धान खेतमा मृत भेटियो गैंडा

गत आर्थिक वर्षमा चितवन निकुञ्ज र यसकाे मध्यवर्ती क्षेत्रमा २८ गैंडा मरेका थिए।

श्रावण २१, २०८२

रमेशकुमार पौडेल

A rhinoceros was found dead in a rice field

चितवन — धान खेतमा एउटा भाले गैंडा मृत भेटिएकाे छ। चितवनकाे दक्षिणी क्षेत्र माडी नगरपालिका-२ भैरवपुरमा धान खेतमा करेन्ट लागेर मरेकाे अन्दाजी २० वर्षकाे भाले गैंडा भेटिएकाे चितवन निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले जानकारी दिए ।

'सायद हिजाे राति मरेकाे हुनुपर्छ । हामीलाई आज बुधबार बिहान खबर भयाे। धान खेतमा करेन्ट लागेर मरेकाे छ। कसको खेत हाे ? किन त्यसरी मारियाे हामी साेधखोज गर्दैछाैं,' सूचना अधिकारी थापा मगरले भने।

गैंडाकाे खाग खुर भने सुरक्षित छ। तस्करहरूले गैंडाकाे नाकमाथि हुने सिग जस्ताे अंग खागका लागि गैंडा मार्ने गर्दछन् । तस्करले हाे या धान जाेगाउन गैंडा मारियाे भन्नेबारे अनुशन्धान भइरहेकाे थापा मगरले बताए। खाग तस्कारीका लागिलमात्रै नभएर  गैंडालाई कुनै पनि कारणले मार्न कानुनले बन्देज लगाएकाे छ।

गत आर्थिक वर्षमा चितवन निकुञ्ज र यसकाे मध्यवर्ती क्षेत्रमा २८ गैंडा मरेका थिए। चाेरी सिकारीबाट शून्य गैंडा मरेका थिए । गत आर्थिक वर्षमा पनि करेन्ट लागेरएउटा गैंडा मरेकाे निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully