सहमतिसँगै आइतबारदेखि बन्द रहेको विद्युत् उत्पादन सोमबार रातिदेखि पुनः सञ्चालनमा आउने भएको हो ।
What you should know
सिन्धुपाल्चोक — लामोसाँघुस्थित सिन्धु जलविद्युत् वितरण केन्द्रले आइतबार दिउँसो पूर्वसूचना बिना आकस्मिक रूपमा ड्याम खोलेपछि अन्त्येष्टि गर्न राखिएको शव बगेको घटनामा सोमबार स्थानीय र केन्द्रबीच सहमति जुटेको छ । सहमतिसँगै आइतबारदेखि बन्द रहेको विद्युत् उत्पादन सोमबार रातिदेखि पुनः सञ्चालनमा आउने भएको हो।
घटनापछि आक्रोशित स्थानीयले केन्द्रको नहर खोलातर्फ फर्काइँदिँदा १०.०५ मेगावाट क्षमता भएको विद्युत् उत्पादन आइतबार बिहान ११ बजेदेखि अवरुद्ध भएको थियो ।
सोमबार त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा, वडाध्यक्ष रमेश बोहरा, वडासदस्य, स्थानीय अगुवाहरू र केन्द्रका प्रमुख सुमन महर्जन तथा प्रशासन प्रतिनिधिबीच छलफल गरी सहमति गरिएको हो।
स्थानीय अगुवा विश्व बोहराका अनुसार, दुई दिनको आलटालपछि मात्र केन्द्र सहमतिमा आउन तयार भएपछि सम्झौता सम्भव भएको हो । सहमति अनुसार ड्याम सञ्चालनमा समन्वय, नियमित सूचना प्रवाह, आपत्कालीन अवस्थामा चेतावनी प्रणाली अनिवार्य गर्ने, अनियन्त्रित पानीले घाट, चिहानघाट तथा बस्तीमा असर नपर्ने सुनिश्चितता गर्ने व्यवस्था तत्काल लागू गरिनेछ ।
स्थानीयले विगतका क्षति–क्षतिपूर्तिको टुंगो लगाउनुपर्ने, तटबन्ध तथा पर्खालजस्ता स्थायी संरचना निर्माण गर्ने, निर्माणाधीन टोल सडक तथा नहरका सामग्री समयमै उपलब्ध गराउनुपर्ने माग राखेका थिए।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष बोहराका अनुसार, जलविद्युत् पक्षले आइतबार भएको घटनाबारे औपचारिक प्रतिक्रिया नदिएको भनाइलाई लिएर स्थानीय थप आक्रोशित बनेका थिए । लिखित सहमति नजुटे आन्दोलन तथा तालाबन्दीसम्मका कार्यक्रम गर्ने चेतावनी स्थानीयले दिएका थिए । सहमति जुटेसँगै पीडित पक्ष र स्थानीयले नहर खोलिदिएपछि विद्युत् उत्पादन पुनः सञ्चालनमा आएको हो ।
