जुरो उठेको गीर गाईको दूध मात्रै नभएर गोबर र गहुँत पनि उपयोगी हुने देखेका कारण पाल्न सुरु गरेको उनले बताए ।
चितवन — भारतीय नश्लको गीर गाई चितवनको गोठमा पनि देखा पर्न थालेका छन् । थोरै दूध दिने रैथाने नश्लका गाई छाडेर धेरै दूध दिने उन्नत जातका जर्सी होलिस्टिन गाई पाल्ने चलन बढ्दै गए पनि चितवनको पूर्वी भेग खैरहनी गरपालिका–४ चैनपुरका ६१ वर्षीय किसान लक्ष्मण घिमिरेले योभन्दा फरक गीर गाई पाल्न सुरु गरेका छन् । उनले डेढ वर्षअघि भारत गुजरातबाट गीर गाई ल्याएका हुन् ।
जुरो उठेको गीर गाईको दूध मात्रै नभएर गोबर र गहुँत पनि उपयोगी हुने देखेका कारण पाल्न सुरु गरेको उनले बताए । ‘मैले ल्याएको गीर गाई पहिलो पटक ब्याएको हो । दिनमा २० लिटर दूध दियो । यो दोब्बरसम्म हुन्छ । यसको गहुँत प्रशोधन गरेर अर्क बनाएर बिक्री गरेको छु । अर्कको पनि राम्रै मूल्य छ,’ घिमिरेले भने । दूध लिटरको १५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।
आफू प्राङ्गारिक खेती गर्ने भएका कारण गाईको गोबर राम्रो मल भएको उनले बताए । ‘बालीनालीको बीउ जोगाउन गहुँतबाट उपचार गर्दा राम्रो परिणाम आएको छ । बीउमा किरा नलाग्ने मात्रै हैन उम्रने शक्ति पनि बढेको छ । त्यसैले यसको दूधमा मात्रै हैन मल र मुत्र (गहुँत) पनि हामी किसानलाई उपयोगी छ,’ घिमिरेले भने । अन्य उन्नत नश्लका गाईहरुमा यस्तो शक्ति नहुने उनले तर्क गरे ।
घ्यु पनि आयुर्वेदिक औषधिका रुपमा उपयोग हुने भएका कारणले अन्यभन्दा उच्च मूल्यमा बिक्री भएको उनले बताए । पहिला रत्ननगर नगरपालिका–१० मा बस्दै आएका घिमिरे आर्जनका लागि विभिन्न उपाएमा लागे । देश विदेश भौतारिए । दुबईदेखि मकाउसम्म गए । कृषि उद्यमका विषयमा तालिम दिँदै देशका विभिन्न भेगमा पनि पुगे । डुल्दै गर्दा १४ वर्षअघि भारतको गुजरात सावरमति गुरुकुल पुगे ।
गीर गाई उनले त्यही देखेका हुन् । यसका बारेमा जान्ने, बुझ्ने अवसर पनि उनले पाए । ६ वर्ष त्यहाँ बस्दा घर फर्केर गीर गाई फाल्ने रहर बढ्यो । तर गाई ल्याउन पाएका थिएनन् । ‘नेपालमा गीर गाई निकै कम रहेछ । फाट्टफुट्ट जस्तो भेटिने । फेरि शुद्ध नश्लको होला न होला भन्ने लाग्यो । गुजरातबाटै ल्याउन खोज्दा समय लाग्यो,’ लक्ष्मणले भने ।
२०८१ सालको आसरमा उनको गोठमा गीर गाई आयो । बैशाखमा ब्याएको गाई ल्याएको हुँदा माउ बाच्छीसँगै गोठमा भित्रिए । पूर्वी नेपालबाट उनले एउटा बाच्छी थपेका छन् । गोठमा एउटा माउ हुँदा नै ६० हजार रुपैयाँ जतिको घ्यु मात्रै बेचेको बताउँछन् । ‘मैले शुद्ध नश्लको गाई गुजरातबाटै ल्याउँ भन्दा दुई लाख रुपैयाँ जति खर्च भएको छ । तर यसबाट फाइदा पनि राम्रै भयो,’ उनले भने ।
पूर्वी तराईको सिराहा, सप्तरी र झापमा पनि फाट्टफुट्ट गीर गाई पाल्ने गरेको उनले बताए । ‘यो चर्न रुचाउने गाई हो । हात्ती जस्तै मजाले चर्छ । चरेर मात्रै नपुग्ला भनेर घाँस पनि रोपेको छु । दानामा खासै खर्च छैन । घरमा भएका अन्न जे छन् दिँदा हुन्छ । यसलाई रोग लागेको भने थाहा छैन । फाइदा भनेकै यही हो,’ लक्ष्मणले भने । उनले संख्या बढाएर आठ १० वटा पुर्याउने योजना बनाएका छन् ।
चितवन रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम कार्यालयका सूचना अधिकारी डा. हेमराज ढकाल नेपालमा गीर गाई कमै मात्र पाल्ने गरेको बताउँछन् । ‘यो हाम्रो स्थानीय नश्लकको हैन भारतीय नश्लको हो । त्यसैले यसलाई विदेशी नश्लकै भनिन्छ । यो गाई नेपालमा तराईका केही ठाउँमा बाहेक अन्यत्र खासै पालेको भने भेटिँदैन’ ढकालले भने ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले गीर गाईका बारेमा पनि अनुसन्धान गर्ने योजना बनाएको उनले जानकारी दिए । ‘हामीले सकेसम्म यही वर्ष आठ १० वटा गीर गाई ल्याउने भएका छौं । अनि यो गाईका विभिन्न पक्षहरुका बारेमा अध्ययन, अनुशन्धान र विश्लेषण हुने छ,’ ढकालले भने ।
