धान खेतमा छाडिएको करेन्ट लागेर बुधबार मकवानपुरमा युवकको मृत्यु भएको हो भने चितवनमा करेन्ट लागेर मरेको अवस्थामा गैंडा फेला परेको हो ।
हेटौंडा — मकवानपुरको मनहरीस्थित धान खेतमा करेन्ट लागेर बुधबार युवकको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका—६ जोगितालको धान खेतमा चितवन राप्ती नगरपालिका—१ का ३० वर्षीय लालबहादुर मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो ।
वन्यजन्तुबाट धानबाली जोगाउनका निम्ती खेतमा विद्युतीय करेन्ट लगाइएको थियो । बिहान धान खेतमा आएका मोक्तानलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले बताए ।
धानखेतमा जडान गरिएको विद्युतीय तारमा बेलुका करेन्ट छोड्ने र बिहान बन्द गर्ने कार्य मोक्तानले नै गर्दै आएका थिए । तर बुधबार उनले करेन्ट बन्द नगरी खेतमा आएकाले करेन्ट लागेर मृत्यु भएको स्थानीय देवलाल थिङले बताए । स्थानीयवासीले खेतमा मानिस लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 'प्रहरी र स्थानीय घटनास्थलमा पुगेर हेर्दा करेन्ट लागेर मृत्यु भएको देखियो,' प्रहरी निरीक्षक सापकोटाले भने ।
मृतक मोक्तानको घर मनहरी जोगीतालमा पनि छ । तर उनी अहिले राप्ती नगरपालिका— १ मा बस्दै आएका थिए । खेतीपाती उनको जोगीतालमा नै छ । करेन्ट लागेर मृत्यु भएको धान खेत मोक्तानकै रहको प्रहरीले बताएको छ ।
यस्तै, अर्को बेग्लै घटनामा चितवनको माडी नगरपालिका—२ भैरवपुरमा बुधबार नै धान खेतमा एउटा गैंडा करेन्ट लागेर मरेको फेला परेको थियो । वन्यजन्तुबाट बाली जोगाउने उद्देश्यले खेतमा लगाइएको करेन्ट मानिस र वन्यजन्तु दुवैलाई धराप बन्दै आएको छ ।
