नेपालमा उच्च हिमाली भेगमा दुई मिटरसम्मको उचाइ भएका रूख पाइने स्थानलाई ट्री–लाइन अर्थात् वृक्षरेखा भनिन्छ । यस्तो वृक्षरेखालाई जलवायु सूचकका रूपमा लिइन्छ ।
ती ठाउँमा रूख पाइने अवस्था सीमित हुन्छन्, अर्थात् त्यहाँभन्दा माथि सर्न सक्दैनन् । नेपालको हिमाली क्षेत्रमा भोजपत्र, गोब्रेसल्लालगायतका प्रजातिले वृक्षरेखा बनाएका छन् । वृक्षरेखा सर्दै जानुले जलवायु परिवर्तन भइरहेको छ भन्ने संकेत पनि देखाउँछ । तापक्रम बढेसँगै प्रजातिहरू पनि आफूलाई अनुकूलित बनाउन माथि सर्दै गएका छन् । तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रका केही स्थानमा पहिले वनस्पति नहुने ठाउँमा पनि बिरुवा पलाउन थालेका छन् ।
एक अनुसन्धानले नेपालमा सन् १९७७ देखि २०१७ सम्म हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको देखाएको छ । शताब्दीको अन्त्यसम्म विश्वमा १.५ डिग्री तापक्रम बढ्दा हिमालय क्षेत्रका ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै दरमा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने प्रक्षेपण छ । नेपालको औसत तापक्रम वृद्धिदर ०.०५६ प्रतिवर्ष छ । यसरी तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रको वृक्षरेखा पनि माथि सर्दै जान्छ । तापक्रम बढेर बिरुवाहरू हिउँ पर्ने स्थानमा स्थापित हुन थालेका छन् ।
विभिन्न अध्ययनले ५२ प्रतिशतभन्दा बढी वनस्पतिको वृक्षरेखा माथि सर्दै गएको देखाएका छन् । वृक्षरेखा २.६ मिटरको दरले माथि सर्दै गएको अध्यययन छ । यसरी तापमान वृद्धिका कारण उपयुक्त चिसो अनुकूलित वातावरण खोज्दै बिरुवाहरू माथि सर्न थालेका हुन् । यही मेसोमा नेपालको हिमाली क्षेत्रमा भोजपत्र र गोब्रेसल्ला माथि उक्लिने क्रम जारी छ । तिब्बेतियन प्लेटु रिसर्च इन्स्टिच्युटमा कार्यरत नेपाली वैज्ञानिक शालिकराम सिग्देलसहितको टोलीले गरेको अध्ययनले वृक्षरेखाको रूपमा रहेको भोजपत्रको जंगललाई अब हिमाली क्षेत्रमा गोब्रेसल्लाले विस्थापित गर्ने सम्भावना देखाएको छ । नेचर प्लान्ट्स जर्नलमा प्रकाशित अनुसन्धानले अबको सय वर्षपछि भोजपत्र रहेको स्थानमा गोब्रेसल्लाको जंगल देख्न सकिने प्रक्षेपण भएको छ । हिमाली क्षेत्रमा पाइने भोजपत्रलाई वृक्षरेखाका रूपमा लिइँदै आएको छ । हिमाली क्षेत्रमा २५ सयदेखि झन्डै ४३ सय मिटरको उचाइसम्म यो प्रजाति पाइन्छ ।
भोजपत्रको जंगलमुनिको क्षेत्रमा पाइन्छ गोब्रेसल्ला । नेपाली वैज्ञानिकले गरेको अनुसन्धानलाई आधार मान्दा गोब्रेसल्लाले भोजपत्रसँगको ‘रेस’ मा जित्ने लगभग निश्चित छ । गोब्रेसल्ला अब उच्च हिमाली क्षेत्रमा वृक्षरेखा प्रजातिका रूपमा स्थापित हुने प्रक्षेपणले धेरै प्रश्न पनि उठेका छन् । अहिलेको दरमै तापक्रम वृद्धि भइरहने हो भने उच्च हिमाली क्षेत्रमा पाइने रूख पनि अनुकूलन हुन बिस्तारै माथि सर्दै जानेछन् । तापक्रम वृद्धिसँगै प्रजातिबीच अनुकूलन हुन एक किसिमको प्रतिस्पर्धा हुने अनुसन्धानले देखाएको छ । जहाँ गोब्रेसल्ला हरेक वर्ष ०.