ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

दुर्घटनामा स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका-७ की मिना रेग्मीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए ।

चैत्र ९, २०८२

रमेशकुमार पौडेल

Woman riding scooter dies after being hit by tanker

चितवन — रत्ननगर-९ निपनी चोकमा पेट्रोलियम पदार्थ (तेल) बोक्ने ट्यांकरले ठक्कर दिँदा स्कुटरको पछाडि सवार एक महिलाको निधन भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो साढे तीन बजेतिर भित्री बाटोबाट निस्कदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई लु २ ख २८९४ नम्बरको ट्यांकरले ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि बसेकी भरतपुर महानगरपालिका-७ की  मिना रेग्मीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए ।

स्कुटर चालक भरतपुर-७ का पूर्ण सापकोटा सामान्य रहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक राप्ती नगरपालिका-७ कालसुवन तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि अन्य बाटो प्रयोग गरेर गाडी चलेका छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully