सहयोग जुटेपछि बन्यो कुमारकी श्रीमतीको नागरिकता

दलित समुदायका कुमार गाउँघरमा भारी बोक्ने, पर्मलगायतका काम गरेर परिवार चलाउँदै आएका छन्।

फाल्गुन २९, २०८२

अनिश तिवारी

Kumar's wife's citizenship was obtained after support was gathered

What you should know

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेका कुमार नेपालीले आर्थिक सहयोग पाएपछि श्रीमतीको नागरिकतासहित आवश्यक कागजात बनाउन सफल भएका छन्।

यसअघि ईकान्तिपुरको 'घरखर्च' स्तम्भमा ‘पैसाको कमीले श्रीमतीको नागरिकता बनाउन सकेको छैन’ शीर्षकमा प्रकाशित समाचारपछि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र प्रतिबद्ध परियोजना र बाह्रबिसे नगरपालिकाले आर्थिक सहयोग र समन्वय गरेपछि शुक्रबार उनले श्रीमती जानकी नेपालीको नागरिकता, विवाह दर्ता तथा छोराछोरीको जन्मदर्ता गराएका हुन्।

संस्थाले यातायात, खानाखाजा खर्च र नगरपालिकाले प्राविधिक व्यवस्थापन गरेपछि बाह्रबिसे नगरपालिकाको समन्वयमा कागजात बनाउन सम्भव भएको हो। 'महिनामा दुई–तीन हजार कमाइले घर खर्च चलाउनै गाह्रो थियो,' कुमारले भने, '१० वर्षसम्म पनि पैसाको अभावले श्रीमतीको नागरिकता बनाउन सकिनँ। सहयोग पाएपछि नागरिकता र अन्य कागजात बनाउन सकेँ।'

गाउँबाट बाह्रबिसे हुँदै चौतारा पुगेर कागजात बनाउन बसभाडा र खानपानमा कम्तीमा पाँचदेखि सात हजार रुपैयाँ खर्च हुने उनले बताए। दलित समुदायका कुमार गाउँघरमा भारी बोक्ने, पर्म गर्ने लगायतका काम गरेर परिवार चलाउँदै आएका छन्। उनकी श्रीमती पनि दाउरा र घाँसपात बोकेर मजदुरी गर्छिन्। नौ वर्षका छोरा र चार वर्षकी छोरीसहित चार जनाको परिवारको गुजारा यस्तै श्रमबाट चलिरहेको छ।

२०७२ को भूकम्पले घर भत्काएपछि अहिले सानो घरमा बस्दै आएका उनीसँग दुई साना खेत भए पनि उत्पादनले वर्षभरि खान पुग्दैन। 'बालबच्चाको पढाइ निःशुल्क भए पनि गाँस टार्नै मुस्किल छ,' उनले भने ।

बाह्रबिसे नगरपालिका र सहयोगी संस्थाले उनकाे जीविकोपार्जनमा थप सहयोग गर्ने जनाएको छ । नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले नेपालीका बालबच्चालाई नि:शुल्क पठनपाठन र अन्य कुरामा आवश्यक  सहयोग गर्ने बताए ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्र प्रतिबद्ध परियोजनाका संयोजक गोपालकृष्ण बस्नेतले थप सहयोगमा नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए ।  

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully