मकवानपुरमा २२ जना जुवाडे पक्राउ, ८ लाखभन्दा बढी नगद बरामद

असार २८, २०८२

प्रताप विष्ट, सुवास विडारी

22 gamblers arrested in Makwanpur, more than 8 lakh cash recovered

हेटौँडा — मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति १ बजेतिर बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको २१ जनाको टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट ३ सेट कौडा र नगद आठ लाख ३६ हजार ४० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर, सिन्धुली, रौतहट लगायत विभिन्न जिल्लाका व्यक्ति छन्। प्रमुख पक्राउ परेका व्यक्तिहरूमा बकैया–५ राजदमारका ४६ वर्षीय मिलन थिङ, हेटौँडा–१८ का ४५ वर्षीय कमल थापा, सिन्धुली दुधौली–२ का ३७ वर्षीय कैलाश धामी, हेटौँडा–८ कमानेका ५३ वर्षीय फडिन्द्रप्रसाद घिमिरे र हेटौँडा–१६ हटियाका ४६ वर्षीय रमेश महत रहेका छन्।

यसैगरी बागमती–६ का शेरबहादुर राना, दीपक दोङ, रवि चौधरी, रौतहट गौर–९ का ईश्वर चौधरी, हेटौँडा, बागमती, सिन्धुली र कमलामाई क्षेत्रका अन्य १७ जना व्यक्तिहरू पनि पक्राउ परेका छन्।

प्रहरीले सबै पक्राउ परेकाहरू विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully