कोदो र फापर खेतीमा फर्कँदै हिमाली किसान

बजारकाे पहुँच र माग बढेका कारण हिमाली क्षेत्रका किसान काेदाे, फापर जस्ता रैथाने बालीकाे खेती बढाउन थालेका छन् ।

पुस १०, २०८२

केदार शिवाकोटी

दोलखा — बिगु गाउँपालिका–१ का लालबहादुर तामाङले धेरै वर्ष कोदो रोप्नै छाडे । ज्याला मजदुरी गरेर बजारबाट चामल किनेर परिवार पाले ।

उनको बारीमा कोदो र मकैबाहेक अन्य खेती हुँदैन । कोदो रोप्नै छाडेका उनले थाेरै मकै मात्र छर्थे । ३ वर्षदेखि  भने उनले पुनः कोदो रोप्न थाले ।

वर्षमा मुस्किलले ३ महिना खान पुग्ने उनको बारीको मकै र कोदोले अहिले ५ महिना धान्छ । बाँकी ७ महिना बजारबाट किनेको चाममले । ‘आफ्नो बारी बाँझो राखेर बजारको चामलले बल दिएन,’ उनले भने, ‘बल दिने कोदो रैछ, त्यसको ढिडो, रोटी हप्तामा २/४ दिन खान्छौं, अहिले सबै बारीमा कोदो खेती गरिरहेको छु ।’ कोदो खोज्न गाउँमा मान्छे पनि आउन थालेको उनले बताए । ‘हेपाहा बाली भन्थ्यौं, अहिले सहरका मान्छे पाथीको कति भनेर सोध्छन्,’ उनले भने, आफैलाई  खान पुग्दैन, बढी हुनेले गाउँमै आउनेलाई बेच्ने पनि गरेका छन् ।’ 

हिमाली जिल्ला दोलखामा पछिल्लाे समय रैथाने बाली कोदोकाे खेती बिस्तार भइरहेको छ । हिमाली क्षेत्रको मुख्य खाद्यान्न बालीका रुपमा रहेको कोदो खेती वर्षेनी बढ्दो रुपमा रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ । 

पछिल्लो पाँच वर्षमा जिल्लाभर १ सय हेक्टरमा थप कोदो खेती बिस्तार हुनुका साथै उत्पादन बढेको छ । जिल्लाभर ३ हजार ६ सय ५७ हेक्टरमा कोदो खेती हुँदै आएको थियो । घट्दो रुपमा रहेको रैथाने बाली कोदोको माग बढ्दै गएपछि हिमाली क्षेत्रमा कोदो खेती गर्नेको संख्या बढेको दोलखा र रामेछाप कार्य क्षेत्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख प्रमोदप्रसाद दाहलले बताए । 

उनका अनुसार रामेछापमा कोदो खेती खुम्चिँदै जाँदा दोलखामा भने हरेक वर्ष विस्तार हुने क्रम बढेको छ । पछिल्लो तथ्यांक अनुसार दोलखामा १ सय हेक्टरमा कोदो खेती विस्तार भएको छ । हिमाली क्षेत्रका किसानको बजार पहुँच र माग बढेका कारण पुनः रैथाने बालीप्रति आर्कषित भएका हुन् । सहरका होटल रेष्टुरेन्टमा कोदोको परिकार पर्न थालेपछि रैथाने बालीको बजार बढेको हो । जिल्लामा खुलेका कोसेली घरमा कोदोको पिठो बिक्री हुने गरेको छ ।

गएको वर्ष जिल्लाभर ५ हजार ४ सय ८४ मेट्रिक टन कोदो उत्पादन भएको थियो । यो वर्ष थप १ सय हेक्टरमा कोदो खेती बिस्तार हुनका साथै १ सय ५ मेट्रिक टन उत्पादन बढेको दाहालले बताए । ‘हाम्रो कार्यक्षेत्र रहेको दोलखामा हरेक वर्ष कोदो खेती बिस्तार भइरहेको छ,’ उनले भने, ‘यसले हिमाली किसान पुनः रैथाने बालीमा आर्कषित भएको देखिन्छ, कम्तीमा स्वस्थताको लागि भए पनि गाउँमा कोदोको परिकार खाने बढेका छन् ।’ व्यवसायिक रुपमा कोदो खेती भने खासै हुन नसकेको उनले बताए । दोलखामा रैथाने बाली कोदो मात्रै नभएर फापरको खेती पनि विस्तार हुने क्रम बढ्दो रहेको उनले बताए ।

पाँच वर्षयता सबैभन्दा धेरै फापर खेती विस्तार भएको तथ्यांक छ । करिब ११ सय हेक्टरमा हुँदै आएको फापर खेती पाँच वर्षमा थप ९ सय ७० हेक्टरमा विस्तार भएको दाहालले बताए । पाँच वर्षमा ९ सय ७ मेट्रिकटनबाट हाल १ हजार ९ मेट्रिकटन उत्पादन पुगेको उनले बताए । हिमाली भेगका किसान पुरानै रैथाने बालीमा फर्केको फापर उत्पादनको तथ्यांकले पनि देखिएको उनले बताए । तर अर्को रैथान बाली जौंको उत्पादन भने निकै खस्केको उनले बताए । करिब १ हजार हेक्टरमा हुँदै आएको जौं खेती खुम्चेर २ सय ५० हेक्टरमा झरेको छ । जौं खेती घट्नुको कारणबारे अध्ययन भइरहेको उनले बताए । 

केदार शिवाकोटी

Link copied successfully