन नगर्ने ?

पछिल्लो समयमा जातीय विभेद र छुवाछुतका घटनामा संलग्न हुने या संरक्षण गर्ने काममा सबैभन्दा बढी राज्यका अधिकारीहरूको संलग्नता देखिन्छ । मन्त्री, सांसद, जनप्रतिनिधि, कर्मचारी, प्रहरी सबैले दलित समुदायमाथि विभेद गर्ने क्रम बढ्दो छ । पछिल्लो लहरमा सिराहाका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव उभिएका छन् । यो राज्य संरक्षित विभेदको चरम नमुना हो । राज्यको महत्त्वपूर्ण निकायमा बसेर दलितमाथि विभेद, दमन गर्ने, नांगो नाँच नाच्ने यस्ता जनप्रतिनिधिको जति भर्त्सना गरे पनि कम हुन्छ । 

अध्यक्षलाई संविधान र कानुनको सामान्य ज्ञान पनि छैन ? यदि छ भने संविधान र कानुनले निषेध गरेको विभेद गर्न किन अग्रसर भए ? धार्मिक मान्छे हुन् भने किन विभेद गर्न तयार भए ? दलित समुदायको समेत भोटले निर्वाचित हुने अनि तिनै दलितमाथि बर्बर दमन गर्ने ? अत्याचार गर्ने ? धर्मको आडमा निरीह दलित परिवारको घर भत्काउने अधिकार उनलाई कसले दियो ? के उनी संविधान र कानुनभन्दा माथि छन् ? उनको यो हर्कतको जति निन्दा गरे पनि कम हुन्छ । उनी जस्ता मानिस वा जनप्रतिनिधिको यो धर्तिमा कुनै औचित्य छैन । उनलाई कडा कानुनी कारबाही गर्नुका साथै आम दलित समुदाय र परिवर्तन र न्यायका पक्षधरले बहिष्कार गर्नुपर्छ । 

स्थानीय सरकारले विशिष्ट कानुन तथा नीतिहरूको निर्माण गरी तिनको कार्यान्वयनका लागि कार्ययोजना निर्माण गर्न सक्छ । आम नागरिकमा शिक्षाका माध्यमबाट जागरुकता अभिवृद्धि गर्ने, जातिवादी कार्यमा संलग्न दोषीलाई कडा कानुनी कारबाही र पीडितका लागि प्रभावकारी उपचार क्षतिपूर्तिको व्यवस्था गर्ने, प्रभावकारी अनुसन्धान र खण्डीकृत तथ्यांक व्यवस्थापन गर्ने जिम्मेवारी लिन जरुरी छ । डिजिटल प्लेटफर्ममा गरिने विभेद, घृणायुक्त अभिव्यक्ति र उत्तेजनालाई रोक्न ठोस काम गर्ने, भेदभावपूर्ण नीति, संरचना र संस्थाहरूलाई भत्काउने र संविधानको प्रभावकारी कार्यान्वयन गरी सबैलाई समान अवसर उपलव्ध गराउने, समान पहुँचको वातावरण बनाउनेजस्ता काम पनि स्थानीय सरकारले गर्नुपर्छ । यति ठूलो काम गर्ने दायित्त्व बोकेको गाउँपालिका अध्यक्ष आफैं दलित समुदायमाथि धर्मका आडमा विभेद गर्न अगाडि सरेपछि दलित समुदायको अवस्था कस्तो होला ? दलित समुदायले राज्यबाट कस्तो अपेक्षा गर्ने ? वास्तवमा यो निकै गम्भीर विषय हो । 

जातीय विभेद गर्ने पार्टीका नेता कार्यकर्तालाई कडा कारबाही गर्नुको सट्टा संरक्षण गर्ने दलहरूको प्रवृत्तिले पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधि यस्ता कार्यमा संलग्न हुने क्रम बढेको छ । यस्तो परिवेशमा उनी संलग्न पार्टीले अविलम्ब कारबाही गर्नुपर्दछ । जसरी उनले दलित परिवारको घर भत्काएर उठीबास लगाएका छन्, त्यसरी नै उनलाई छुवाछुत ऐन तथा मानवताविरुद्धको गम्भीर अपराधको मुद्दामा जेलको चिसो छिँडीमा पुर्‍याउनुपर्छ ।

विभेदकारीहरूले चेतून् कि छुवाछुत गर्दा के हुन्छ । के प्रहरी, प्रशासन, महान्यायाधिवक्ताको कार्यालय, दलित आयोग, मानव अधिकार आयोग र न्यायालय यी विभेदकारीलाई जेलमा पठाउन तयार छन् ? उनीहरूसँग त्यो हिम्मत छ ? कि कतै उनीहरू पनि हिन्दु वर्ण र जातव्यवस्थाको गुलाम बनेर समर्थन गर्छन् वा मौन बस्छन् ? 

अन्त्यमा 

हिन्दु धर्म मान्ने, धर्ममा आस्था राख्ने र धार्मिक गतिविधिमा संलग्न मानिस मन मस्तिष्कमा वर्ण र जात व्यवस्थाको विष बोकेर हिँडिरहेका हुन्छन् र मौका पाउन साथ धर्मकै आवरणमा गरिब, निमुखा, महिला र दलितमाथि डस्छन् । यसैले आम दलित समुदाय हिन्दुधर्मबाट टाढा हुनु नै मुक्तिको सबैभन्दा प्रभावकारी बाटो हुन सक्छ । हुन पनि नेपालको दलित आन्दोलनले धर्मलाई हेर्ने र विश्लेषण गर्ने स्पष्ट दृष्टिकोण तयार गर्न सकेको छैन ।

कम्युनिस्ट पार्टीमा संलग्न दलितहरू धर्म कि भौतिकवाद भन्ने भुलभुलैयामा छन् भने अन्य पार्टीमा लाग्नेहरू धर्ममा गहिरोगरी भिजेका छन् । सदियौंदेखि हिन्दु धर्मले दलितमाथि विभेद गर्दै आएपछि दलित मुक्तिको विश्व दृष्टिकोणसहित धर्मलाई हेर्ने दृष्टिकोण तयार गर्न आवश्यक छ । दलितहरूले कुनै पनि धर्म नमान्ने बाटो अबलम्वन गर्नुपर्दछ । यदि धर्म नभई हुँदैन भने मानवतावादी, समानतावादी, न्यायपूर्ण, मानवअधिकारमैत्री नयाँ धर्म र संस्कृति निर्माण गर्ने दिशामा लाग्नुपर्छ । 

बाहिर नआए पनि वर्ण र जात व्यवस्थाबाट शिक्षित र दीक्षित ठूलो संख्याका जनप्रतिनिधि दलित समुदायप्रति चरम अनुदार छन् र कुनै न कुनै रुपमा विभेदलाई निरन्तरता दिने पक्षमा छन् । नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने, अनुगमन मूल्यांकन गर्ने र सारमा देश र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने ठेक्का लिएका जनप्रतिनिधि नै विभेदलाई प्रश्रय दिन्छन् भने कसरी विभेदरहित समाज बन्छ ? कसरी संविधान र कानुनको पालना हुन्छ ? यसैले अब हामीले निर्क्यौल गर्नुपर्ने भएको छ कि जुन पार्टी नेता वा जनप्रतिनिधिले विभेद गर्छन् उनीहरूलाई कडा कानुनी कारबाही गर्ने र सार्वजनिक रुपमा बहिष्कार गर्ने । साथै हिन्दु धर्म त्यागी वर्ण र जात व्यवस्थाको समूल अन्त्यका लागि संघर्ष गर्ने ।

सुशील लैंगिक समानता तथा सामाजिक समावेशीकरण, मानवअधिकार, दलित अधिकार र समावेशी विकासको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका विके नीति अध्ययन र विश्लेषण गर्छन् ।

Link copied successfully