इतिहासको घुम्तीलाई नजिकबाट नियाल्दा र त्यति बेलाको शक्तिसंघर्ष बुझ्दा महेन्द्रले संवैधानिक राजाका रूपमा बस्न स्वीकार गरेको भए, नेपाल धेरै अघि बढ्न सक्थ्यो, गणतन्त्र आउँदैनथ्यो
संसद् सचिवालयमा रहेको लिखतमा आधारित रहेर मैले ‘पहिलो संसद् : बीपी–महेन्द्र टकराव’ शीर्षकमा किताब लेखेको थिएँ । हरेक वर्षको पुसमा बीपी र महेन्द्रको टकरावबारे धेरथोर बहस हुने गरेको छ । किताब लेखनको प्रक्रिया र किताब प्रकाशन गरेपछि प्राप्त थप सूचनाका आधारमा त्यति बेलाको राजनीति र बीपी–महेन्द्र संघर्षलाई बुझ्नुपर्छ जस्तो लाग्छ ।
किताब लेख्न सुरु गर्ने बेला म कान्तिपुर टीभीमा काम गर्थें । पहिलो संविधानसभा भंग भएपछि देशमा अन्योल थियो । संविधानसभा त भंग भयो । तर अब के हुन्छ भन्ने स्पष्ट थिएन । यही विषयको सेरोफेरोमा त्यति बेला धेरैसँग मेरो कुराकानी भयो ।
त्यही बेला मैले नेपालको पहिलो संसद्, त्यति बेला उठेको संविधानसभाको कुरा र राजनीतिक संघर्षबारे केही थाहा पाएँ । त्यही समयको कुरा बुझ्न म संसद् सचिवालयको पुस्तकालय धाउन थालें ।
२००७ सालमा पहिलो पटक संविधानसभाको एजेन्डा उठेको थियो । राजाले संविधानसभा निर्वाचनमार्फत सविधान बनाएर मुलुकलाई अघि बढाउने घोषणा गरेको दुई वर्षभित्र संविधानसभाको चुनाव गर्ने भनिएको थियो । तर दरबारले संविधानसभाको चुनाव हुन नदिएर २०१५ सालमा संसद्को चुनाव स्विकार्न दलहरूलाई बाध्य बनाएको थियो ।
त्यति बेला नेपाली कांग्रेसभित्र गणेशमान सिहंहरू हतियार प्रयोग गरेर भए पनि संविधानसभाको चुनाव गर्नुपर्छ भन्ने पक्षमा थिए । दरबार भने कुनै हालतमा संविधानसभा हुन दिने पक्षमा थिएन । किनकि दरबारलाई डर थियो, जनताका प्रतिनिधिहरूको सभा बस्यो भने त्यसले राजसंस्थाको अधिकार कटौती गर्दै राजसंस्थालाई नै फाल्न सक्छ ।
त्यतिबेला नेपाल कम्युनिष्ट पार्टीले राजसंस्थालाई स्विकार्ने व्यहोराको वक्तव्य निकालेपछि मात्रै राजा संसदको चुनाव गर्न सहमत भए । त्यो बिचमा उनी देश दौडाहमा निस्के । आफ्ना मान्छेलाई जनमत बुझ्न खटाए । कतैबाट दलहरुको बहुमत पुग्दैन र आफू अनुकूल चलाउन सकिन्छ भन्ने निश्चय भएपछि मात्रै उनले चुनावमा मिति घोषणा गरे ।
त्यति बेलाको यही परिस्थिति समेटिएको थियो, संसद्भित्रको आधिकारिक दस्तावेजमा । त्यसमा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई र संसद् सचिव कुलशेखर शर्मा दुवैको हस्ताक्षर रहेछ । तर धेरै मान्छेको नजरमा यो दस्तावेज परेको रहेनछ ।
त्यसका केही पाना पल्टाएर हेरेपछि मलाई हरेक कुरा रोचक लागे । टाइपराइटरले लेखिएको र मक्किएको कागज मैले बडो जतनसाथ पल्टाएर त्यसमा लेखिएका अक्षर ध्यान दिएर पढे । त्यसैका आधारमा केही समाचार पनि बनाएँ । त्यति बेला मैले सोचें, यस विषयमा त राम्रो किताब नै बन्न सक्छ ।
त्यसपछि मैले २०१५ सालको संसद्का सदस्य कोको जीवित छन् भनेर सूची बनाएँ । अनि उनीहरूमध्ये अच्युतराज रेग्मी, कमलराज रेग्मी, मणीराम शास्त्री, विश्वबन्धु थापा, तुलसी गिरी, कमल राणा, पेशल पोखरेललगायत नेतासँग भेटेर कुरा गरेँ । अनि त्यति बेला संसद्को रिपोर्टिङ गर्ने पाका पत्रकार भैरव रिसाल र मदनमणि दीक्षितसँग पनि कुराकानी गरेँ ।
त्यति बेला मसँग गतिलो फोटो खिच्ने मोबाइल पनि थिएन । मेरा एक जना साथी थिए, मानबहादुर थापा । उनलाई अमेरिकाबाट छोराले आइफोन पठाइदिएका थिए । मैले त्यही मागेर संसद्को करिब २ हजार पृष्ठ लिखतको फोटो खिचो । घर गएर हरेक पेज जुम गरी–गरी ध्यान दिएर पढेँ ।
महिनौं लगाएर सबै कागजात पढेपछि र दर्जनौं व्यक्तिसँग कुराकानी गरेपछि लेख्दै जाँदा किताबको पाण्डुलिपि तयार भयो । यो सबै अध्ययन र कुराकानीपछि मलाई लाग्यो, राजनीतिमा देखिने र नदेखिने कुरा हुँदोरहेछ । पब्लिक आकर्षणका लागि हामी एउटा बोल्छौँ । तर इतिहासमा त कैयौं कठिन मोड र घुम्ती रहेछन् ।
हामीले इतिहास हेर्यौं भने बीपी र महेन्द्रले एकअर्कालाई गाली वा आलोचना गरेको हामीले कहींकतै भेट्दैनौं । जब कि निर्वाचित प्रधानमन्त्री बीपीलाई राजा महेन्द्रले आठ वर्ष थुनेका थिए । त्यो पनि बिनापुर्जी, बिनामुद्दा चलाएर । यति हुँदा पनि बीपीले राजाको आलोचना गरेको देखिन्न ।
इतिहासका पाना पल्टाएर हेर्ने हो भने प्रस्टै देखिन्छ, राजा महेन्द्र राजसंस्थालाई बलियो बनाउनुपर्छ भन्थे । जब कि बीपी जनतालाई अधिकार दिनुपर्छ र जनमतबाट देश चल्नुपर्छ भन्नेमा विश्वास राख्थे । राजाको काम भनेको राज्य प्रमुखका रूपमा संवैधानिक रूपमा बस्नुपर्छ भन्ने बीपीको बुझाइ थियो । तर राजा भने आफैं शासन गर्न चाहन्थे । खासमा यही नै राजा महेन्द्र र बीपीको मुख्य द्वन्द्व थियो ।
त्यति बेला बीपी कोइरालाको अन्तर्राष्ट्रिय ख्याति र विद्वत्ताको अगाडि राजा महेन्द्र एक्लैले शासन गर्न सक्ने अवस्था थिएन । त्यसैले पनि महेन्द्र जननिर्वाचित प्रधानमन्त्रीलाई कू गर्ने बाटोमा लागे । तर कूको तयारीबारे राजा महेन्द्रले कसैलाई सुइँको दिएका थिएनन् । यो कुरा उनले आफ्नै मनमा बाँधेर राखेका थिए ।
त्यति बेलाका प्रधानसेनापतिलाई पनि उनले कू गर्ने दिन नै मैले कू गर्दै छु भनेर जानकारी दिएका थिए । मैले यस विषयबारे बुझ्न विश्वबन्धु थापा, तुलसी गिरीहरूसँग पनि कुरा गरेको थिएँ । उनीहरूले पनि राजाले कू चाहिँ गर्छन् भन्ने अनुमान रहेको तर कू गर्ने तिथिमिति चाहिँ अनिश्चित थियो भनेर बताए ।
त्यति बेलाका अरु मानिससँग कुरा गर्दा पनि राजाले लामो तयारी गरेर कू गरेका थिएनन् भन्ने नै लाग्छ । महेन्द्रले दोस्रो दर्जाका आर्मी जनरललाई प्रयोग गरेर कू गरेको कुराबाट पनि यो अनुमान गर्न सकिन्छ । त्यति मात्रै नभएर कू गरेपछि के–के गर्ने र कता जाने भन्ने विषयमा पनि राजा महेन्द्र प्रस्ट थिएनन् । अथवा उनीसँग कूपछिको योजना पनि थिएन भन्ने देखिन्छ ।
