करिब २४ सय वर्षअघि मौर्य सम्राट अशोकले हात्तीलाई हानी पुर्याउनेलाई कडा दण्ड दिने धार्मिक नियम बनाएका थिए । संभवत: अन्य महादेशमा मानिसहरुको दबदबा बढ्दै गर्दा सखाप भएका हात्ती जस्ता ठूला स्तनधारी जीव यहाँ बाँचिरहनुको कारण यहाँका राजाहरुले गरेका हात्तीको बासस्थान संरक्षण, नैतिक र धार्मीक कानुनको माध्यमबाट लगाएको हात्ती शिकारको प्रतिबन्ध र हात्ती पालन हुनसक्छ ।
आज हामी जुन ठाँउमा बसेर पर्यावरणको बारेमा विमर्श गर्ने तरखर गर्दैछौं । त्यो ठाउँ अर्थात झापा पर्यावरणको हिसाबले आफैमा एउटा अलौकिक ठाउँ हो । यहाँबाट करिब ३० किलोमिटर पर दक्षिण पश्चिममा ६,००० हेक्टरमा फैलिएको एउटा जंगल छ ।
जलथल भनिने उक्त जंगल डुल्ने हो भने, यूरोपको सबैभन्दा बढी वनक्षेत्र भएका तीन देश स्वीडेन (३०), फिनल्यान्ड (३०) र स्पेन (८०) एकमुष्ठ डुल्दा भेटिने भन्दा बढि प्रजातिका रुखहरु (१५५) त्यहाँ भेटिन्छन् । जलथलको जंगलमा पाइने चराको संख्या पनि यूरोपमा चरामा सबैभन्दा धनी मानिने देश वुल्गेरिया (२०१) को भन्दा बढि (२३५) छ । त्यति सानो भूभागमा यति धेरै थरिका वनस्पति, जीवजन्तु र च्याउ पाइने जलथल जस्तो प्राकृतिक सम्पदाहरुलाई जोगाएर राखेको झापामा आएर पर्यावरणको विमर्श गर्नु आफैंमा उत्साहप्रद र सान्दर्भिक छ ।
अहिले हामी नेपालको पर्यावरणीय संकटबारेमा विमर्श गर्न गइरहेका छौं । मलाई लाग्छ, वर्तमानलाई कोट्याउनुअघि इतिहास र इतिहासलाई बुझ्नुअघि अझ प्राग इतिहासलाई नियाल्न जरुरी हुन्छ । किनभने अहिलेको पर्यावरणीय संकटहरुको जरो शिकारी फिरन्ते दुनियाँबाट कृषि हुँदै औद्योगिक युगसम्म आइपुग्दा मानव प्रजातिले गरेको अकल्पनिय ‘प्रगति’ सँग जोडिएको छ । त्यसैले म तपाईंहरुलाई एकपल्ट इतिहासतिर फर्काउने जमर्को गर्दछु ।
झापाको यस सिवालिक क्षेत्र आज भन्दा १ लाख वर्ष अगाडि कस्तो थियो होला ? यहाँको भूगोल, नदीनाला, वनजंगल र जीवजन्तु कस्ता थिए होलान् ? संभवत त्यतिखेर यो भूमि मानवरहित थियो, मानव पूर्खाहरु यहाँसम्म आइपुगिसकेका थिएनन् । तर अफ्रिकी हात्तीको प्रजातिबाट २० देखि ५० लाख वर्षअघि छुट्टिएर विकसित एशियन हात्तीका प्रजातिहरु भने यहाँ आइपुगिसकेका थिए । ती हात्तीसँगै लामो समयसम्म यस भूमिमा बाघ, गैंडा जस्ता ठूला स्तनधारी जीवहरु स्वतन्त्र रुपमा विचरण गर्थे होलान् ।
ती जीवहरु आइपुगेको धेरैपछि अर्थात् करिब ४४ देखि ७३ हजार वर्ष अघितिर अफ्रिकाबाट नै आएका मानव पूर्खाहरु यस ठाउँबाट केही सय किलोमिटरको दूरीमा अवस्थित बंगालको खाडी नजिकै भएर मलायाको जंगल हुँदै अष्ट्रेलिया पुगे । उनीहरुसँग छुट्एिका केही झुन्ड मानवहरु हिँड्दै जाँदा २० देखि २४ हजार वर्षअघि चीन र जापानको बाटो हुँदै १३ देखि १५ हजार वर्षपहिले अमेरिका पुगेर घरजम गरे ।
म मान्छेले आगो पत्ता लगाएर त्यसमा मासु पोलेर खान जानिसकेपछिको हाम्रा फिरन्ते जंगली पूर्खाको बारेमा कुरा गर्दैछु । यसरी अफ्रिकाबाट यात्रा सुरु गरेको मान्छे, जहाँ जता पुगे, त्यहाँ भएका ठूला जीवजन्तुहरुलाई उनीहरुले सखापै पारे । मानव प्रजातिको संसार यात्रा र बाँच्ने संघर्षको खान्की वा ऊर्जा आखिरमा त्यस्तै ठूला स्तनधारी जनावरहरु त थियो । स्थापित तथ्यहरुले बोल्छन् करिब ५५ हजार वर्षदेखि १३ हजार वर्ष अघिसम्मको समयमा यस पृथ्वीमा भएका १७८ प्रजातिका ठूला शरीरयुक्त जीवहरु सदाका लागि लोप भए । त्यसको कारक पृथ्वीको इतिहासमा पहिले देखिएका जस्ता ज्वालामुखी, छुद्र ग्रह नभएर मानव थियो । हामी थियौं । अर्थात हाम्रा पूर्खाहरु थिए ।
भौगोलिक रुपमा हेर्दा सबैभन्दा धेरै संख्याका त्यस्ता जीवहरु अष्ट्रेलिया (८८ प्रतिशत) र अमेरिका (८३ प्रतिशत) मा मासिए र सबैभन्दा कम अफ्रिका र एशियामा । अफ्रिका मानव उत्पत्तिस्थल भएकोले त्यहाँ ठूला जीवहरुको मानवसँगको सम्बन्ध अन्यत्र भन्दा धैरे पुरानो भएकोले उनीहरुले मानविय उत्पीडन सहने प्राकृतिक अनकुलता हासिल गरे, अनि बाँचे । जुन सुविधा मानव पुगेका नयाँ ठाउँका जीवहरुलाई थिएन । फलस्वरुप तीनीहरु मानिसका शिकार बने ।
भारतीय उपमहाद्विपमा कसरी बचे ठूला जीवहरु?
यस भारतीय उपमहाद्विपमा त्यस्ता ठूला जीवहरु किन सोत्तर भएनन् होला ? सहअस्तित्व । हो, यस भेगमा विकसित मानिस र हात्तीको सहसम्बन्धले हात्तीलाई सखाप हुनबाट जोगाएको हुनसक्छ । भारतीय उपमहाद्विपमा कम्तिमा ४ हजार वर्ष पहिलेदेखि हात्ती मानव सभ्यता, संस्कृति, धर्म र अर्थतन्त्रको महत्त्वपूर्ण पाटो बन्न सफल भएको देख्न सकिन्छ ।
यहाँका शासकहरु विषेशगरी राजा महाराजाले हात्तीलाई पाल्ने गरेको र राज्यको शक्ति र प्रतिष्ठाको मापन हात्तीको संख्याले निर्धारण गर्ने गरेको समेत पाइन्छ । भारतीय उपमहाद्विपमा शासन गरेका मौर्य, गुप्ता र मुगलका सेनाहरुले लडाइँमा हात्तीको व्यापक प्रयोग गर्ने गर्दथे । त्यसको लागि उनीहरुले हात्तीको बासस्थान जोगाउन वनको संरक्षण गर्ने गरेको भेटिन्छ ।
करिब २४ सय वर्षअघि मौर्य सम्राट अशोकले हात्तीलाई हानी पुर्याउनेलाई कडा दण्ड दिने धार्मिक नियम बनाएका थिए । संभवत: अन्य महादेशमा मानिसहरुको दबदबा बढ्दै गर्दा सखाप भएका हात्ती जस्ता ठूला स्तनधारी जीव यहाँ बाँचिरहनुको कारण यहाँका राजाहरुले गरेका हात्तीको बासस्थान संरक्षण, नैतिक र धार्मीक कानुनको माध्यमबाट लगाएको हात्ती शिकारको प्रतिबन्ध र हात्ती पालन हुनसक्छ ।
एकलाख वर्षदेखि सम्राट अशोकसम्मको यहाँको मोटामोटी इतिहासलाई हामीले पर्यावरणीय जर्गेनामा भन्दा ठूला जीवजन्तुको विनाशलाई जैविक विविधता ह्रास (वैज्ञानिकहरुले त्यसलाई Quaternary Megafuna Extinction भन्छन्) र सम्राट अशोकको कदमलाई जैविक विविधताको संरक्षण भन्न सकिन्छ ।
अब लाख र हजार वर्षको प्राग इतिहासबाट फास्ट फरवार्ड गर्दै म तपाईहरुलाई केही सय वर्ष अघिको समयमा ल्याउँछु । सन् १७७३ तिर अर्थात् ठ्याक्कै २५२ वर्षअघि गोरखाली राजा पृथ्वी नारायण शाहले पूर्वी नेपाल चढाई गर्दै गर्दा बेलायतका इन्जिनियर जेम्स वाट वाफ इन्जिनलाई परिस्कृत र किफायती बनाउँदै थिए । कोइलाबाट चल्ने उक्त इन्जिन बनेसँगै मेसिन चलाउनको लागि पानीको शक्तिमा भरपर्नुपर्ने अवस्थाको अन्त्य भयो । जसरी हाम्रा गाउँघरका घट्टहरु खोलानदीसँगै हुन्छन्, त्यतिबेला बेलायतमा उद्योगहरु नदीका आसपासमा मात्रै हुन्थ्ये, किनभने उद्योगका मेसिन चलाउन चाहिने ऊर्जा पानीबाट आउँथ्यो । कोइलाबाट चल्ने जेम्सवाटको इन्जिनले उद्योगलाई बेलायतका नदीभन्दा परका क्षेत्रहरुमा मात्रै फैलाएन, उनकै इन्जिनको प्रयोगले बनाइएका पानी जहाज र रेल मार्फत बेलायती प्रभाव र उपनिवेश संसारभर फैलियो ।
औद्योगिक क्रान्तिभन्दा अघिसम्म अर्थात् सम्राट अशोकको समयदेखि पृथ्वी नारायण शाहले माँझ किरातमा चढाई गर्दासम्म पनि, मानिसको ऊर्जाको स्रोत मसल अर्थात् आफ्नै पाखुरा र आफूले पालेका पशुवस्तु मात्रै थिए । तर औद्योगिक क्रान्तिले मान्छेलाई जिवाष्म इन्धन प्रयोग गरेर मेशिन चलाउने सक्ने बनाएपछि उद्योग, कलकारखानाको क्षमता बढ्यो र सँगै व्यापार अर्थतन्त्रको आकार पनि बढ्दै गयो ।
