पोखरी वरपरका १०४ वटा रुखमा घुँगीफोरले ४७८ वटा गुँड बनाएका छन् भने एउटै रुखमा १० वटासम्म गुँड देखिएका छन् ।
What you should know
नारायणगढ (चितवन) — घुँगीफोर गरुड (एसियन ओपनबिल) का लागि भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी प्रजनन केन्द्रका रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् ।
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका १०४ वटा रुखमा घुँगीफोरले ४७८ वटा गुँड बनाएका समूहका अध्यक्ष कृष्णहरि प्रसाईँले बताए । एउटै रुखमा १० वटासम्म गुँड छन् ।
'घुँगीफोरले सुक्खा रुखहरूमा गुँड बनाउने गर्छ भने घुँगी तथा साना जलचर खाने गर्छन्,' अध्यक्ष प्रसाईंले भने, 'हामीले अवलोकन गर्दा १०४ वटा रुखमध्ये तीन वटामा मात्र हरियो रुखमा गुँड देखिएको छ, बाँकी सबै सुक्खा रुखमा छन् ।'
प्रजनन याममा घुँगीफोरहरूको गतिविधि हेर्न पन्छी अवलोकनकर्ता र संरक्षणकर्मीहरू उत्साहका साथ आउने गरेका छन् । प्रजनन अवधिमा पोखरी क्षेत्रमा डुङ्गाजस्ता पर्यटकीय गतिविधिहरू बन्द गरिएको उनले बताए ।
यस क्षेत्र पहिले ‘ठूलो घोल’को नामले चिनिन्थ्यो, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो । तर विसं २०६५ मा गंगानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो । अहिले यो क्षेत्र केवल सिँचाइका लागि मात्र नभई जैविक विविधताका लागि पनि महत्त्वपूर्ण बनेको छ ।
अध्यक्ष प्रसाईँका अनुसार, पहिले यहाँ जाडोयाममा साइबेरियन चरा देखिन्थे, तर अहिलेका वर्षहरूमा स्थायी रूपमा बसोबास गर्ने रैथाने पन्छीहरू देखा पर्न थालेका छन् । सात वर्षयता घुँगीफोर यहाँ आउन थालेका उनले बताए ।
घुँगीफोरले चैत–वैशाख महिनादेखि गुँड बनाउन सुरु गर्छन्, जेठमा फुल पार्छन् र भदौमा चल्ला कोरल्छन् । ठूला झुन्डमा रहने यिनले सामूहिक रूपमा गुँड बनाउने बानीले गर्दा अन्य चराहरूलाई आफ्नो उपस्थिति सहजै थाहा नहुने अध्यक्ष प्रसाईँले बताए ।
पहिले घुँगीफोरले बीसहजारी तालमा गुँड बनाउने गरेका तर त्यहाँका रुख कुहिएपछि नयाँ बासस्थानका रूपमा बाटुलीपोखरीमा बस्न थालेका जानकारी दिँदै उनले भने, 'घुँगीफोरले केवल सुक्खा रुखमा मात्र गुँड बनाउने भएकाले त्यस्ता रुख संरक्षण गर्नुपर्छ ।'
