विद्यार्थीकालमै कमाइ गर्नुपर्ने अवस्थाका युवामा पढाइतिर मन मर्दै जान्छ । यस किसिमको अर्थप्रधान प्रवृत्तिले कलिलै उमेरका युवावर्गमा कालोबजारी तथा अन्य उपराध जस्ता गलत बाटो अपनाउन सक्ने खतरा पनि रहन्छ ।
हाम्रा जस्ता मुलुकका अधिकांश विद्यार्थीले बीचमै पढाइ छोड्ने मूल कारण गरिबी नै हो । विदेश गएका हाम्रा युवाले बस्न, खान र पढाइ शुल्क तिर्नका लागि आंशिक काम गर्नुपरेका प्रशस्त उदाहरण छन् ।
अध्ययन तथा कामको सिलसिलामा बिदेसिने प्रचलन भने पहिलेदेखिकै हो । विगतमा पनि कामको खोजीमा मुग्लान भासिन्थे । त्यहाँ जे काम पाए पनि गरेर नेपालमा पैसा लिएर आउँथे । अहिले पढ्नका लागि मात्र नभएर सेना, प्रहरी, वित्तीय वा स्वास्थ्य क्षेत्रका व्यक्ति जागिर छाडेर विदेश गएका थुप्रै उदाहरण छन् । हाम्रा विद्यार्थी मात्र पलायन भएनन्, हुँदाखाँदाका जागिरेसमेत अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापान भासिन थाले । डीभी वा पीआर हात पर्नासाथ यहाँका उच्च पदाधिकारीसमेत विदेश जान थालेका छन् । आफ्नो अवस्थाभन्दा विकसित देशका सुख सुविधामा लोभिनु भनेको स्वार्थी बन्नु हो । आफू जन्मेको भूमि बिर्सेर अन्यत्र मुलुकमा रमाउनु सच्चा देशभक्तका लागि सुहाउने कुरा होइन ।
एउटा गाउँको केटो घरनजिकै पढेर शिक्षित हुन्छ । अनि त्यो ठाउँ छाड्न खोज्छ । आफूलाई अरू गाउँलेभन्दा फरक देख्न थाल्छ । आफूले जानेका ज्ञान र सीप आफ्ना छरछिमेकीलाई बाँडौं भन्दैन । आफूले हासिल गरेका शैक्षिक उपलब्धि निमुखा गाउँलेको विकास अभियानमा सरिक गराउन नखोज्नु विडम्बना नै हो । अहिलेको शिक्षाले एउटा सामान्य व्यक्तिमा पनि अहम पलाएर आफू जन्मेको भूमि बिर्सिएर अर्को ठाउँ जान खोज्नु दुःखद हो । पढेलेखेर केही जान्नेसुन्ने हुनासाथ आफ्नो थातथलो छाड्न उत्प्रेरित गराउने शिक्षा के शिक्षा ? यस्तो शिक्षालाई कसरी मूल्यांकन गर्ने ? यो पनि खोजकै विषय बन्न आएको छ । व्यक्ति माथि उठ्नका लागि जन्मथलो नै छोड्नुपर्ने अवस्था किन आउँछ ? यसरी गाउँबाट ऊ शिक्षित हुन्छ, सहर पस्न मन लाग्ने सहर पस्छ, नत्र सोझै विदेश जाने मानसिकता बनाउँछ । यो नै आधुनिक शिक्षाको उपज बन्दै आएको देखिन्छ ।
पढेलेखेर जान्नेबुझ्ने भएपछि विदेश गएपछि मात्र इज्जत बढ्ने प्रवृत्ति आमयुवामा छ । समाजले भन्ने गरेको छ–फलानाको छोरो गज्जब भएछ, विदेश गएर ठूलो मान्छे भएछ । फलानाका बाबुआमा धेरै भाग्यमानी रहेछन् । समाजको यस्तो धारणाले झनै युवाको विदेश पलायनलाई प्रश्रय दिएको छ । नेपालमा प्रजातन्त्र पुनःस्थापनाका साथै विश्वव्यापी उदारीकरण एवं भूमण्डलीकरणले ल्याएको लहरसँगै बिदेसिने शैलीको विकास भयो । अझ माओवादी सशस्त्र विद्रोहले यस अभियानमा अरू बढी मलजल पुर्यायो । स्वदेशमा रोजगारी अभावले श्रम गन्तव्यको खोजीमा खाडी मुलुकलगायत अन्य देशमा जाने लहर बढ्दै आयो । समयक्रमसँगै वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले अर्थतन्त्रमा राहत महसुस भयो । अहिले रेमिट्यान्स तलमाथि हुनासाथ हाम्रो अर्थतन्त्र नै डामाडोल हुने स्थिति छ ।
युवा जनशक्ति पलायनको कारक राजनीति र शैक्षिक हो । राजनीति अस्थिर छ । देशको अवस्था अस्तव्यस्त छ । शिक्षा क्षेत्रमा अन्योल र लापरबाही देखिन्छ । जुनसुकै सरकार आए पनि जनताले राहत महसुस गर्न सकिरहेका छैनन् । बजारमा मूल्य आकासिएको छ । केही महिनायता झन्डै तीन गुणा मूल्यवृद्धिको मार जनताले खेपिरहेका छन् । हामीकहाँ शैक्षिक बेरोजगारी दिनहुँ बढिरहेको अवस्थामा युवालाई जीवनोपार्जनका लागि विदेश भौतारिने बाध्यता बनेको छ । शिक्षालाई गुणस्तरीय, व्यावहारिक र रोजगारमूलक बनाउनेतर्फ बहस र छलफल कमै गरिन्छ । गणतान्त्रिक मुलुक भएपछि अहिलेसम्म शिक्षा मन्त्रालयले स्पष्ट शिक्षा नीति ल्याउन सकेको छैन । शिक्षाले नै अवसर र रोजगारीका पहुँच वृद्धिका साथै ज्ञान विज्ञानको क्षितिज उघार्छ । यसका लागि समयसापेक्ष, अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा चाहिन्छ । त्यसमा राज्यको ध्यान खोइ ?
बेरोजगार जनशक्ति कामका खोजीमा प्रतिदिन दुई हजारभन्दा बढी बिदेसिने गरेका छन् । सीपको अभावले गर्दा झन्डै ९० प्रतिशत अदक्ष कामदार बाहिरिइरहेका छन् । सीपयुक्त जनशक्ति तयार गर्न हाम्रो शिक्षा अझै असफल छ । शिक्षामा लगानी बालुवामा पानीझैं भएको छ । हाम्रा युवालाई गाउँमै बसेर उच्च शिक्षासम्म पढ्ने अवसरको व्यवस्था गरिनुपर्छ । त्यहाँ बस्दा स्रोतसाधन, वातावरण र अवसरको कमी महसुस गराइनु हुँदैन । शिक्षाले देशको भूगोल, कृषि वन, वातावरण, पशुपन्छी, सूचना, सञ्चार, प्रविधि, औषधि विज्ञान, पर्यटन, सुरक्षा, प्रशासन, ऊर्जा, रसायन, यातायात, अन्तरिक्ष, वायुमण्डलको अध्ययन, अनुसन्धान र विकास गर्न सक्नुपर्छ ।
वर्तमान अवस्था दृष्टिगोचर गर्दा विश्वमा प्रतिभाको नै व्यापार हुन थालेको भान हुन आउँछ । अधिकांश अविकसित देशका ठूला वा साना प्रतिभा विदेश भौतारिरहेका छन् । शैक्षिक अव्यवस्थाले मुलुकमा सुयोग्य नागरिक उत्पादन हुन सक्दैन । फलतः नेतृत्वदायी ठाउँमा योग्य मानिसको कमी हुन्छ । यही परिस्थिति आज हाम्रो देशले व्यहोरिरहेको छ । शैक्षिक क्षेत्रले त प्राज्ञिक, योग्य, इमानदार र लगनशील व्यक्तिको उत्पादन गर्नुपर्ने हो । तर, शिक्षक युनियनहरूले प्राज्ञिक र शैक्षिक हकहितभन्दा केवल सेवा र सुविधाका लागि मात्र आवाज उठाउने गर्दा विद्यार्थीको पढाइमा असर पुगिरहेको छ ।
शिक्षालय नेताका कार्यकर्ता भर्ती केन्द्रझैं हुन थालेका छन् । शिक्षा क्षेत्रको अर्बौं रकमको समुचित प्रतिफल प्राप्त नभएको स्पष्ट छ । यही परिणामले १२ कक्षा उत्तीर्ण हुनासाथ विदेश अध्ययनका लागि जाने र त्यहीं पलायन हुने प्रवृत्ति बढिरहेको छ । अर्कातर्फ उच्च शिक्षा हासिल गरेका व्यक्ति पनि रोजगारीका लागि विदेश पलायन हुने गरेका छन् । यसरी शिक्षित, प्रतिभावान् नागरिक आफ्नो देश छाडेर जाँदा मुलुकले योग्य व्यक्ति गुमाउन पुग्छ । राज्यले ठूलो लगानी लगाई उत्पादन गरेको दक्ष जनशक्ति विदेश पलायन हुँदा त्यसबाट हुने हानिबारे विमर्श हुन सकेको छैन । राजनीतिक व्यवस्था फेर्दैमा केही भएन । फेरिनुपर्ने आममानिसको सामाजिक अवस्था थियो । यसका लागि शिक्षा सुधार्नुपर्छ ।