पञ्चायतको रोडम्याप बनाएका थिए, विश्वबन्धु थापाले । किताब निस्किएपछिको एक दिन मसँगको भेटमा राजाको प्रसंग निकाल्दै उनले भनेका थिए, ‘कू गरेपछि राजाले मलाई मेरो मान्छे छैनन्, तिमीले जो–जो खोज्छौ, त्यही राख्ने । मैले कू गरिदिएा, अब तिमीहरूले गर्ने हो, मान्छे खोजौं ।’
उनले त्यसपछि आफूले महेन्द्रनारायण निधिलाई मन्त्री बनाउनुपर्छ भनेर राजासँग सहमति लिएर निधिलाई भेटन हिडेको तर निधिले नमानेपछि अनिरुद्रप्रसाद सिंहलाई मन्त्री बनाएको कुरा पनि बताए । यस्ता थुप्रै तथ्य छन्, जसबाट राजा स्पष्ट रूपमा आˆनो अधिकार देखाउने अभिलाषामा थिए । तर उनीसँग स्पष्ट योजना थिएनन् भन्ने बुझिन्छ ।
महेन्द्रको एउटा स्वभाव थियो, जो मान्छे भए पनि आफू अनूकुलको हुनुपर्छ भन्ने । आफ्नो सर्त मान्ने हुनुपर्छ भन्ने । तर बीपीले महेन्द्रका कुनै पनि सर्त स्विकार्न चाहेनन् । यति हुादाहुादै पनि महेन्द्र र बीपी राष्ट्रियताको सवालमा एक ठाउामा थिए । तर प्रजातन्त्रको विषयमा उनीहरूको फरक मत थियो । खासमा कूको मुख्य कारण यही थियो ।
त्यति बेलाको समय बेग्लै थियो । नेपालभित्र विश्वविद्यालय खुलेकै थिएनन् । अहिलेको जस्तो शिक्षा थिएन । चेतनाको स्तर कमजोर थियो । आजको जस्तो बलियो मिडिया थिएन । राजालाई भगवान्को अवतार मानेर पूजा गरिन्थ्यो । राजा हिाडेको ठाउाको माटो समातेर टीका लगाइन्थ्यो । त्यो समाजमा बीपीले जुन हिसाबले मुलुकलाई अघि बढाउन खोजे, त्यो अनुकूलको वातावरण थिएन । कतिसम्म भने उनको पार्टीभित्रै पनि सबै मान्छे बीपीको विचारसँग सहमत थिएनन् ।
भारतमा जन्मिएका बीपीको स्कुलिङ त्यही भयो । जति बेला त्यहाँ ब्रिटिस शासन थियो । राजाको बेग्लै खालको सोच र समझ थियो । जनस्तरमा पनि प्रजातन्त्र के हो र यो कसका लागि हो भन्ने आम बुझाइ बनिसकेको थिएन । त्यही परिस्थितिमा राजाले कू गरेका थिए । त्यसैले आजको चस्माले हेरेर त्यो बेलाको परिस्थितिलाई व्याख्या गर्दा इतिहासमाथि न्याय हुँदैन । इतिहासलाई त्यति बेलाकै चस्माबाट हेर्नुपर्छ ।
बीपीकै छत्रछायामा हुर्केकाहरूले नै त्यति बेला बीपीको साथ छोडेर महेन्द्रको कित्तामा पुगेको देखिन्छ । त्यो भने आफैंमा अनौठो दृश्य लाग्छ । त्यति बेला तुलसी गिरी र विश्वबन्धु थापालाई बीपीका दाहिने र देब्रे हात मानिन्थ्यो । तर उनीहरूमा चरम महत्त्वाकांक्षा थियो । त्यसैले बीपीको पार्टीमा बस्दा आफ्नो महत्त्वाकांक्षा पूरा हुँदैन भन्ने उनीहरूलाई लागिरहेको थियो । जब राजले उनीहरूलाई लाभको पद देखाए, उनिहरू उतै लागे ।
भन्न त उनीहरू राजाले केही समयपछि आफूले प्रजातन्त्र फिर्ता दिन्छु भन्ने सर्तपछि आफूहरू उता गएका भनेर पनि बताएका छन् । विश्वबन्धु थापाले एउटा कुराकानीमा भने मसँग त्यति बेला आफूले गल्ती गरेको पनि जनाएका थिए ।