औद्योगिक क्रान्तिपछिका शुरुवाती समयमा बेलायती उद्योगमा काम गर्ने श्रमिकहरुको गरिबी, आयू र कहर बढेता पनि औद्योगिक क्रान्तिले ल्याएको परिवर्तनले संसारभर मानिसहरु धनी, बढी बाँच्ने र सुखी हुन थाले । मानिसको जीवनस्तरमा उल्लेख्य परिवर्तन आयो । सबैभन्दा ठूलो परिवर्तन त्यसपछिका दुईसय वर्षमा पृथ्वीमा मानिसको जनसंख्या १ अरबबाट बढेर ८ अरब पुग्यो । मानव उन्नतिको दौडमा संसारमै पुछारतिर रहेको नेपाल जस्तो देशमा समेत उन्नतिका यस्ता सूचकहरूमा व्यापक परिवर्तन भए । सन् १९५० को तुलनामा अहिले नेपाली लगभग दोब्बर बाँच्ने भए । मैले नै अहिलेसम्म संसारमा निर्मित राज्यहरुमा सबैभन्दा ठूलो राज्यको सम्राट र सबैभन्दा शक्तिशाली मान्छे अलेक्जेन्डर द ग्रेटको भन्दा बढी आयू बाँचिसके । उनी ३२ वर्षको उमेरमा टाइफाइट जस्तो सामान्य रोग लागेर मरेका थिए । आजको दिनमा टाइफाइड त कुनै रोग नै होइन ।
म जन्मँदा नेपालमा लगभग तीन चौथाई मानिसहरु चरम गरिबी (प्रतिदिन २.१५ डलर कमाउने) मा बाँचेका थिए । अहिले त्यो संख्या अत्यन्त न्यून छ । विगत ५० वर्षमा केही भएन भनेर भन्दा भन्दै पनि शिक्षा, आधारभूत स्वास्थ्य, पोषणको अवस्था, बिजुलीको पहुँच र यातायातको विस्तार र वृद्घिमा उल्लेख्य परिवर्तन भएको छ ।
म गोरखामा जन्मेको मान्छे, राजा भए पनि त्यहाँका पृथ्वी नारायण शाहले झलमल उज्यालोमा कहिल्यै भात खान पाएनन् । आज गोरखाको लगभग सबैघरमा बिजुली छ । हामी घामजतिकै उज्यालोमा डिनर खाने भएका छौं । राजा पृथ्वी नारायण शाह त्यो बेलाको किराँत राज्य र हालको मोरङ झापा आउँदा माँझ किरातका धनी ब्राम्हण हरिनन्द उपाध्यायले व्यवस्था गरेको डुंगा तरेर सुनकोशी नदी पार गरेर आएका थिए । हामी नागरिक अहिले उडेर झापा आइपुग्यौं । संभवत: यी सबैको कारणले होला ग्यालुप सर्वेक्षणको नतिजामा आधारित भएर प्रकाशित गरिने विश्वखुसी प्रतिवेदनमा आफ्नो जीवनबाट प्रसन्न छु भन्ने मानिसहरूको संख्या नेपाल लगायत विश्वभर बढेको छ ।
तर मानिसको अकल्पनीय यस्ता प्रगतिको मूल्य मानिसबाहेकको लागि भने चर्को परिरहेको छ । मानिसले घरेलु हतियार चलाउन सिकेपछि ठूला स्तनधारी जनावरहरु यस पृथ्वीबाट चट भएका थिए । मानिसले कोइला र तेल बाल्न जानेपछि त्यसको प्रभाव केही थान जीवहरुमा मात्रै होइन, सिंगै पृथ्वीको हावामा, पानीमा, जमिनमा र जीवनमा परेको छ । समुद्रको गहिराइदेखि सगरमाथाको उचाईसम्म परेको छ । पृथ्वी पहिलेभन्दा फोहोरी र तातो बन्न पुगेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको शब्दमा पृथ्वी अब उम्लने चरणमा प्रवेश गरेको छ ।
गतवर्ष सन् २०२४ मा पृथ्वीको औसत तापमान औद्योगिक क्रान्ति अघिको समयको तुलनामा १.५ डिग्री सेल्सियसले बढी भयो । जुन पृथ्वीकै एक लाख वर्षको इतिहासमै सर्वाधिक तातो वर्ष हो । पेरिस सम्झौता भनिने जलवायू परिवर्तनसम्बन्धी विश्वव्यापी सन्धिले पृथ्वीको तापमानलाई औद्योगिक क्रान्ति अघिको तुलनामा १.५ डिग्री सेल्सियस भन्दा नकटाउने भनेको छ । गतवर्ष अपवाद हुनसक्ला तर हामी विस्तारै त्यो निर्धारित सीमालाई नाघ्ने दिशातर्फ अग्रसर छौं ।
समुद्रको तापमानमा पनि विगत केही वर्ष र दशकयता नयाँ नयाँ रेकर्ड कायम भएका छन् । तापमान बढ्नुको मुख्य कारण पृथ्वीमा थुप्रिँदै गएको कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास उत्सर्जन हो ।
स्वभाविक रुपमा तातो बढेपछि बरफ पग्लन्छ । गत दुई वर्षयता पृथ्वीका उत्तरी र दक्षिणी धुव्रमा जमेको बरफ पग्लने दर अहिलेसम्म मापन गरिएको मध्ये सबैभन्दा उच्च रह्यो । सन् १९७० को तुलनामा उत्तरी धुव्रमा जमेको हिउँको मात्रा हाम्रो देशको क्षेत्रफल भन्दा बढीले घटेको छ । पृथ्वीका दुई धुव्रमा मात्रै होइन, तेश्रो धुव्र भनिने हिमालय क्षेत्रमा पनि तापमान वृद्घिका कारण हिउँहरु पग्लने क्रम त्यसरी नै उच्च भएका छन् ।
