सुकेका रूखमा चराको साम्राज्य

भाद्र १०, २०८०

रमेशकुमार पौडेल

चितवन — बरण्डाभार वन क्षेत्रभित्र रहेको भरतपुर महानगरपालिका-१३ मा पर्ने बाटुलीपोखरी तालको आडमा जाने हो भने यो बेला एक खालको कल्याङमल्याङ सुनिन्छ । २० बिगाहभन्दा बढी क्षेत्रफलमा फैलिएको तालको वरिपरि सुकेर खंग्रङ्ग भएका सालका दर्जनौं रूखहरू छन् । तिनै सालका रूखबाट आउने आवाज सुनेर पोखरी घुम्न जानेहरू छक्क पर्छन् ।

मान्छेको चहलपहल हुने डिलभन्दा अलि पर रहेका सालका रूखमा ओपनबील स्टोक अर्थात् घोँगी फोड गरूड छपक्कै हुन्छन् । ती चरा त्यहाँको पुरानो रूखमा केहीबेरका लागि सुस्ताउन बसेका होइनन् । उनीहरूले गुँड लगाएर बच्चा नै हुर्काइरहेका छन् । एउटै रूखमा अनेकौं गुँडहरू छन् । कुनै गुँडमा बच्चाका आडमा भाले-पोथी दुवै बसेका हुन्छन् । कुनैमा एउटा मात्रै देखिन्छ । माउ आउँदा बच्चाहरूले आवाज दिन्छन् । अनि ताल किनारमा त्यो आवाज गुन्जिन्छ ।

वनका हेरालु गोविन्द दवाडी भन्छन्‚ ‘भाले पोथीमध्ये एउटा चारो खोज्न जाँदा एउटाले गुँड रूँग्ने रहेछ । बच्चो अघाए भालेपोथी दुवै गुँड आडमा देखिन्छन् ।’ बच्चालाई आहारा मात्र होइन‚ गुडमा पनि झ्याँसहरू थपेको थप्यै गरेको आफूले देखेको उनले बताए । सुरूमा रूखमा जहाँ गुँड लगाउन मिल्छ त्यहाँ थोरै झ्यास राखेर बस्ने र पछि बच्चा हुर्केर नउड्दासम्म झार र ससाना डाँठ थपेको थप्यै गर्ने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने बाटुलीपोखरी वन स्थानीयले २०५७ सालदेखि संरक्षण गर्दै आएका हुन् । पहिला सामान्य घोल थियो । ६३ सालमा घोलको दक्षिणमा बाँध बाँधेपछि ठुलो ताल बन्यो । ताल बनेसँगै बीचमा परेका सालका रूखहरू सुकेपछि स्थानीय चिन्तित थिए । तर‚ तिनै सुकेका रूखमा चराहरू बस्न थालेको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले बताइन् । गर्मीयाममा घोँगी फोड गरूडले रूख छाड्दैन । बच्चा नै हुर्काएर जाडो सुरू हुन लाग्दा बल्ल बसाइँ सर्ने उनले बताइन् । त्यसपछि पनि त्यो रूखमा अन्य हिउँदे चरा बस्न आउँछन् । तर घोँगी फोड गरूडले जस्तो गुँड लगाउँदैनन् ।

‘ताल छ, डुंगा सयर पनि गर्न पाइन्छ भनेर डुलौँ न भनेर आएको तर यहाँ आउँदा त चराहरू रूखै ढाकेर बसेको देखेँ । यति धेरै चरा एकै ठाउँ मैले पहिलो पटक देखेँ‚’ तालमा भेटिएका भरतपुर-८ गौरीगञ्जका धर्म कार्कीले भने । चरा संरक्षणका लागि क्रियाशील संस्था बर्ड एजुकेसन सोसाइटी (बेस) चितवन सौराहाका अध्यक्ष तथा चराविज्ञ टीकाराम गिरीका अनुसार घोँगी फोड गरूड नेपालको तराई क्षेत्रको तालतलैयाँ र सीमसार क्षेत्रमा बस्दछ । गर्मी लागेपछि तालको आडमा रहेका रूखहरूमा गुँड लगाउँछ र जाडो सुरू हुनु अगाडि नै बच्चा हुर्काउँछन् ।

यसले पानीमा पाइने घोँगी, भ्यागुता, माछा र स-साना सर्पहरू खान्छ । यसले जहाँ सजिलै आहार पाइन्छ‚ त्यही गुँड बनाउँछ । त्यसैले पोखरी र सीमसार आडमा छपक्कै गुँड बनाउने गिरीले बताए । पहिला चितवन निकुञ्जभित्र रहेको लामितालका रूखहरूमा छपक्कै गुँडहरू हुन्थ्यो । पछि टिकौली नजिकको चेपाङ ताल, कुमाल ताल र टिकौली तालमा छपक्कै गुँड हुन थाले । यी तालमा ५/६ सयसम्म गुँड हुन्थे । एउटै रूखमा २० वटासम्म गुँड भेटेको गिरीले सुनाए ।

मान्छेको आवतजावत र होहल्ला कम हुने ठाउँमा यी चराले गुँड बनाउने गिरीले बताए । खेतबारीमा रासायनिक विषादीको प्रयोग बढेको छ । त्यसैले आहारा पनि कम छ । बच्चा हुर्काउन एकै ठाउँ प्रशस्त आहारा पनि भेटिँदैन ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully