जडान गर्ने कम्पनीले सफ्टवेयर बुझाएपछि यसअघि भारतबाट संचालन हुँदै आएको स्मार्ट बत्तीको सबै कन्ट्रोल अब भीमेश्वर नगरपालिका आफैंले गर्न सक्ने भएको छ।
What you should know
दोलखा — चार वर्षअघि बिद्युत प्राधिकरणसँगको साझेदारीमा भीमेश्वर नगरपालिकाले बजार क्षेत्रमा जडान गरेको स्मार्ट सडक बत्ती ‘मास’ लाइटसहितको सबै सिस्टम नगरपालिकाबाटै संचालनमा आएको छ । जडान गर्ने कम्पनीले बत्तीको सफ्टवेयरसहित सबै प्राविधिक पक्ष नगरपालिकालाई बुझाएको हो ।
गत वैशाख १२ गते कान्तिपुरमा ‘बत्ती दोलखमा स्विच भारतमा’ शीर्षकमा समाचार प्रकाशन भएपछि जडान गर्ने कम्पनीले सबै सफ्टवेर नगरपालिकालाई बुझाएको हो । एक साता लगत्तै कम्पनीका प्रतिनिधिले सबै सफ्टवेयर दिएर नगरबाटै तालिकामा निभाउने र बाल्ने गरी जिम्मा लगाइएको नगरपालिकाका सडक बत्ती हेर्दै आएका कर्मचारी अर्जुन तामाङले बताए ।
चरिकोटलाई स्मार्ट सिटी बनाउन २०७८ सालमा बत्ती जडानको काम सुरु गरेर २०७९ मा सम्पन्न भएको थियो। बजारको मुख्य सातदोबाटो र पशुपति चोकमा ‘मास’ स्मार्ट सडक बत्ती जडान भएका थिए । अत्याधुनिक सडक बत्ती सातदोबाटो र पशुपति चोकमा ८/८ वटा फ्लड लाइटको २ वटा १६ सय वाटको मास लाइट । यस्तै ९० वाटको ६५ र १ सय २० वाटको १० आधुनिक स्मार्ट लाइट जडान गरिएको थियो ।
यी सबै एक समयमा बल्ने र निभ्ने गरी तालिका बनाइएको छ । सूर्योदय उर्जा प्रालिले बोलपत्र कबोल गरेर जडान गरे पनि यसको कन्ट्रोल सिस्टम भने दिएको थिएन । यसको सबै कन्ट्रोल खरीद गरेर ल्याएको भारतीय कम्पनीबाट हुँदै आएको थियो । ‘जडान गर्ने कम्पनीका प्राविधिक आएर सबै बत्तीको अवस्था हेरेर हामीलाई नै सबै सिस्टम दिएका छन्,’ उनले भने, ‘अब नगरपालिकाबाटै यसको स्विच मिलाउन सकिन्छ ।’
समाचार प्रकाशनपछि नेपाल विद्युत प्राधिकरणको सडक बत्ती आयोजनाले पनि जिज्ञासा राखेको उनले बताए। सबै बत्ती भारतीय कम्पनीबाट खरिद भएकाले यसको सफ्टवेयर भारतीय कम्पनीले दिन मानेको थिएन। नगरपालिकाभरिको स्मार्ट लाइटको बत्तीको हरेक वर्ष १५ लाख भन्दा बढी विद्युत महशुल नगरले बुझाउँदै आएको छ । यी अत्याधुनिक लाइटहरु राति मधुरो(डिम)सहितको सेन्सर सिस्टम पनि छ । नगरपालिकाको ६० र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा १ करोड ११ लाखमा जडान भएका हुन् ।