यस वर्ष सगरमाथामा हिउँले सधैं ढाक्ने क्षेत्र (५) मिटरमाथि सरेको छ, जुन अक्सर सरदरमा ६१०० मिटरमा हुन्थ्यो । नहोस् पनि किन हिमालय क्षेत्रको तापमान वृद्घिदर अन्यत्रको भन्दा ज्यादा छ । गत वर्ष नै नेपालका ११३ मौषम मापन केन्द्र मध्ये १३ केन्द्रमा यसअघिका उच्च तापमानको रेकर्ड तोडिएको थियो । सन् १९५१ देखि १९८० सम्मको नेपालको औसत वार्षिक तापक्रम ११.६७ डिग्री सेल्सियस थियो भने सन् १९९१ देखि २०२० मा त्यो १२.८५ डिग्री सेल्सियस पुगेको छ । यो दुई अवधिमा नेपालमा सरदर १.१८ डिग्री सेल्सियसले औसत तापमानमा वृद्धि भएको छ । वार्षिक रूपमा दैनिक ३५ डिग्री सेल्सियसभन्दा बढी गर्मी हुने दिनको संख्या पनि प्रत्येक वर्ष बढ्दो छ ।
अहिलेकै अवस्थामा पनि हिमनदी फैलने दर नेपाललगायतका हिमाली क्षेत्रहरुमा अन्यत्रको तुलनामा बढी छ । यदि यसरी नै लामो समयसम्म पृथ्वीको तापमान १.५ डिग्री कायम रहेमा सन् २१०० सम्ममा यस क्षेत्रको ३० देखि ५० प्रतिशत हिमनदीहरु हराएर जाने अनुमान वैज्ञानिकहरुले गरेका छन् । तापक्रमको वृद्घिसँगै जब हिमनदी पग्लेर हिमताल बन्नेछन् । तिनीहरु टाइम बममा रुपान्तरित हुनेछन् । हिमतालहरु विष्फोट हुँदा त्यसले तल्ला तटीय क्षेत्रमा पार्ने प्रभावको नतिजाको यसैवर्ष हामीले थामेमा देख्यौं । र, दुईवर्ष अघि छिमेकी सिक्किममा देख्यौं । अध्ययनहरुले भन्छन्–हिमालय क्षेत्रमा करिब २०० त्यस्ता टाइम बम रुपी हिमतालहरु छन्, जुन कुनैपनि बेला विष्फोट हुनेसक्ने खतरामा छन् ।
तातोपन बढ्दा पानी पर्ने प्रक्रियामा पनि फेरबदल आउँछ । बादल १ डिग्री बढी तातो हुँदा त्यसको पानी बोक्ने क्षमता ७ प्रतिशतले वृद्घि हुन्छ । त्यसैले पृथ्वीको तापमान बढ्दा समुद्र र तालको पानी चाँडै वाफ बन्छ र वायुमण्डलमा आद्रता बढी भएको हावा र बादल थुप्रिन्छ । त्यस्तो बादलले गराउने वर्षा घनघोर र भिषण हुन्छ । जस्तो २०७८ असोज मसान्तदेखि कात्तिक २ सम्म पश्चिम नेपालमा भएको थियो । त्यतिबेला वार्षिक १४०० मिलिमिटर पानीपर्ने डडेलधुरामा ४८ घण्टाभित्रै ५०० मिलिमिटर पानी परेको थियो । बढ्दो तापमानले अतिवृष्टिमात्रै होइन, सुख्खा खडेरी पनि बढाउँछ । जुन पछिल्ला हिउँदहरुमा हामी सबैले अनुभव गर्दै आएका छौं । अंकमै भन्दा, नेपालमा समग्र वार्षिक वर्षाको मात्रामा सन् १९५१–१९८० को तुलनामा १९९१—२०२० मा १३ प्रतिशतले कमी आएको छ ।
निरन्तर तापमान वृद्धिसँगै बढेको अतिवृष्टि, खडेरी, अतिगर्मीले बाढीपहिरो र डडेलोको प्रकोप बढाएको छ । जसले गर्दा कृषि प्रणालीमा, पानीको आपूर्तिमा, जनस्वास्थ्यमा, जनजीविकामा व्यापक प्रभाव पारेको छ । नेपालमा पछिल्ला दशकहरुमा जलवायुजन्य प्रकोपहरु बढ्दै गएका छन् । पछिल्लो दशक अर्थात् सन् २०११ देखि २०२० सम्म सरदर वार्षिक २२५ वटा पहिरो, १५० भन्दा वटा बाढीका घटना घट्ने गरेका पाइन्छ । यसरी जलवायुजन्य घटनाको तीव्र बढोत्तरी हुने तर त्योसँग जुध्ने स्रोतसाधन र सामर्थ्यको अभाव हुने हुँदा नेपाल जलवायु परिवर्तनको खतराको हिसावले विश्वमै उच्च खतरामा भएको मुलुकको श्रेणीमा परेको छ ।
