चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिक चुम्लिङटारमा साँझ सवा ५ बजेतिर मिक्स्चर गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी महिलाको निधन भएको हो ।
चितवन — पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिक चुम्लिङटारमा सोमबार साँझ मिक्चर पीएम गाडीले ठक्कर दिँदा स्कुटर पछाडि बसेकी महिलाको निधन भएको छ ।
सोमबार दिउँसो पनि चितवनको पूर्वी भेग रत्ननगर निपनी चोकमा तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा स्कुटर पछाडि बसेकी महिलाको निधन भएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार चुम्लिङटारमा साँझ सवा पाँच बजेतिर बागमती प्रदेश ०२-०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १-०२-००१ क ४५३३ नम्बरको मिक्स्चर गाडीले ठक्कर दिएको थियो । ठक्करका कारण घाइते भएकी स्कुटरको पछाडि बसेकी धादिङ बेनीघाट रोराङ गाउँपालिका-८ की अम्बकुमारी श्रेष्ठको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा निधन भएको डीएसपी खनालको भनाइ छ ।
दुर्घटनामा स्कुटर चालक टपलाल श्रेष्ठको खुट्टा र शरीरमा चोट छ । उनको अवस्था मध्यम छ । दुर्घटनापछि पीएम मिक्स्चर गाडीका चालक फरार छन् । स्थानीयले साँझ सात बजेतिर सडक अवरूद्ध गरेको डीएसपी खनालले जानकारी दिए ।
