इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातमा स‌लग्नलाई कारबाही नभएसम्म कर्मचारीले काम गर्न नसक्ने जनाएका छन्।

असार १८, २०८३

रमेशकुमार पौडेल, राजु चौधरी

Chief Administrative Officer of Ichchakamana Rural Municipality assaulted in office

चितवन — चितवनको पहाडी भू–भाग समेटिएको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै हातपात भएको छ । बिहीबार बिहान ११ बजेको समयमा निर्माण व्यवसायी किङफिसर कन्सट्रक्सनका संचालक लालबहादुर तामाङसहितको ६ जनाको समूहले हातपात गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले ज्यान मार्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत माथि हातपात भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई जानकारी गराइसकिएको बताइन् । घाइते प्रशासकीय अधिकृत बस्नेतको टाउको, मुख, नाक र शरीरका अन्य भागमा चोटपटक लागेको छ । उनको गाउँपालिकाकै अस्पतालमा उपचार भइरहेको उपाध्यक्ष सिलवालले जानकारी दिइन् । 

प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा अन्य दुई जना सेवाग्राही थिए । ती सेवाग्राहीलाई बाहिर निस्किन लगाएर ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गरेका थिए । 

यसैबीच गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले असुरक्षाको कारण देखाउँदै कामकाज ठप्प पारेका छन् । उनीहरुले सामूहिक विज्ञप्ती जारी गर्दै दोषी उपर कडा नगरेसम्म कामकाज गर्न असमर्थ रहेको जनाएका छन् ।

गाउँपालिकाले बैंक ग्यारेन्टी माग गरेको विषयमा कालिका नगरपालिका–२ स्थित पदमपुरमा रहेको किङफिसर कम्पनी र कार्यालयबीच विवाद थियो । किङफिसरले गाउँपालिकाविरुद्ध आदेश जारी गर्न माग गर्दै अदालतमा निवेदन दिए पनि चितवन अदालतले बुधबार मात्रै त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो ।चितवन प्रहरीले घटनामा संलग्नको खोजी कार्य जारी रहेको जनाएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully