एक्कासि ड्याम खोल्दा बाल्का घाटबाट चितासहितको शव बग्यो

बाल्का घाटमा मलामीहरूले दाउरा सजाउँदै अन्त्येष्टिको अन्तिम तयारी गरिरहेका बेला ड्यामको गेट अचानक खोलिएको थियो।

मंसिर १४, २०८२

अनिश तिवारी

A body with a funeral pyre was swept away from Balka Ghat when the dam was suddenly opened.

What you should know

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको लामोसाँघुस्थित सिन्धु जलविद्युत् वितरण केन्द्रले आकस्मिक रूपमा ड्याम खोलेपछि अन्तिम संस्कारको तयारीमा राखिएको शव बगेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ का वडाध्यक्ष रमेश बोहराका अनुसार बाल्का घाटमा मलामीहरूले दाउरा सजाउँदै अन्त्येष्टिको अन्तिम तयारी गरिरहेका बेला ड्यामको गेट अचानक खोलिएको थियो।

स्थानीय रत्नबहादुर बोहराको निधनपछि ठूलो संख्यामा मलामी तथा स्थानीय जनसमुदाय घाटमा उपस्थित थिए। ‘एकाएक खोला बगेर सबै भागाभाग भयो। ज्यान जोगाएर किनारामा पुग्यौं, तर चिता र शव बगाएर कता पुर्‍यायो, अँधेरीतिर फेला परेको सूचना आएको छ,’ वडाध्यक्ष बोहराले बताए। शव बगेको च्यानलतर्फ स्थानीयले तत्काल खोजीसमेत सुरु गरेका थिए।

ड्यामबाट उच्च गतिमा आएको पानीले केही क्षणमै चितासहित शव बगाएर लगेपछि स्थानीय आक्रोशित बनेका छन्। पीडित पक्षले पूर्वसूचना बिना ड्याम खोल्दा लापरबाहीका कारण मृतकको सम्मानमा चोट पुगेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। घटनापछि जानकारी लिन जलविद्युत् केन्द्र पुगेका स्थानीय र कर्मचारीबीच केही समय तर्क–वितर्कसमेत भएको थियो।

‘यो घटना पहिलो होइन, जथाभावी रूपमा ड्याम खोल्दा स्थानीयले पटक–पटक समस्या भोग्दै आएका छौँ। अहिले पनि त्यसै विषयमा आवश्यक छलफल भइरहेको छ,’ बोहराले भने। वितरण केन्द्रका प्रमुख दीपक सापकोटाको सरुवापछिको नेतृत्व रिक्तताले पनि छलफलमा जटिलता बढाएको स्थानीयको भनाइ छ।

घटनापछि स्थानीयले केन्द्रले स्पष्ट रुपमा गल्ती स्वीकार गरी समाधानका उपाय नल्याए कडा आन्दोलन र तालाबन्दीसम्म गर्ने चेतावनी दिएका छन्। यसैबीच, प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। जलविद्युत् पक्षले भने ड्याम आकस्मिक रूपमा खुल्नुको आन्तरिक कारण खोजिरहेको प्रतिक्रिया दिएको छ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully