चुङ्बा शेर्पाको भौतिक उपस्थिति नरहे पनि उनले खिचेका वन्यजन्तुका तस्बिरहरू विभिन्न कार्यालयका भित्ताहरूमा सजिएका छन् जसले उनी सधैं सम्झिइरहनेछन् ।
वन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाले खिचेका तस्बिर नहेर्ने संरक्षण क्षेत्रमा लागेका विरलै नेपाली छन् । उनले खिच्ने हरेक जसो तस्बिरहरूले चर्चा पाउने गर्छ । युट्युबमा उनले जंगल यात्राका गरेका भिडियो हुन् या त उनले आफ्नो टिकटकमा हाल्ने भिडियोहरू चर्चा रहन्छन् । सामाजिक सञ्जाल फेसबुकमा समेत उनले हाल्ने तस्बिर तथा भिडियोले चर्चा पाउँछन् । अबदेखि चुङ्बा शेर्पाले नयाँ-नयाँ ठाउँमा गएर खिच्ने फोटोहरू देख्न पाइने छैन । अब जति छन् उनले यसअघि खिचेका फोटाहरू मात्रै देखिनेछन् ।
आइतबार उनको उपचारका क्रममा निधन भएको खबरले स्तब्ध भएँ । नेपालले एक महत्त्वपूर्ण सम्पत्ति गुमाएको छ । वाइल्डलाइफ फोटोग्राफीमा छोटो समयमा उल्लेख्य काम गरेका चुङ्बा शेर्पाको निधनले धेरैलाई स्तब्ध बनाएको छ । सोलुखुम्बुमा जन्मेका उनी होटल र पर्यटन व्यवसायसँगै राजनीतिमा पनि लागे । अवकाशपछिको जीवन आफ्नो सोख पूरा गर्न उनले वन्यजन्तु फोटोग्राफी रोजे । छोटो समयमा नै उनी पर्यटन व्यवसायीबाट स्थापित वाइल्डलाइफ फोटोग्राफर बने ।
विश्व बाघ दिवस-२०२४ को पूर्वसन्ध्यामा म चुङ्बा शेर्पाको धुम्बराहीस्थित चप्पल काराखानानजिकैको निवासमा पुगेको थिएँ । बाघसम्बन्धीको एउटा वृत्तचित्रमा आवश्यक पर्ने फुटेजहरू माग्न उहाँको निवास पुगेका थिएँ । फोनमा र सार्वजनिक समारोहहरूमा भेट्दा उहाँसँग अनौपचारिक कुराकानी हुन्थे तर जमेर गफ हुन पाएको थिएन ।
घरमा उनले आफ्नो छुट्टै अफिस बनाएका थिए । जहाँ उनको स्टुडियो पनि थियो । फिल्डबाट खिचेर ल्याएका फुटेजहरू उनले धमाधाम इडिट गर्ने र संकलन गरेर हार्डड्राइभमा राख्ने काम भइरहेको थियो । त्यसबेला उनी बर्दियाबाट फर्किएका थिए । एक जोडी बाघले पानी खाएको भिडियो सामाजिक सञ्जालमा हालेका थिए । त्यही भिडियोलाई उनले आफ्ना अन्य सामाजिक सञ्जालहरूमा हाल्नका लागि उनले छोरालाई सिकाउँदै थिए । भर्खरै किनेको ड्रोनबाट खिचेका बाघका भिडियोहरू मलाई देखाउँदै उपयुक्त लागेको लैजान तर फुटेजको स्रोत अनिवार्य उल्लेख गर्न भने । मैले हुन्छ भनेँ । उक्त भिडियो खिच्न उनले करिब दुई हप्ता खर्चिएका थिए । बजारमा आउने नयाँ ग्याजेट उनी किनिहाल्थे । चाहे त्यो क्यामेरा होस् या त ड्रोन । उनी नयाँ आउनेबित्तिकै किन्थे ।
उनीसँग बाघको चर्चा गर्दा भनेका थिए 'जंगलमा मैले जति फरक फरक बाघ सायद कमैले देखेका होलान् ।' नेपालका निकुञ्जहरूमा उनले ५० भन्दा बढी फरक फरक बाघको फोटो खिचेका छन् ।
धेरै फुटेजहरू भएकाले संकलन गर्न र फाइलको साइज पनि धेरै भएकाले डेढ घन्टा जति लाग्ने भयो । हामीबीच आ-आफ्नो अनुभव आदानप्रदान भयो । चुङ्बा शेर्पालाई मेरो पहिलो प्रश्न नै हुम्लामा भेट्नु भएका ४ वटा जंगली याकका तस्बिरहरू खिच्न कति समय र पैसा खर्चनु भयो ? हिमाली क्षेत्रमा सामान ओसारपसार र त्यहाँको मानिसको जनजीवनसँग जोडिएको जीव हो याक । घरपालुवा याकहरू हिमाली क्षेत्रमा पारवहानका साथै दूधका लागि राखिन्छ । एउटा घरपालुवा याकलाई कृषकहरूले १लाखभन्दा बढी खर्चन्छन् । जंगली याक नेपालबाट सन् २००० बाट नै हराइसकेको भनेर भनिएको थियो तर सन् २०१४मा नरेश कुसीसहितको टोलीले फेला पारेको थियो हुम्लाको लिमी उपत्यकामा ।
