एएनओको हङकङ कमिटी गठन

हङकङ सम्मेलनले युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

ANO's Hong Kong Committee formed

हङकङ — मध्यपूर्वका मुलुकमा कार्यरत नेपालीको सुरक्षाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को हङकङ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको छ । हङकङ सरकारको डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले शनिबार साँझ सम्मेलनको सम्मेलन गरेका थिए । सम्मेलनले विश्वका जुन ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी आपसी एकता कायम गर्दै नेपालीको शक्तिलाई नेपालको हितमा प्रयोग गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

एएनओकी केन्द्रीय सदस्य खुसी गुरुङको सभापतित्वमा सम्पन्न सम्मेलनले पछिल्लो समय विश्वमा देखा परेको सुरक्षा चुनौतीका सन्दर्भमा मध्यपूर्वमा बसोवास गरिरहेका नेपालीको सुरक्षालाई नेपाल सरकारले विशेष ध्यान पुर्याइ उचित कदम चाल्न विशेष प्रस्ताव पारित गरेको छ । एएनओको अन्तर्राष्ट्रिय कमिटीका महासचिव भट्टराईले संसारभरिका जुनसुकै मुलुकमा जन्मे हुर्के पनि र जतिसुकै पुस्ता भए पनि नेपालीलाई आपसमा जोड्ने अभियानका रुपमा एएनओ अगाडि बढेको बताए ।

अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा सन् २०२४ मा एएनओको स्थापना भएको थियो । संस्थाको हङकङ अधिवेशनले नेपाली भाषा, कला, संस्कृति, रितिरीवाज र नेपाली पहिचानको निरन्तरता तथा यसको विस्तार एवं पुस्तान्तरणको अभियानमा क्रियाशी रहने घोषणा गरेको छ । नवनिर्वाचित हङकङको कार्यसमिति उपाध्यक्षमा अजय राई, महासचिवमा सुकु लिम्बू, सचिवमा अनुज रोक्का, कोषाध्यक्षमा सोफिया गुरुङ र प्रवक्तामा सुरेश याक्सो छन् । सदस्यहरूमा सरला तामाङ, टपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनू राना, बिन्नी लामा राई र करन तमाङ चयन भएका छन् ।

कान्तिपुर

Link copied successfully