मेरो बुझाइमा जो–जो बीपीलाई छाडेर महेन्द्रतिर लागे, उनीहरू पनि त्यति धेरै कुरा बुझेर गए जस्तो लाग्दैन । राजाले भने जुन मान्छेलाई जसरी प्रयोग गर्न सकिन्छ, त्यसरी गरेर आˆनो उद्देश्य पूरा गरे जस्तो लाग्छ ।
यो सबै परिस्थिति निर्माण हुनुका पछाडि बीपीका पनि केही कमजोरी थिए । किनकि बीपीसँग पनि आम मान्छेमा जस्तै केही कमजोरी नहुने कुरै भएन । आफ्नो पार्टीका मान्छेलाई दरबारमा बोलाउने, भोज गराउने र बीपीविरुद्ध उकास्ने काम राजाले गरिरहेका थिए । तर त्यस विषयलाई बीपीले गम्भीर रुपमा लिएर नियन्त्रण गर्नुपर्ने थियो ।
कतिसम्म भने राजाले कू गर्दै छन् भन्ने कुरालाई पनि बीपीले खासै आकलन नगरेको देखिन्छ । किनकि उनी कू हुनुअघि रामेछाप र सिन्धुली भ्रमणको तयारीमा थिए । त्यति बेला बीपीको बुझाइ थियो, राजाले मलाई मन पराएका छैनन् ।
किनकी बीपी प्रधानमन्त्री हुने बेलामा नै एक बर्षपछि सुवर्णशमसेरलाई सत्ता हस्तान्तरण गर्ने सर्त स्विकारेर उनी प्रधानमन्त्री बनेका थिए । त्यसैले बीपी यो सर्त पुरा गर्न मानसिक रुपमा नै थिए । त्यति बेलाको राजनीतिक परिस्थितिलाई हेर्दा बीपीमा ओभर–कन्फिडेन्स भयो कि भन्ने पनि लाग्छ । अनि आˆनो पार्टीभित्रकै मान्छेले धोका दिन्छन् भन्ने परिकल्पना नगर्नु पनि उनको कमजोरी थियो कि !
त्यति बेलाको समय नेपाली राजनीतिका निम्ति अहिलेसम्म पनि महत्त्वपूर्ण छ । किनकि त्यो नै यस्तो मोड थियो, जहााबाट राजनीतिमा अस्थिरताको खेल सुरु भएको थियो । जसको सुरुवात गरेका थिए, राजा महेन्द्रले । जननिर्वाचित सरकारलाई डेढ वर्षमै बर्खास्त गर्नु नै राजाको ठूलो गल्ती थियो । त्यही कदमले अस्थिरताको जग बसाल्यो । गणतन्त्रको जग हल्यो र राजतन्त्रको पतनको सुरुवात गर्यो ।
राजा महेन्द्रमा यो मुलुक हाम्रो पुर्खाको उपज हो भन्ने सोच गहिरो थियो । त्यो समयमा जनताले विभिन्न कारणले उनलाई भगवान्सरह मान्थे । राणाकालदेखि नै मौलाएको चाकडी र चाप्लुसीको सामाजिक संस्कार र संस्कृति राजदरबारमा अझै गहिरो रूपमा थियो ।
राजाको कार्यशैलीमाथि प्रश्न गर्न सक्ने कुनै निकाय थिएन । त्यस अवस्थामा, राजाले आफूभन्दा माथि कोही लोकप्रिय होस् भन्ने चाहादैनथे । यो सोचाइको प्रभावले उनले व्यवस्थामाथि प्रहार गरे । शिक्षाका दृष्टिले पनि महेन्द्र त्यति योग्य थिएनन् । बीपीको तुलनामा उनी धेरै कम शिक्षित थिए । र यो तथ्य धेरै दस्तावेजले प्रमाणित गरेका छन् ।
इतिहासको घुम्तीलाई नजिकबाट नियाल्दा र त्यति बेलाको शक्तिसंघर्ष बुझ्दा त्यति बेला महेन्द्रले संवैधानिक राजाका रूपमा बस्न स्वीकार गरेको भए, नेपाल धेरै अघि बढ्न सक्थ्यो । गणतन्त्र आउँदैनथ्यो । अनि विकासका दृष्टिले पनि मुलुक अघि बढ्थ्यो । त्यसैले महेन्द्रले त्यति बेला जे हिसाब गरेर जुन कदम चालेका थिए, त्यो गलत थियो ।
