कर्माचार्यले मुगु पुगेर गरे १८७औं पटक रक्तदान

स्थानीय युवामा रगत दानबारे सचेतना जगाउन विभिन्न जिल्लामा गएर रक्तदान गर्दै आएको उनले बताए।

असार २२, २०८३

कान्तिपुर संवाददाता

Karmacharya reaches Mugu to donate blood for the 187th time

काठमाडौँ — नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेम सागर कर्माचार्यले मुगुको गमगढी पुगेर १८७ औ‌ं पटक रक्तदान गरेका छन्।

 

कर्माचार्यले विभिन्न जिल्लामा ३/३ महिनामा जाँदै रक्तदान गर्दै आएका छन् । स्थानीय युवामा सचेतना जगाउन विभिन्न जिल्लामा गएर रक्तदान गर्दै आएको उनले बताए । 'मानवीय जीवन बचाउनका लागि रक्तदान गर्नु नितान्त आवश्यक भएकोले युवाहरूमा रक्तदान गर्ने सचेतना वृद्धि होस् भन्ने हेतुले विभिन्न जिल्लामा गएर रक्तदान गर्दै आएको छु,' उनले भने ।

 

विशेषगरी पहाडी जिल्लामा रगत उपलब्ध हुन निकै कठिन हुने गरेको छ । कर्माचार्यले १८ वर्ष उमेर पुगेका करिब ४५ किलो तौल भएका सम्पूर्ण युवालाई रक्तदान गर्न आग्रह गरेका छन् । उनले दानमा दिएको रगतलाई बिरामी पक्षलाई निःशुल्क उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । उनले यसअघि कर्णाली प्रदेशकै सुर्खेत, जुम्ला, जाजरकोटलगायत विभिन्न दुर्गम जिल्लामा पुगेर रक्तदान गरिसकेका छन् ।  

कान्तिपुर

Link copied successfully