जलवायू परिवर्तनपछिको अर्को पर्यावरणीय समस्या जैविक विविधताको ह्रास हो । पृथ्वीमा भएका जीवनका विविध छटाहरु नै जैविक विविधता हो । हाम्रो खाद्यान्नदेखि हामीले पाल्ने गाईवस्तुको खानासम्म, हामीले प्रयोग गर्ने विभिन्न औषधिदेखि उपभोग गर्ने ऊर्जासम्मको स्रोत जैविक विविधता वा प्रकृति हो । हामीले फेर्ने हावालाई स्वच्छ बनाउन, पानीलाई शुद्घिकरण गर्न, विभिन्न रोगव्याधी र बाढीपहिरो जस्ता प्रकोपबाट मानिसलाई जोगाउन, जैविक विविधता अर्थात् प्रकृतिको अंह भूमिका हुन्छ । झापाको जलथलको जैविक विविधताको चर्चा मैले अघिगरिसके । नेपाल जैविक विविधताले अति धनी पृथ्वीको ३६ ठाउँहरु (वायोडाइभर्सिटी हटस्पट) मध्येमा एक ठाउँ हो ।
तर जलवायु परिवर्तनजस्तै पृथ्वीको हालको जैविक विविधताको अवस्था पनि प्रितकर छैन । विश्वभर विगत ५० वर्षयता मानिसको उपभोगमा १० प्रतिशतले र खाद्यान्न उत्पादनमा ३०० प्रतिशतले वृद्घि भएको छ । १९९० यतामात्रै सहरी जनसंख्या दोब्बर भएको छ । १९७० यता काठको उपयोग विश्वव्यापी
रूपमा ४० प्रतिशतले बढेको छ । नयाँ सहर बसाउन, धेरै उपयोग गर्न र धेरै मान्छेलाई खुवाउन गरिएको जंगल फाडानीले व्यापकता पाएको छ । गत दुई दशक अर्थात सन् २०००–२०२० सम्मको अवधिमा पृथ्वीमा प्रतिवर्ष नेपालको वन बराबरको क्षेत्र फडानी भइरहेको थियो । त्यसैगरी सन् १७०० देखि अहिलेसम्म पृथ्वीको मृगौला भनिने सिमसारको ८० प्रतिशत भाग नष्ट भएको छ । समग्रमा पृथ्वीको ७० प्रतिशत भूभाग मानवजातीले आफू अनुकूल परिवर्तन गरेको छ ।
सामान्यतया एउटा प्रजातिलाई उद्वविकास र फैलावटबाट स्थापित हुन लाखौं वर्ष लाग्छ । हाम्रा पूर्खाहरुले १७८ वटा ठूला प्रजातिलाई नामेट पार्न ४० हजार वर्ष लगाएका थिए । तर गत १०० वर्षयता मात्रै पृथ्वीबाट मेरुदण्ड भएका ४०० प्रजाति लोप भएका छन् । दोहनको यस्तै अवस्था रहिरहे अबको केही दशकभित्र करिब १० लाख जीवजन्तु यस पृथ्वीबाट लोप हुन सक्नेछन् । र, नेपालमा २३३ त्यस्ता
संकटउन्मुख प्रजातिहरु छन्, जसमध्ये धेरैको जनसंख्या घट्दो छ ।
यसरी जीवनको मुलआधार जैविक विविधताको ह्रास हुँदै गएमा त्यसले खाद्य उत्पादन, अर्थतन्त्र र मानव भलाईमा नकारात्मक असर पार्नेछ । उदाहरणको लागि यदि पृथ्वीमा किराहरूको सामूहिक लोप भएमा त्यसले प्रतिवर्ष २३५ देखि ५७७ अरब डलर बराबरको क्षति पुग्ने अनुमान छ र त्यसले खाद्य उत्पादन चक्रमा ठूलो संकट निम्त्याउनेछ ।
तर प्रकृतिमा पाइने सबै प्रजातिहरुले मान्छेलाई वा अन्य जीवनलाई फाइदा नै गर्छ भन्ने छैन् । कतिपय वनस्पति वा जीवजन्तुहरुलाई उनीहरुको उत्पत्तिस्थल र प्राकृतिक वासस्थान भन्दा बाहिर लैजाादा त्यस्ता जीवजन्तु वा वनस्पतिको उग्र फैलावटले नयाँ ठाउँको सामाजिक, आर्थिक, मानवीय तथा स्थानिक पर्यावरणमा हानी नोक्सानी पुग्दछ । जस्तै बीसौं शताब्दीको मध्येतिर सजाउने फूलका रूपमा नेपाल भित्राइएको जलकुम्भी झार अहिले मानव नियन्त्रित वातावरणबाट बाहिर गई नेपालका तालतलैयाभर फैलिएर ठूलो समस्या बनेको छ । त्यसैगरी पालनका लागि भित्र्याइएको तिलापिया माछाले पोखरीबाट तालमा प्रवेश गरेर पोखराका तालहरूका स्थानिय माछालाई लगभग विस्थापित गरिसकेको छ । रेन्बो ट्राउटको अवस्था त्यस्तै हुँदैछ । त्यस्ता समस्या निम्त्याउने वनस्पति वा जीवजन्तुलाई बाह्य मिचाहा प्रजाति भनिन्छ ।
तर सबै बाह्य प्रजाति मिचाहा हुँदैनन् र तिनले मानिस र पर्यावरणलाई हानी नोक्सानी पनि गर्दैनन् । अहिले नेपालको प्रमुख निर्यातको वस्तु बनेको चिया बाह्य अर्थात आयातित वनस्पति हो । सन् १८६३ तिर जंगबहादुरलाई एक चिनियाँ सम्राट्ले दिएको चियाको बीउ पहिलोपटक इलाममा रोपिएको विश्वास गरिन्छ । नेपालबाट नै निर्यात गरिने कफीलाई ८० वर्षअघिसम्म नेपाली माटोले चिन्दैनथ्यो । अहिले हाम्रो तरकारीमा अनिवार्यजस्तै बनेको आलुको वर्णन सन् १७९३ भन्दा पहिलेका लिखतहरूमा पाइँदैन । कर्कप्याट्रिकले ‘एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल’ मा पटनाबाट ताजा बीउ नल्याईकन नेपालमा आलु उत्पादन नहुने लेखेका छन् । गोलभेंडा र खुर्सानीदेखि दसैंमा लगाउने जमरा बनेर संस्कृतिसँग अनन्य जोडिएको मकैसम्म नेपाली होइनन् । नेपालको कृषि बालीको आनुवंशिक डाटाबेसमा संलग्न ५७७ प्रजातिका खेतीबालीमèये ९३ बाहृय प्रजाति हुन् ।
कुनै प्रजाति मिचाहा हुनको लागि उच्च प्रजनन दर, तीव्र गतिमा फैलन सक्ने गुण र स्थानिय प्रजातिभन्दा बढी प्रतिस्पर्धी क्षमता जस्ता विशेष गुण हुन जरुरी छ । त्यस्ता प्रजातिलाई नयाँ ठाउँमा ल्याउँदा तीनीहरुले आफ्नो उद्गमस्थलमा जस्तै वातावरण पाएमा नयाँ ठाउँको प्रकृतिमा स्थापित हुँदै तीनीहरुको संख्यामा एक्कासी बढोत्तरी हुन गई मिचाहा प्रजातिका रूपमा फेरिन्छन् । नेपालबाट १९ औं शताब्दीतिर बेलायत लगिएका यहाँका रैथाने गुराँसका प्रजातिहरु त्यहाँ मिचाहा बनेका छन् ।
समग्रमा नेपालको विविधतायुक्त भूबनोट, हावापानी र भौगोलिक अवस्थितिले मिचाहा प्रजातिहरुको लागि उपयुक्त आश्रयस्थल बनाएको छ । पछिल्लो समयमा नेपालमा यस्ता प्रजातिहरु फैलने र संख्यात्मक हिसाबले बढ्नेक्रम जारी छ ।
सन् २००५ मा नेपालमा २१ बाह्य मिचाहा वनस्पति भएकोमा त्यो संख्या हाल ३० पुगिसकेको छ भने हाल ६९ प्रजातिका मिचाहा वन्यजन्तु भेटिएको छ । मिचाहा प्रकृतिका वनस्पतिले कृषि अर्थतन्त्रमा पारेको प्रभावको हिसाबले नेपाल विश्वमै तेस्रो उच्च प्रभावित मुलुकमा पर्दछ । झापा जिल्ला वास्तवमा यस्ता प्रजातिहरु नेपाल भित्रने प्रवेशद्घार हो । अहिलेसम्म नेपाल भित्रिएका यस्ता बाह्य मिचाहा प्रजातिहरुमा सबैभन्दा धेरै यतैबाट भित्रिएको पाइन्छ । तीन वर्ष अघि उल्टा काँडा नाम गरेको मिचाहा प्रजाति खाएर विर्तामोडका एक किसानको ७० वटा खसी बाख्रा मरेका थिए ।
यस्ता प्रजातिले जंगल र वस्तीबीचका खाली जमिनलाई चाँडै ओगट्छन् । त्यसैले नेपालको बिग्रेका वन, खेतबारी र चरन क्षेत्रमा अहिले ठूलो संख्यामा वनमारा, लहरे वनमारा, निलो/सेतो गन्धे, पाती झार, वन सिलाम लगायतका मिचाहा प्रजातिका वनस्पतिहरु यत्रतत्र फैलिएको देख्न सकिन्छ । जलवायु परिवर्तनले मिचाहा प्रजातिको फैलावटलाई थप बढाउँछ, त्यसैले भविष्यमा यस्ता प्रजातिका फैलावट नेपालमा अझै बढ्न सक्ने देखिन्छ । थप, मिचाहा वनस्पतिको फैलावटले वन डढेलो बढाउन मद्दत गर्दछ ।
नेपालको पर्यावरणीय संकटको कुरा गर्दा वन डढेलो अहिले ठूलो समस्याको रुपमा देखिएको छ । गतवर्ष सन् २०२४ मा नेपालमा ५ हजारभन्दा बढी डढेलोका घटनाहरु घटेका थिए । जसले करिब ४ लाख हेक्टर जति जमिनलाई छोपेको थियो । अब विस्तारै वनडढेलो लाग्न थालेका समाचारहरु आउन थालेका छन् ।
पछिल्लो समयमा हाम्रो फेरिएको कृषि कर्म, बसाइँसराइ, रेमिट्यान्स अर्थतन्त्रको दवदवा, बदलिएको समुदाय र जंगलको सम्बन्धले समुदायको वनप्रतिको निर्भरता घटेको छ । एकतिर खेतीपाती घटेको छ, अर्कातिर घाँस खाने गोरुको ठाउँमा डिजेल खाने हाते ट्रयाक्टर गाँउ पुगेपछि पशुसंख्या घटेको छ । पशुपालन कम भएपछि र पकाउन दाउरा नचाहिने भएपछि घाँसदाउरा गर्न वन जानेक्रम घट्दो छ । जसले गर्दा वनमा डढेलोको लागि चाहिने इन्धन थुप्रिएको छ । पशुसंख्या घटेसँगै चरिचरन हुने ठाउँमा मिचाहा प्रजातिले ढाकेको छ । वन र वस्तीबीचमा त्यस्ता झाडीदार मिचाहा वनस्पतिको फैलावटले आगलागीलाई वनबाट वस्ती र वस्तीबाट वनमा सार्न मद्दत गरेको छ । सँगै, ठूलो सामूहिक सहभागितामा गरिने सामूहिक वन कार्यहरु जस्तै अग्निरेखा निर्माण र हेरचाह, हेरालुको व्यवस्था, डढेलो नियन्त्रणमा सक्रिय सहभागिता सबैमा ह्रास आएको छ । यसरी सामूहिकतामा कमी भएकोले र जलवायू परिवर्तनको कारण बढेको गर्मी र हिउँदे सुख्खाको कारण पनि पछिल्ला वर्षहरुमा वन डढेलोको संख्या र फैलावटमा बर्सेनि वृद्धि भइरहेको छ ।
नेपालमा सन् २०१३ देखि २०२४ सम्ममा ३३ हजार वन डढेलो लागेको थियो । बढ्दो वन डढेलोले ठूलो मात्रामा आर्थिक, सामाजिक र पर्यावरणीय क्षति मात्रै पुर्याएको छैन, यसले वायू प्रदूषण पनि बढाएको छ । वायू लगायतका जल र थलको प्रदूषण नेपालको अर्को पर्यावरिणीय चुनौती हो । सन् २०२४ मा नेपाल विश्वमै उच्च पाँचै प्रदूषित वायू भएको देश बनेको थियो । यहाँको हावा विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तरको मापदण्डभन्दा लगभग १६ गुणा ज्यादा प्रदूषित छ । म बस्ने शहर काठमाडौंको वायू गत वर्षको ३६५ दिनमध्ये करिब दुई तिहाई (६० प्रतिशत) दिन अस्वास्थकर थियो । त्यसैले यो शहरले बेलाबेलामा विश्वको सबैभन्दा प्रदूषित शहरको तक्मा भिर्ने गरेको छ ।
धेरैलाई नेपालको काठमाडौं शहर प्रदूषित लाग्छ । तर स्याटेलाईट तस्बिरमा आधारित अध्ययनहरुले नेपालका पूर्वी तराईका जिल्लाहरु काठमाडौं भन्दा पनि बढी प्रदुषित भएको देखाएको छ । महोत्तरी जिल्लाको हावामा देशैभरिमै सबैभन्दा बढी धुलोका मसिनाकण (पिएम २.५) भेटिएको छ । त्यसपछि रौटहट, धनुषा, पर्सा र सर्लाहीमा भेटिएको छ ।
वायु प्रदुषणसँगै नेपाल र विश्वकै ठूलो पर्यावरणीय संकट भनेको प्लाष्टिक प्रदूषण हो । प्लास्टिकको आविष्कार भइसकेयता हालसम्म संसारमा करिब ९ अरब टन प्लास्टिक उत्पादन भएको अनुमान गरिन्छ । सन् १९५० मा संसारभर वार्षिक २१ लाख टन प्लास्टिक उत्पादन हुन्थ्यो भने, यतिखेर लगभग ४० करोड टन उत्पादन हुन्छ । प्लास्टिक यतिखेर सगरमाथाको उचाइदेखि समुद्रको गहिराईसम्म सर्वत्र पाइने वस्तु बनेको छ । मानिसले पिउने पानी, बियर, खाने नुनमा समेत माइक्रोप्लाष्टिक भनिने ५ मिमि भन्दा ससाना प्लास्टिकका कणहरू पाइन्छन् । जताजतै त्यस्ता प्लाष्टिकका टुक्रा हुने भएकोले मानिसले सरदरमा ५० हजार त्यस्ता प्लाष्टिकका टुक्रा वार्षिक रुपमा खाने गरेको अनुमान गरिन्छ ।
