मतदानपछिको प्रक्रियामा भने सुधार आवश्यक रहेको उनीहरूकाे सुझाव छ । मतदान सकिएपछि नतिजा आउन घण्टौं लाग्ने समस्या अझै रहेकोमा उनीहरूको चित्त बुझेको छैन ।
काठमाडौँ — बाग्लुङका दुर्गाबहादुर आचार्य अहिलेको मतदान प्रक्रिया विगतको तुलनामा स्पष्ट र सहज बनेको बताउँछन् । विगतका राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका ८७ वर्षीय आचार्य २०१५ सालदेखि नै नियमित रूपमा मतदान गर्दै आएका छन् । उनको अनुभवमा समयसँगै मतदान प्रक्रिया थप सहज बन्दै गएको छ ।
‘पहिला एउटा टिकट लिएर टिनको बक्समा मत हाल्ने चलन थियो,’ उनले स्मरण गरे, ‘त्यतिबेला प्रधानपञ्च र वडाका जनप्रतिनिधि रोजिन्थे । पछि रेजा चिन्ह (ठिक लगाउने) आयो, अहिले स्वस्तिक चिन्हमार्फत चुनाव चिन्हमा मतदान हुन्छ । अहिलेको प्रक्रिया सजिलो र बुझ्न पनि सहज छ ।’ आचार्य आफू देशमा भएका विभिन्न आन्दोलन र मतदान प्रक्रिया दुवैमा निरन्तर सहभागिता जनाउँदै आएको बताउँछन् ।
८६ वर्षीय भागिरथ उपाध्याय दवाडी पनि २०१७ सालदेखि निरन्तर मतदान गर्दै आएका छन् । उनको अनुभवमा पनि अहिलेको मतदान प्रक्रिया विगतको तुलनामा सहज र झन्झटमुक्त छ । ‘पहिला जस्तो झन्झट छैन,’ उनले भने, ‘अहिले चुनाव चिन्हमा स्वस्तिक छाप लगाउने प्रक्रिया सहज छ, मत हाल्न सजिलो भएको छ ।’
तर, मतदानपछिको प्रक्रियामा भने सुधार आवश्यक रहेको उनको भनाइ छ । मतदान सम्पन्न भइसकेपछि नतिजा आउन घण्टौं लाग्ने समस्या अझै रहेकोमा उनको चित्त बुझेको छैन । उनी भन्छन्, ‘यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ दुवै पाका मतदाताहरूले दल र नेताले योजना तथा कार्यक्रम राम्रो आए पनि प्रभावकारी कार्यान्वयन नहुँदा मतदाताहरू दुःखी हुने गरेको बताए ।