त्यसपछि जंगली याकको क्लोजअप तस्बिर चुङ्बाले लिए, सन् २०२२ को सेप्टेम्बरमा । नजिकबाट प्रस्ट अनि गुणस्तरीय तस्बिर भएको जंगली याकलाई चुङ्बाले एउटै फ्रेममा कैद गरेका थिए । त्यसबेला उनले खिचेको उक्त फोटोले निकै नै चर्चा पायो ।
उनीसँगको कुराकानीमा (अहिले पनि रेकर्डेड छ) सन् २०२२ को सेप्टेम्बरमा काठमाडौंबाट नेपालगन्ज र त्यसैदिन नेपालगन्जबाट हुम्लाको सिमकोट पुगेका थिए । सिमकोटमा अवतरण गरेपछि उनी त्यहाँ आफ्ना सहयोगीसहित २ दिन बिताए । तापक्रमलाई अनुकूलन गर्न भनेर उनी त्यहाँ दुई दिन बसेका थिए । सिमकोटबाट हेलिकप्टरमार्फत उनी नेपाल-चीन सीमानजिकै अवतरण गरी लाप्चा पासमा २ रात बसे । ५ हजार १ सय मिटरको उचाइमा २ रात बस्दा पनि जंगली याक नभेटेपछि उनी त्यहाँबाट तल केही सय मिटर ओर्लिएर क्याम्प खडा गरेर बसे ।
चिसो हिमालमा उनी ५ रात त्यहाँ क्याम्प टाँगेर आफ्ना अन्य ४ जना सहयोगीसहित बसेका थिए । काठमाडौंबाट उनी आफूसहित ३ जना र सिमकोटबाट दुई जना सहयोगी लिएर गएका थिए । देखेका ४ वटा याकमध्ये ३ वटाको मात्रै तस्बिर खिचेको उनले सुनाएका थिए । जंगली याक घरपालुवा याकभन्दा करिब डेढ गुणा ठूलो हुन्छ । ४ वटा याकमध्ये ३ वटा याकको तस्बिर खिचे उनले । नेपाल र चीनको सिमाना क्षेत्रका हिमाली क्षेत्रमा चर्न ती याक आइपुगेको उनको भनाइ थियो । उनले जंगली याकको तस्बिर खिच्नुअघि सन् २०१४ मा हिमालयन वुल्फ परियोजनामा आबद्ध अनुसन्धानकर्ती नरेश कुसीको टोलीले तस्बिर खिचेको थियो । उक्त तस्बिर नेपाली ५ रूपैयाँको नोटमा समेत समावेश गरिएको छ ।
चुङ्बा शेर्पाले करिब ४८ सय मिटरबाट ती याकको तस्बिर खिचेका थिए । निकै नजिकबाट खिच्न खोज्दा झन्डै आक्रमणमा परेको उनले सुनाएका थिए । कतिपयले जंगली याक हिमालका घरपालुवा याकसँग प्रजनन् गर्न तिब्बत हुँदै नेपालका सीमा गाउँमा आउने भन्ने विश्वास छ । हिमाली क्षेत्रमा पनि घरपालुवा याक र जंगली याकबीचको प्रजननबाट जन्मने याकले धेरै दूध दिन्छ भन्ने बुझाइ छ । घरपालुवा याकभन्दा करिब डेढ गुणाले ठूलो हुने जंगली याकसँग प्रजनन् गर्दा निकै नै पीडा हुने र गर्भ बसे पनि तुहिने सम्भावना धेरै हुने विज्ञहरूको भनाइ छ ।
४८ सय मिटरको उचाइमा चुङ्बाले खिचेका याकका तस्बिरहरू त्यसबेला निकै नै भाइरल भयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले चुङ्बाले खिचेका तस्बिरहरूलाई छुट्टै नै स्थान दिएर कार्यालय परिसरमा राखेको छ । यस्तै हरेक वर्षजसो उनका तस्बिरहरू कोषको भित्ते पात्रोमा अटाउने गरेको छ । याकको प्रसंगसँगै उनले खर्च यति नै हुन्छ भनेर भनेनन् । उनी आफैंले काठमाडौं-नेपालगन्ज-सिमकोटको आवातजावतको हवाईजहाज भाडा, हेलिकप्टरको शुल्क र हप्तादिनको बसाइ गरेर उनले ५ लाखभन्दा बढी खर्च गरेका रहेछन् । अझ उच्च हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने खाना,बस्नेको बन्दोबस्तीका सामान, कुकिङ र स्याटेलाइट फोन पनि आवश्यक पर्ने उनले सुनाएका थिए । एउटा सामान्य मान्छे उनी गएको उक्त स्थानबाट जाँदा आउँदा १७ दिन लाग्ने उनले बताएका थिए । उनले वाइल्डलाइफ फोटोग्राफी निकै नै रिस्क र महँगो भएको बताएका थिए । जोकोहीले सजिलै यो क्षेत्रमा सफलता हात नपार्ने तर निरन्तर संघर्ष जारी राख्नुपर्ने उनले सुझाव दिएका थिए ।
मैले नयाँ पुस्तालाई यो क्षेत्रमा प्रवेश गर्न तपाईंको के छ सुझावभन्दा पहिलो जवाफ थियो, 'क्यामेरा बोक्नेबित्तिकै फोटोग्राफर भइँदैन, स्किल चाहिन्छ ।' उनले विवाहको फोटोग्राफी गर्ने, ल्यान्डस्क्याप फोटोग्राफी गर्ने र नयाँ पुस्ताहरूलाई सुरूमै यसलाई पेसा नबनाउन आग्रह गरे । नेपालमा यस क्षेत्रले व्यावसायिक हुन अझ समय लाग्ने बताउँदै उनले पार्ट टाइमका रूपमा काम गर्दै अघि बढ्न र सफलता हासिल गर्न सकिने सुझाव थियो । 'नेपालमा पैसा खर्च गरेर वाइल्डलाइफ फोटोग्राफी गरेर कमाउन निकै नै गाह्रो छ,' उनले भनेका थिए,'अरु फोटोग्राफी गरेर काम नभएको बेला प्यासनका रूपमा वाइल्डलाइफको फोटो खिच्दै लैजानुपर्छ । त्यसपछि विस्तारै स्थापित भइन्छ ।'
पैसाका लागि उनले कहिल्यै फोटोग्राफी गरेनन् । पर्यटन बोर्डलाई उपलब्ध गराएको फोटोबाट प्राप्त भएको रकम उनले सिधै पोखरा बर्ड सोसाइटीलाई दिए । उक्त रकम विद्यार्थीहरूलाई थेसिसका लागि उपलब्ध गराइएको उनले बताएका थिए । यस्तै एक बैंकले उनको फोटोबाट दिएको २ लाख रुपैयाँ पनि बीसीएनलाई रिसर्च गर्नका लागि विद्यार्थीलाई उपलब्ध गराउन दिएको उनले बताएका थिए । आफूबाट भावी पुस्ताले सिकोस् भनेर आवश्यक फोटोहरू तस्बिर क्रेडिट दिए खुसी हुने उनको भनाइ थियो । विभिन्न ठाउँमा वन्यजन्तुको फोटोग्राफीका लागि प्रशिक्षण समेत दिने चुङ्बा शेर्पाको हामीबीच रहेनन् । युवा पुस्ताहरूलाई फोटोग्राफीमा रुचि देखाउनका लागि उनले आफैँ फोटो प्रतिस्पर्धासमेत गराउँथे ।
आफ्नो फुटेजबाट बनाइएको वृत्तचित्रमा उनलाई क्रेडिट दिँदा उनी मख्ख थिए । बाघ दिवसका दिन आयोगजित कार्यक्रममा मलाई भेटेरै भनेँ,'भाइ तपाईंहरूले मेरो नाम स्पष्टका साथ राखिदिनुभयो अरूले फोटो क्रेडिट हाल्दा पनि नदेखिने गरी हालिदिन्थे ।'
उनीसँगको मेरो पछिल्लो भेट आर्मी अफिसर्स क्लब भयो । जहाँ उनी पूर्व प्रधानसेनापति गौरवशमशेर जबरासहित कन्जरभेसन एलाइन्स नेपाल नामक संस्था स्थापनार्थ छलफलमा थिए । संस्था स्थापनाको पूर्वसन्ध्यामा उनीसँग भेट भएको थियो । जबरा नेतृत्वको उक्त संस्थामा उनी कार्यसमिति सदस्य हुन् ।
चुङ्बा शेर्पाले नेपालको वन्यजन्तु फोटोग्राफीलाई नयाँ उचाइ दिनका लागि खेलेको भूमिका निकै नै स्मरणीय हुनेछ । साथै,संरक्षण क्षेत्रका लागि पनि उनी सदा अमर रहनेछन् । भौतिक उपस्थिति नरहे पनि उनले खिचेका वन्यजन्तुका तस्बिरहरू विभिन्न कार्यालयका भित्ताहरूमा सजिएका छन् जसले उनी सधैं सम्झिइरहनेछन् । अलबिदा चुङ्बा सर ।