निर्वाध प्रकृतिको दोहन नेपालको अर्को ठूलो पर्यावरणीय समस्या हो । हामीले विकासको नाममा यतिखेर नेपालको वातावरण यति दोहन गरेका छौं कि संभवत मानव वस्ती भएका नेपालका कुनै नदी खोला यतिखेर बाँकी छैनन् जहाँ जलविद्युत बनाएर, ढुंगागिट्टी बालुवा झिकेर र फोहोर फालेर दोहन नगरिएको होस् । डाँडा डाँडामा बनेका भूटावर, जथाभावी खनेका सडक र त्यसले निम्ताएका पहिरोले यति सुन्दर देशलाई कुरुप मात्रै पारेको छैन्, त्यसले बर्सेनि विपद् पनि निम्ताएको छ ।
वातावरणसँगै वर्ग पनि जोडिएर आउँछ । चाहे त्यो संकट सडक खन्दा निम्त्याइएको पहिरो होस् या वन फडानीको कारण निम्त्याइएको समस्या । वायू प्रदुषण होस् या जलवायू परिवर्तन । जलवायू परिवर्तन धनी देशका धनी मान्छेहरुका कारण निम्तिएको समस्या हो । विश्वका १ प्रतिशत उच्च धनीहरुले १६ प्रतिशत हरित गृह ग्याास उर्सजन गर्दछन् । विश्वका १० प्रतिशत धनीहरुले गर्ने उर्त्सजन विश्वका ५० प्रतिशत गरिब जनसंख्याले गर्ने बराबरकै छ । तर धनीहरुले गरेको कार्वन उर्त्सजनको मारमा भने गरिब देशका पनि सबैभन्दा गरिब, सिमान्तकृत, महिला, जनजाती र आवाजहीन मान्छेहरुलाई पर्ने गरेको छ । विश्वका १ प्रतिशत धनीहरुले गरेको उत्सर्जनको कारण भएको कृषि क्षेत्रको नोक्सानीले मात्रै हाम्रो देशको जत्रो जनसंख्यालाई बर्षभरि खान खुवाउन पुग्दो रहेछ ।
त्यसैगरि वायु प्रदुषणको उच्च जोखिममा पर्नेहरुपनि सडकमा काम गर्ने, धुावा धुलोमा खेल्ने, चुलाचौका गर्ने मान्छेहरु नै पर्दछन् । नेपालमा पहिरोबाट मर्नेहरुको संख्यालाई राम्रोसँग नियाल्दा त्यसमा दलित समुदायका मानिसहरु बढी मर्ने गरेको पाइन्छ । जैविक विविधताको ह्रासले त्यससँग जीविका गाँसिएका मान्छेहरु नै बढी पिल्सिएको पाइन्छ । राप्ती नदीमा सौराहाका होटलहरुले छोडेको विसाक्त पानीको कारण माछाको संख्या घट्दा सबैभन्दा मारमा त्यहाँका बोटे र मुसहर समुदाय नै पर्ने गरेको तथ्य पाइन्छ । त्यसकारण वातावरणीय न्याय र सामाजिक न्याय एकअर्कासँग जोडिएको हुन्छ, चाहे त्यो वैश्विक होस् या स्थानीय ।
अन्त्यमा, पृथ्वीमा उद्वविकास भएका हरेक प्राणीको निश्चित पर्यावरणीय परिधी (निस) हुन्छ । हात्ती हिमालमा बस्न सक्दैन । कस्तुरी तराईमा चर्न सक्दैन । माछा पानीबिना बाँच्न सक्दैन । तर मान्छे कालहारीको सुख्खा मरुभूमिदेखि चेरापुँजीको आद्रभूमिसम्म, घनघोर जंगलदेखि हिमालको खर्कसम्म, समुद्रीतटदेखि पहाडको कन्दरासम्म भिन्न वातावरण, जलवायु र जीविका लिएर बाँच्नसक्छ । त्यसैले पृथ्वीमा हामी मात्र त्यस्ता जीव हौं, जसको कुनै पर्यावरणीय परिधी (निस) छैन । मान्छे जहाँ गगएको छ, त्यहाँको पर्यावरणमा अनुकुलन भएको छ वा पर्यावरणलाई आफू अनुकुल बनाएको छ ।
सायद प्रजातिको रुपमा मान्छेको सबैभन्दा ठूलो सवलता त्यही हो । र कमजोरी पनि । एकल परिधी नहुनु धेरै परिधीहरु हुनु पनि हो । मान्छे पनि यसै प्रकृतिको उत्पादन भएकोले उ यो पृथ्वीको पर्यावरणीय परिधीबाट बाहिर जान सक्दैन । त्यसकारण पर्यावरणको रक्षा गर्नु मानिसको आफ्नै अस्तित्वको रक्षा गर्नु पनि हो । थप प्रकृति विनाशको प्रभाव र समाधानको उपाय मान्छेले मात्रै खोज्न सक्छ । आफैं विनाशको कारक भएकोले त्यसलाई संरक्षण गर्नु मानवको नैतिक दायित्व पनि हो ।
–रिर्डस झापा, देहि आर्ट र परिर्वतन थिएटरको संयुक्त पहलमा आयोजित कला साहित्य उत्सव २०८१, पर्यावरण विमर्श कार्यक्रममा श्रेष्ठले दिएको प्रस्तुतिको सम्पादित अंश