११ मिटरले माथि सर्दै जाने र भोजपत्रचाहिँ ०.०६ मिटरले बढ्दै जाने देखियो । बितेको २ सय वर्षयता यी प्रजातिको अनुकूलन अवस्था हेर्दा आगामी दिन भोजपत्रको जंगल हुने उचाइमा गोब्रेसल्ला पाइने देखिन्छ । यसलाई दुई कारणले हेरिएको छ । भोजपत्र स्थिर भएर अलिक माथि उक्लन नसक्ने देखियो भने गोब्रेसल्ला अनुकूलन हुने देखियो । यसले हिमाली क्षेत्रको पारिस्थितिकीय सेवा र अन्य प्रणालीलाई समेत असर गर्ने देखिन्छ ।
अध्ययनमा भोजपत्रको तुलनामा पछिल्लो दशक गोब्रेसल्लाको संख्या पनि बढेको र माथि सर्दै गएको देखिन्छ । तापक्रमका कारणा दुवै प्रजाति माथि उक्लिए तर फरक दरमा । ‘पछिल्लो २ सय वर्षको अध्ययनले गोब्रेसल्ला ०.११ मा उक्लँदा भोजपत्र ०.०३ मिटर प्रतिवर्षले उक्लियो,’ सिग्देलको यसअघि गरिएको अध्ययनमा भनिएको छ । यसबीच भोजपत्र पाइने जंगलभन्दा माथि २६ मिटरमा गोब्रेसल्ला पाइएको थियो । कुनै स्थानमा ३० मिटर माथिसम्म पाइएको अभिलेख भएको उनको २०१८ मा प्रकाशित भएको अध्ययनमा उल्लेख छ ।
सगरमाथा क्षेत्रमा ४ हजार ९६ मिटर र ४ हजार ५४ मिटर उचाइ र मनाङमा ४ हजार ३१ मिटर उचाइका स्थानमा रहेका बिरुवालाई आधार मानेर अनुसन्धान गरिएको थियो । वनस्पतिविद् सिग्देलले अनुसन्धान क्रममा भविष्यमा हुन सक्ने विभिन्न जलवायुजन्य सूचकलाई आधार मानेर कम्प्युटरबाट मोडल रन गरेका थिए । जसको निष्कर्ष पतझर प्रजातिलाई कोणधारी जंगलले विस्थापित गर्ने उल्लेख छ । नेपालमा यसअघि यिनै दुई प्रजातिलाई आधार मानेर गरिएका अध्ययनमा पश्चिम नेपालको तुलनामा पूर्वी हिमाली भागका रूख उकालो लागेको तथ्य स्थापित गरेको थियो । सिग्देलको टोलीले यसअघि सगरमाथा, कञ्चनजंघा, लामटाङ, मनाङ, जुम्ला, हुम्लालगायतका क्षेत्रमा गरेको अध्ययनले ५६.१ मिटरसम्म वृक्षरेखा सरेको देखिएका थिए । सिग्देलले नै यसअघि गरेको अध्ययनअनुसार कञ्चनजंघा क्षेत्रमा भोजपत्र ४२१७.२ मिटर उचाइसम्म पुगेको छ । सन् १९६० मा ३८८५ मिटर उचाइमा पाइने भोजपत्र सन् २०१५ मा ४६ मिटर बढेर ३९३१.४ मिटरको उचाइमा पुगेको थियो । लामटाङमा ४०४२.४ मिटरबाट ४०५१.४ मिटरसम्म पुगेको पाइएको थियो । गोब्रेसल्लाको हकमा पनि माथि सर्ने दर बढ्दो अवस्थामा छ । सगरमाथा क्षेत्रमा ४०९८.९ मिटर उचाइसम्म पुगेको पाइयो । १५० वर्षबीच उक्त क्षेत्रमा गोब्रेसल्ला ५६ मिटरमाथिसम्म सरेको पाइएको हो ।
वृक्षरेखा सर्दा त्यसले हिमाली क्षेत्रको जैविक विविधता, वन्यजन्तु, जडीबुटी र खर्कलाई पनि असर पर्छ । जस्तो कि नेपालका उच्च हिमाली क्षेत्रका केही मिटरको फरकमा रैथाने वनस्पति पाइन्छन् । सीमित क्षेत्रमा पाइने त्यस्ता वनस्पति भएको स्थानमा रूख प्रजाति उम्रन थाले भने त्यसले ती प्रजातिको लोप हुने खतरा बढी हुन्छ । वृक्षरेखा माथि सरिरहँदा अर्कोतर्फ आहारा खोजीमा हिमाली क्षेत्रमा पाइने हिउँचितुवा पनि तलतिर सर्ने खतरा पनि उत्तिकै छ ।
