बत्ती दोलखामा, स्विच भारतमा

बजारको मुख्य सातदोबाटो र पशुपति चोकमा ८/८ वटा फ्लड लाइट राखेर दुईवटा ‘हाई मास्ट लाइट’ सहित ९० वाटको ६५ र १ सय २० वाटको १० वटा आधुनिक स्मार्ट लाइट जडान गरिएको थियो ।

वैशाख १३, २०८३

केदार शिवाकोटी

The light is in Dolakha, the switch is in India.

दोलखा — भीमेश्वर नगरपालिकाले विद्युत् प्राधिकरणसँगको साझेदारीमा चार वर्षअघि बजार क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गर्‍यो । चरिकोटलाई स्मार्ट सिटी बनाउन भन्दै २०७९ मा बत्ती जडान सम्पन्न भएको थियो । 

बजारको मुख्य सातदोबाटो र पशुपति चोकमा ८/८ वटा फ्लड लाइट राखेर दुईवटा ‘हाई मास्ट लाइट’ सहित ९० वाटको ६५ र १ सय २० वाटको १० वटा आधुनिक स्मार्ट लाइट जडान गरिएको थियो ।

यी सबै एकै समयमा बल्ने र निभ्ने गरी समयतालिका बनाइएको छ । तर यी बत्तीको समयतालिकाको स्विच भने भारतमा छ । जसले गर्दा साँझ घाम नअस्ताउँदै बल्ने र बिहान घाम लागेसम्म ननिभ्ने भएपछि स्थानीयले नगरपालिकाका कर्मचारीसँग जिज्ञासा राखे । 

स्थानीयको जिज्ञासापछि नगरपालिकाको आग्रहमा जडान गर्ने कम्पनीले एक महिनाअघि समयतालिका परिवर्तन गर्न लगाएर अहिले साँझ साढे ६ बजेदेखि बिहान ६ बजेसम्म बल्ने बनाएको छ । तर, सडक बत्ती बाल्ने र निभाउने समयमा परिवर्तन गर्न भारतीय कम्पनीकै भर पर्नुपरेको नगरपालिकाका कर्मचारी बताउँछन् । बत्ती जडान गर्ने कम्पनीले भारतीय कम्पनीबाट खरिद भएकाले यसको सफ्टवेयर उतै हुँदा नेपालबाट समय परिवर्तन गर्न नसकिएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाको ६० र प्राधिकरणको ४० प्रतिशत गरी १ करोड ११ लाखमा सूर्योदय ऊर्जा प्रालिले स्मार्ट बत्ती जडान गरेको हो । बत्तीको समयतालिका मिलाउने जिम्मेवारीमा रहेका नगरपालिका कर्मचारी अर्जुन तामाङले जडान गर्ने कम्पनीले भारतबाट किनेको कम्पनीले मात्रै मिलाउन सक्ने जवाफ दिएको बताए ।

नगरपालिकाले हरेक वर्ष १५ लाखभन्दा बढी स्मार्ट लाइटको विद्युत् महसुल तिर्दै आएको छ । यी लाइटमा समयअनुसार बल्ने/निभ्ने र बत्ती मधुरो (डिम) पार्ने सेन्सर पनि छ । ‘मैले दिउँसै बत्ती बलेपछि तालिका मिलाइदिन जडान गर्ने कम्पनीलाई भन्दा उसले भारतमा इमेल गरेर भन्नुपर्ने जवाफ दिए,’ उनले भने, ‘पटक–पटक आग्रह गरेपछि एक महिनाअघि यता सफ्टवेयर नचलेर उतैबाट समय मिलाएको बताएका थिए ।’ 

६ महिनाअघि बत्ती जडान गर्ने कम्पनी सूर्योदय ऊर्जाले तामाङलाई बत्तीको समयतालिका मिलाउनेसम्बन्धी एकदिने तालिम पनि दिएको थियो । तालिम दिए पनि कम्पनीले उपलब्ध गराएको बत्तीको तालिका मिलाउने ‘एप’ नचलेको उनले बताए । 

नगरपालिकाले हरेक वर्ष १५ लाखभन्दा बढी स्मार्ट लाइटको विद्युत् महसुल तिर्दै आएको छ । यी लाइटमा समयअनुसार बल्ने/निभ्ने र बत्ती मधुरो (डिम) पार्ने सेन्सर पनि छ । 

तर सफ्टवेर नगरपालिकासँग नहुँदा सेन्सरको प्रयोग हुन नसकेको र त्यसले गर्दा विद्युत् महसुल पनि बढी उठ्ने गरेको नगरपालिकाको भनाइ छ । जडान गर्ने नेपाली कम्पनीले बत्तीको सफ्टवेयर नगरपालिका र विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रलाई दिएको छैन । 

भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले भने विगतमा बत्तीको समयतालिका भारतबाटै मिलाउनुपर्ने बाध्यता भए पनि हाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको खबर पाएको बताए । ‘२/३ वर्षदेखि भारतबाट बत्तीको समयतालिका मिलाउन भन्नुपर्थ्यो,’ उनले भने, ‘प्राधिकरणलाई हस्तान्तरण भएको खबर पाएको छु, अब सुधार हुन्छ कि ।’ तर, विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंहले यस विषयमा प्राधिकरणको सडक बत्ती आयोजनालाई मात्र थाहा हुने बताए । 

 प्राधिकरणको सडक बत्ती आयोजनाका पूर्व (तत्कालीन) प्रमुख सागर ज्ञवालीले केही समयदेखि स्मार्ट बत्तीको तालिकामा समस्या भएको स्विकारे । साथै उनले भारतीय कम्पनीबाट सफ्टवेयर पाइसकेकाले अब केही एक सातामा समस्या समाधान हुने बताए । ‘विगतमा सफ्टवेयरमा समस्या देखिएकाले भारतबाटै तालिका मिलाउनुपर्ने थियो, अहिले हामीले यतै सफ्टवेयर परिवर्तन गरिसकेका छौं,’ उनले भने, ‘यो केही दिनमा समाधान हुन्छ, यो सानो समस्या हो ।’

यसको दीर्घकालीन समाधानका लागि सर्भर फेरेर हार्डवेयर र सफ्टवेयरसम्बन्धी काम भइरहेको उनले बताए । ‘जडानको जिम्मा लिने कम्पनीहरूले भारतीय कम्पनीलाई दिएका रहेछन्, त्यही भएर यो समस्या आएको हो,’ उनले भने, ‘यसको दीर्घकालीन समाधानका लागि हाम्रो आईटी टिम लागिरहेको छ, एक सातामा अहिलेको समस्या समाधान हुन्छ ।’

केदार

Link copied successfully